logo

विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी हो

पूर्णचन्द्र थापा
नजिकिँदै गरेको बडादशैं, शुभ दीपावली, नेपाल सम्वत् ११३९ तथा छठपर्वको उपलक्ष्यमा सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार सम्हालेपछि मेरो समय व्यवस्थापनको असमर्थतामा तपाईंहरुबाट व्यक्तिगत तथा संस्थागत रुपमा भएको भेटघाट तथा अन्तर्वार्ताको अनुरोध मैले पूरा गर्न सकिन । त्यसका लागि यसै अवसरमा तपाईंहरु सबैसँग म क्षमायाचना गर्न चाहन्छु । त्यसैले शुभकामना आदान–प्रदान गर्न आयोजना गरिएको यस कार्यक्रमलाई तपाईहरुसंग छलफल समेत गरी अन्तर्क्रियात्मक बनाउने लक्ष्य राखिएको छ । आज म तपाईंहरुसँग नेपाली सेना र मिडियाबीचको सम्बन्ध तथा नेपाली सेनाले राष्ट्रसेवामा गर्दै आएको कार्यहरुको बारेमा खासै केही कुरा राख्दिन किनकि यस बारेमा तपाईंहरु नै यसबारे पूर्णरुपमा जानकार हुनुहुन्छ ।

यस दौरान म तपाईहरुलाई विशेषतः नेपाली सेनाको बृहत्तर संस्थागत हित, व्यावसायिक क्षमता अभिवृद्धि र सांगठनिक सुदृढीकरणका निमित्त राष्ट्रिय सुरक्षाको पहरेदार संस्थाका रुपमा नेपाली सेनालाई विकसित गर्दै लैजाने मेरा लक्ष्य तथा कार्ययोजनाबारे जानकारी गराउने प्रयास गर्नेछु र अन्त्यमा नेपाली सेना सम्बन्धमा तपाईंहरुका जिज्ञासाहरु लिनेछु । यसैगरी विगतमा झैं भविष्यमा पनि तपाईंहरुबाट महत्वपूर्ण राय/सुझाव र सल्लाहको हाम्रो अपेक्षा सुरुमा नै तपाईंहरुसमक्ष राख्न चाहन्छु । मैले प्रधान सेनापतिको कार्यभार सम्हालेकै दिन सकल दर्जाका लागि प्रधान सेनापतिको कमाण्ड मार्गनिर्देशन २०७५ जारी गरेको छु । यो नेपाली सेनाको अल्पकालीन योजना हो । यसमा सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिहरुबाट प्राप्त राय/सुझावहरु, नेपाली सेनाबाट आम नेपाली जनताले गरेका अपेक्षाहरु तथा नेपाल सरकारका नीति कार्यक्रम र निर्देशनहरु समेत समावेश गरिएको छ । वर्तमान र भविष्यका जिम्मेवारीहरु पूरा गर्नसक्ने गरी नेपाली सेनालाई तयार गर्नेतर्फ शिक्षित, योग्य र कुशल युवाहरुलाई राष्ट्रसेवाका लागि आकर्षित गर्दै नेपाली सेनालाई सुदृढ, सबल र सक्षम संस्थाको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छु ।

सकल दर्जालाई गुण, दोष, कार्यसम्पन्नता र उपलब्धिहरुका आधारमा अवसरहरुद्वारा अभिप्रेरित गर्न भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीति सहितको साङ्गठनिक वातावरण सिर्जना गर्ने कार्य सुरु भइसकेको छ । त्यसको निमित्त मेरो वा नेपाली सेनाको वा मन्त्रालयको एकल प्रयासबाट मात्र सम्भव हुन्छ भन्ने मलाई विश्वास छैन, सिङ्गो नागरिक समाज, मिडियाजगत् र सिङ्गो समाजले भूमिका खेल्नेछ भन्ने विश्वास मैले लिएको छु । संस्थागत हितलाई प्राथमिकतामा राखी व्यवस्थापन र कार्यप्रणालीहरुमा समयानूकुल सुधार गरी गतिशील, भरपर्दो र सिक्दै जाने अर्थात् लर्निङ बाई डुइङमा विश्वास गर्ने सङ्गठनका रुपमा स्थापित गर्नेतर्फ ठोस पहलकदमी सुरु भइसकेको छ । आफ्ना तथा मातहतका क्षमता तथा प्रयासहरुले सदैव संङ्गठनको साख ऊँचो राख्ने प्रयत्न थालेको छु । यसरी लौह अनुशासन, बलियो चेन अफ कमान्ड, राजनीतिनिरपेक्ष चरित्र, राष्ट्रिय एकताको भावना र अविच्छिन्न साङ्गठनिक लक्ष्यहरुद्वारा निर्देशित गर्दै नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउँदै लैजाने लक्ष्य लिएको छु ।

मूलतः मैले मेरो कार्यकालका लागि सातवटा साङ्गठनिक लक्ष्य तथा एक सय ५१ कार्यहरु निर्धारण गरेको छु । यी लक्ष्यहरु नितान्त आन्तरिक प्रयोजनका लागि निर्धारण गरिएकाले म यसभित्र प्रवेश गर्न चाहन्न । नेपालको संविधानको रक्षा गर्नु नेपाली सेनाको परमकर्तव्य हो । नेपाली सेनाको समसामयिक आधुनिकीकरण गर्नका लागि दीर्घकालीन योजनाका रुपमा नेपाली आर्मी भिजन २०३० तयार गरी कार्यान्वयनमा ल्याइनेछ । यसको मतलब यो तयारीकै अवस्थामा रहेको छ । यसैगरी नेशनल मिलिटरी स्ट्राटेजी तयार गरी सबै सुरक्षा निकायहरुबीच आन्तरिक र बाह्य सुरक्षाका लागि नेपाली सेना परिचालित भएको अवस्थामा आवश्यक एकीकृत कमाण्डसम्बन्धी अवधारणाको विकास गरिनेछ । यो किन पनि आवश्यक छ भने नेपाली सेना अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको संस्था भए पनि हामी आपसी समन्वय गरी अघि बढ्न सकेनौं भने तपाई हामीले परिकल्पना गरेको नेपालको सुरक्षा कमजोर हुन जान्छ । तसर्थ, हामीबीच समन्वय आवश्यक छ र हामी सबै राष्ट्रका लागि बलियो हुनु जरुरी छ । नेपाली सेनाको परिप्रेक्ष्यमा नेपाली सेनालाई रेडी फर रोल (सार्वकालिक तम्तयार) को अवस्थामा राख्नका लागि तयार गरिएका अवधारणाहरु विश्वसनीय ढंगले कार्यान्वयन गर्दै लगिनेछन् । 

नेपाली सेना संविधानविरोधी र विखण्डनवादी तत्वहरुका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सूक्ष्म रुपबाट नियालेर निरन्तर मूल्याङ्कन गरिरहेको छ र त्यो राष्ट्रिय सेनाको धर्म पनि हो अर्थात् जिम्मेवारी हो । राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो, तर राष्ट्रसँग अन्य विकल्पहरु पनि रहेका छन् भन्ने पक्षलाई बिर्सिन मिल्दैन । संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य हो । तर त्यो नेपाली सेनाको एकल प्रयासबाट मात्र सम्भव छैन । यस सम्बन्धमा उपयुक्त राष्ट्रिय निर्देशन प्राप्त भएबमोजिम विगतमा सिकिएका पाठहरुलाई आधार मानी सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार छ । सोहीबमोजिम मातहतमा समेत निर्देशन भएको पनि तपाईंहरुलाई अवगत गराउन चाहन्छु । लडाइँ लड्ने क्षमता अभिवृद्धि गर्नका लागि नेपाली सेनामा सेवागत विशिष्टीकरणको अवधारणा लागू गर्न लागिएको छ । त्यसैगरी जुनियर तहको नेतृत्वलाई थप सक्षम, जिम्मेवार र जवाफदेही बनाई एकत्वपन हासिल गर्ने विशेष योजनाहरु ल्याइएको छ । सैनिक बन्दोबस्ती पक्षलाई सन्तुलित र आत्मनिर्भरता उन्मुख बनाउनका लागि विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ । उपत्यकाबाहिर लजिष्टिक डेपोटहरुको स्थापना गर्दै विकेन्द्रीकरणलाई व्यावहारिक बनाउने योजना रहेको छ भने सकल दर्जाको मनोबल उच्च राख्नका लागि विविध सेवासुविधाहरुसहितको क्यान्टोनमेन्ट सिष्टमको योजना तयार गरी कार्यान्वयन गर्दै लगिनेछ ।

नेपाली सेनाका आधारभूत तालिमदेखि नै आधारभूत सैनिक गुण र सीपहरु विकास गर्नेतर्फ केन्द्रित गरी वास्तविकतामा आधारित तालिम तथा अभ्यासहरु सञ्चालन गरी फौजलाई विभिन्न युद्ध वा द्वन्द्वका सम्भावित वातावरण वा अवस्थाका लागि तयारी अवस्थामा राखिनेछ । सङ्गठनको सञ्चालनलाई वैज्ञाानिक बनाउँदै नेपाली सेनालाई गतिशील संस्थाको रुपमा विकास गर्नका लागि दीर्घकालीन साङ्गठनिक हितका विषयहरुमा सैनिक मर्यादाभित्र रही खुला छलफलमा आधारित योजना र निर्णय गर्ने प्रणाली आरम्भ गरिसकिएको छ । सङ्गठनमा सकारात्मक वातावरण सिर्जना गर्नका लागि पुरस्कार र दण्डसजायलाई महत्वपूर्ण संयन्त्रका रुपमा उपयोग गर्न निर्देशन दिइसकिएको छ भने सकल दर्जाको गुनासोहरु सङ्गठनभित्रैबाट सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरु तय गरिएको छ । तसर्थ, अनसब्स्टानसिएटेट समाचारहरुलाई स्थान नदिन म तपाईंहरुसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु । कहिलेकाहीँ त्यस्ता समाचार सम्प्रेषण हुन जाँदा संस्थागत हितमा आघात पर्न जान्छ । त्यसले नेपाली सेना र राष्ट्रलाई आघात पु-याइरहेको हुन्छ । हामी कतिपय अवस्थामा गलत समाचार आउँदा पनि मिडिया आफैँले सत्यता बुझिदिओस् भनेर मौन बसिदिएका छौँ । विकेन्द्रीकरणमार्फत सबै तहका कमाण्डरहरुलाई आआफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउनका लागि नेपाली सेनामा मिसन कमाण्डको अवधारणा लागू गरिएको छ । अब यसैका आधारमा सबै तहका कमाण्डरले आफ्नो जिम्मेवारी पूरा गर्न पहल गर्नेछन्, माथिल्लो कमाण्डरको मुख ताक्नु पर्नेछैन ।

सङ्गठनमा देखिएका सुधारका आवश्यकताहरुलाई यथोचित सम्बोधन गर्नका लागि प्रणालीमा आधारित नीति लिने लक्ष्य राखेको छु । व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नका लागि विभिन्न कार्यक्रमहरु अघि सारिएका छन् । नेपाली सेनाको तल्लो तहसम्म डिजिटाइजेसनमार्फत लेस पेपर इन्भाइरोनमेन्टको अवधारणा क्रमशः लागू गर्दै जाने नीतिअनुरुप जंगी अड्डामा पूर्ण रुपमा लागू भइसकेको छ भने सुदूरपश्चिम पृतनामा लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसलाई देशैभरका निकायहरुमा लागू गर्ने र रक्षा मन्त्रालयसंग समेत डिजिटल माध्यमबाट जोडिनेतर्फ पहल भइरहेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु । हामीले सङ्गठनभित्रै र बाहिरबाट सुन्ने गरेका भनसुनका आधारमा र पहुंच हुनेले मात्र नेपाली सेनामा अवसरहरु प्राप्त गर्ने गरेको भन्ने गुनासोहरु पूर्णरुपमा सत्य होइनन् तर, यसभित्र सत्यता पनि छ । यसलाई हटाउनका लागि मैले पहिलो सम्बोधन, मेरो कमाण्ड मार्गनिर्देशन तथा विभिन्न अन्य निर्देशनहरुमार्फत स्पष्ट रुपमा सबैलाई जानकारी गराइसकेको छु कि सकल दर्जाको मूल्याङ्कन कार्यसम्पादनका आधारमा हुन्छ र गरिनुपर्छ । साथै त्यसकै आधारमा नीतिनियमभित्र रही अवसरहरु दिइनेछ । यसमा मैले फेरि पनि मिडियाकर्मीहरुको सकारात्मक सहयोगको अपेक्षा राखेको छु ।

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सदैव सर्वाेपरी मान्दै आएको तथ्य विदितै छ । यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रिकीकरण पनि भन्ने गरिएको मैले पाएको छु, यसलाई नेपाली सेनाको व्यवसायीकरणभन्दा अझ राम्रो सुनिन्छ होलाजस्तो मलाई लाग्छ । नागरिक सर्वोच्चता सम्बन्धमा हाम्रा धारणाहरु समान हुनु जरुरी छ । सरल भाषामा नागरिक सरकारको कानुनसम्मत आदेश तथा निर्देशनहरुको पालना गर्नु नेपाली सेनाको दायित्व हो भने सङ्गठनको आन्तरिक व्यवस्थापन नेपाली सेनाको जिम्मेवारी हो, यसमा यदाकदा हुने गरेको माइक्रोमेनेजमेन्टले सेनाको हित गर्दैन भन्ने मेरो बुझाइ छ । नेपाली सेनाको सञ्चालन सम्बन्धमा आवश्यक नीतिनियमहरु तयार गरी लागू गर्ने र गराउने जिम्मेवारी सरकारको हो । सही अर्थमा सेनालाई पेशागत रुपमा दक्ष बनाई राष्ट्रिय शक्तिको भरपर्दो संयन्त्रका रुपमा स्थापित गर्नु नै सैनिक संगठनको व्यवसायीकरण हो । नेपाली सेनाको संख्याको सम्बन्धमा पनि विभिन्न धारणाहरु बेलाबखत आउने गरेका छन् । नेपाली सेनाको अहिलेको आकार र स्वरुप विगतको द्वन्द्वकालको आवश्यकतामा आधारित भई सिर्जना भएको हो । नेपाली सेनाको पुनर्ढांचा, पुनर्सन्तुलन र पुनर्संरचना गर्दै अहिलेको अवस्थामा आएको छ, संगठनको संरचना अहिलेसम्म पनि मिल्नसकेको छैन । एक्कासि बढेको संगठनको असर अझै बांकी छन् । आवश्यकता हुनेबित्तिकै भर्ना लिने र काममा लिन सकिने अवस्था कुनै पनि सैनिक संगठनमा सम्भव हुँदैन । विभिन्न तहका कमाण्डर र स्टाफहरु तालिम र अभ्यासका आधारमा क्रमिक रुपमा मानवस्रोतको विकास गर्दै लैजानुपर्ने सेनाजस्तो चेन अफ कमाण्डमा चल्ने संगठन – अरु संगठनजस्तो तुरुन्त तयार गर्न सम्भव हुँदैन ।

तसर्थ, अहिलेको मात्र होइन, भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर हामीले राष्ट्रिय सेनाको स्वरुप र आकार निर्धारण गर्नुपर्ने हुन्छ । यस विषयमा बहस हुनुलाई म स्वाभाविक मान्दछु । किनकि सेनाको सञ्चालनका लागि बजेट खर्च अवश्य हुन्छ, तर बजेट कटौती गर्ने नाममा विना आधार सेनाको संख्या कटौती गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने कुरामा हामी सबै सचेत हुनुपर्ने हुन्छ । नेपाली सेनाका प्राथमिक र द्वितीयक जिम्मेवारी पूरा गर्न सक्ने गरी विस्तृत सामरिक पुनरवलोकनका आधारमा मात्र निर्णय लिनुपर्छ भन्ने संसारभरकै सेनाको मान्यता हो । सेनालाई सानो र चुस्त बनाउनका लागि विभिन्न राष्ट्रहरुले आधुनिकीकरण र उपयुक्त क्षमताहरु सेनालाई दिने गरेको पाइन्छ । तसर्थ सेनाको संख्या घट्दा थप आवश्यक क्षमता प्रदान गर्ने गरेको देखिन्छ । यही विकल्प प्रयोग हामीले पनि गर्न सकिन्छ । तर त्यसका लागि पनि विस्तृत अध्ययनको आवश्यकता छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नेलगायतका राष्ट्रनिर्माण र विपद् व्यवस्थापन एवं संविधानसम्मत जिम्मेवारीहरु नेपाली सेनाले वहन गर्दै आएको छ र भविष्यमा पनि विश्वसनीय ढङ्गबाट वहन गर्नेछ । विकास निर्माणका कार्यहरुमा नेपाली सेनाले आर्जन गरेको विश्वसनीयता हामीले निरन्तर कायम राख्नुपर्ने चुनौती नेपाली सेनासामु रहेको छ । नेपाल सरकार तथा आम नेपाली नागरिकहरुको विश्वासमा नेपाली सेनालाई प्राप्त राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग समयभित्रै सम्पन्न गर्ने चुनौती छ ।

पारदर्शितालाई केन्द्रमा राखेर निर्माण कार्यलाई अपेक्षित गति दिनु मेरो प्राथमिकताभित्र पर्दछ, तर यो समस्यारहित भने छैन । नेपाली सेनाले यसलाई प्रायोरिटी टास्कको रुपमा लिएको छ । सदाझैं नेपाल सरकार, रक्षा मन्त्रालय, आम नागरिकहरु तथा सरोकारवाला सबै निकायहरुको साथ र सद्भावसहित यो आयोजना पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो विना यो सम्भव पनि म देख्दिन । यस विषयसँग नेपाली सेनाको व्यावसायिकतालाई जोडेर विवादित गर्ने प्रयास बेलाबेलामा हुने गरेको पाइन्छ । यसै अवसरमा म तपाईंहरुमार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु । सर्वप्रथम विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी हो । नेपाल सरकारले विकास निर्माणसम्बन्धी जिम्मेवारी दिएपछि नेपाली सेनाले त्यो पूरा गर्नैपर्छ । यही विकास निर्माणसम्बन्धी संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि शान्तिकालीन वर्तमान अवस्थामा नेपाली सेनामा इन्जिनियरिङ विभाग र कम्ब्याट इन्जिनियर्स निकायहरु रहेका छन् । काठमाडौं–तराई/मधेश द्रुतमार्गलगायतका अन्य बाटोघाटो निर्माणसम्बन्धी कार्यहरुमा यिनै निकाय अन्तर्गतका करिब १००० जनशक्ति 
खटिएका छन्, जसको प्राथमिक जिम्मेवारी नै विकासनिर्माण हो । आमनागरिकबाट आउने गरेको चासोहरुलाई हामीले सकारात्मक रुपमा लिँदै आएका छौँ ।

भविष्यमा समेत नागरिकहरुका तर्फबाट यस किसिमका सरोकारहरु प्राप्त हुने अपेक्षा राखेका छौं । शान्तिकालमा सेना विकास निर्माणमा लाग्दा व्यावसायिकतामा आँच आउँछ कि भन्ने चिन्ता अत्यन्त जायज हो तर त्यसमा मूलरुपमा इञ्जिनियर्स जनशक्ति नै खट्टिने हो, मूलधारको ९५ हजार फौज त्यसमा संलग्न नहुने हुँदा नेपाली सेनाको तालिम र व्यावसायिकतामा त्यसले असर गर्दैन, विकसित देशहरुमा समेत सेना यस्ता कार्यमा संलग्न हुन्छन् । नेपाली सेनालाई प्राप्त हुने बजेट र मातहतमा विनियोजन गरिने बजेटको अधिकतम सदुपयोग गरी प्रभावकारी कार्यान्वयन गर्न पारदर्शी प्रयोगमा विशेष जोड दिनेछु । यसका लागि सम्बन्धित कमाण्डर तथा लेखाउत्तरदायीहरुलाई जवाफदेही बनाउनका लागि नेपाली सेना आर्थिक निर्देशिका २०७५ तयार भई लागू हुने क्रममा रहेको छ । यसमा मैले शून्य सहनशीलताको नीति लिएको छु । यसका लागि प्रभावकारी अनुगमन संयन्त्रको विकास हुने क्रममा रहेको छ । आर्थिक अनियमितताका विषयहरुले सङ्गठनको साख गिर्ने विषयमा हामी सचेत छौं । यसलाई पूर्णरुपमा नियन्त्रण गर्न म प्रतिबद्ध रहेको पनि तपाईंहरुलाई जानकारी गराउन चाहन्छु । भ्रष्टाचारका विषय पनि बेलाबेला सुनिने गरेका छन् । यसलाई सैनिक विशेष अदालतले हेर्ने गरी व्यवस्था गरिनेछ । यो अदालत अपेक्षित रुपमा प्रभावकारी बनाउन नसकिएको पक्ष केही हदसम्म सत्य होला, अब यसप्रति ध्यान केन्द्रित गरिनेछ ।

नेपाली सेनाको कल्याणकारी कोषको सम्बन्धमा अहिलेकै कार्यक्रमहरुको सही व्यवस्थापन र सेवाग्राही केन्द्रित बनाउने लक्ष्य लिएको छु । कुनै पनि सैनिक कल्याणकारी कार्य अत्यन्त महत्वपूर्ण पक्ष हो । सङ्गठनका सम्पूर्ण सदस्यहरुको रगत पसिनाबाट बनेको यो कोषको सदुपयोग होस् भन्ने सम्पूर्ण सेवारत तथा सेवानिवृत सैनिक व्यक्तिहरुको आकांक्षा तथा आम नेपाली नागरिकको अपेक्षाप्रति म सचेत छु । कोषको दीगोपन, हिताधिकारीहरुको धेरै गुनासो रहेका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सैनिक व्यक्तिको सामाजिक अवस्थामा सुधार गर्ने किसिमको दीर्घकालीन संस्थागत हित हुने स्वरोजगर तथा पुनः रोजगारीसम्बन्धी रणनीति तयार गर्ने गरी एक विशेष कार्यदलले कार्य गरिरहेको छ । कोषको व्यवस्थापनलाई पारदर्शी र प्रभावी बनाउन स्पष्ट देखिने गरी पहलकदमी लिनेछु । उपलब्ध स्रोत साधन, आवश्यकता र हिताधिकारीहरुको अपेक्षाको सम्बोधन हाम्रो मुख्य चुनौती हो । यसै अवसरमा म महांकालस्थित ऐतिहासिक महत्वको त्रिचन्द्र मिलिटरी हस्पिटललगायतका कल्याणकारी पक्षमा सुनिने गरेका गुनासोहरु सन्दर्भमा नेपाली सेनाको स्पष्ट धारणा राख्न चाहन्छु । यसलाई कहिले नेतृत्वको महत्वाकांक्षासँग त कहिले नेपाली सेनाले व्यवसाय गर्न लाग्यो भनेर आरोपहरु लाग्ने गरेको छ ।

तपाईंहरुलाई र तपाईंहरुमार्फत आमनागरिकहरुलाई हामीले यस बारेमा बेलाबेलामा प्रष्ट पार्ने कोसिस पनि गरेका छौं । कोषको मुख्य स्रोत शान्ति सेना गएका सकल दर्जाबाट कट्टा गरिएको रकम हो । नेपाली सेनाले आफ्नै पहलमा करिब एक लाख सेवारत, ७० हजार सेवानिवृत्त र तिनका आश्रितसहित गरी करिब आठ लाख हिताधिकारीहरुको कल्याणकार्य यसै कोषबाट गर्दै आएको छ । मूलधनमा मात्र निर्भर रहने हो भने यसले आगामी ८/१० बर्ष मात्र अहिले प्रदान गर्दै आएको कल्याणकारी कार्यहरु गर्न सकिन्छ । तसर्थ कल्याणकारी कार्यक्रमहरुको दीगोपनका लागि नेपाली सेनाको दीर्घकालीन योजना आवश्यक छ । यसको पारदर्शिता र सही प्रयोगका लागि नेतृत्व सदैव जिम्मेवार हुनैपर्छ । अहिले सङ्गठनभित्र सरकारी कर्मचारीहरुसरह सैनिक व्यक्तिहरुको कल्याणकार्यका लागि नेपाल सरकारको योगदानका लागि पहल गर्नुपर्ने सुझावसहितका दबाबहरु बढ्न थालेको छ । सरकार सक्षम हुंदै जाँदा त्यो पनि क्रमैसँग प्राप्त हुँदै जाने हाम्रो अपेक्षा रहेको छ । तर नेपाल सरकारबाट प्राप्त नहुन्जेलका लागि नेपाली सेनाप्रति सक्षम र योग्य आम नेपाली युवाहरुको आकर्षण कायम राखिरहन, सेवा प्रवेश गरेकाहरुलाई सेवामा रहिरहन प्रेरित गर्नु अहिले राष्ट्रकै लागि चुनौती हो, जसको प्रत्यक्ष समन्ध राष्ट्रिय सुरक्षासँग रहेको छ ।

सेवानिवृत्त भएपछि पनि सैनिक तालिमप्राप्त जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था विडम्बनापूर्ण छ । तसर्थ, कल्याणकारी कोषको स्रोतको विविधीकरण अपरिहार्य छ, ता कि नेपाली सेना आफैंले सुरु गरेको कल्याणकारी कार्यहरुमार्फत हाम्रो उद्देश्य हासिल गर्न सकियोस् । त्रिचन्द्र मिलिटरी अस्पताल, पेट्रोल पम्पहरु तथा बिजनेस कम्प्लेक्ससँग सम्बन्धित विषयहरु नेपाली सेनाको कल्याणकारी सेवाको विकेन्द्रीकरण गरी हिताधिकारीहरुको पहुँच सहज बनाउने र कोषको स्रोत विविधीकरण गर्ने उद्देश्य राखिएको छ । यसबाट प्राप्त हुने आम्दानीको प्रयोग कल्याणकारी कार्यक्रमहरु जस्तैः हिताधिकारीहरुको शिक्षा, स्वास्थ्य आदि क्षेत्रकै विस्तारमा नियमसंगत प्रयोग गर्ने व्यवस्थाबारेमा यहाँहरु जानकार नै हुनुहुन्छ । त्रिचन्द्र मिलिटरी अस्पतालको हेरिटेज बिल्डिङमा स्वास्थ्य सेवा प्रारम्भ भइसकेको छ भने बाँकी भवनलाई आयमूलक अर्थात् नो गेन नो लेसमा आधारित सामाजिक प्रयोजनमा दिई त्यसको आम्दानी नेपालगञ्ज, इटहरी र पोखरामा अस्पताल विस्तार गर्न प्रयोग गर्ने योजना रहेको छ । त्यसैगरी आगामी दिनहरुमा भू.पू. सैनिक समेतलाई लक्षित गरी प्रदेश २ र ७ मा समेत सैनिक अस्पतालहरु त्यसकै आम्दानीबाट विस्तार गर्ने योजना रहेको छ । स्वास्थ्य सेवाका लागि सम्पूर्ण हिताधिकारीहरु काठमाडौं केन्द्रित वीरेन्द्र अस्पताल, छाउनी र महांकालमा केन्द्रित हुँदा हिताधिकारीहरुलाई पर्ने मर्का निराकरण गर्नका लागि हिताधिकारीहरुकै अनुरोधमा सेवा विकेन्द्रीकरण गर्न महांकाल वेलफेयर कम्प्लेक्सका रुपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो ।

योभन्दा उत्तम उपाय अरु के हुनसक्छ त, हाम्रो प्रश्न छ ? नेपाली सेनामा कसैको व्यावसायिक प्रतिस्पर्धी बन्ने चाह पटक्कै नभएको पनि तपाईंहरुलाई जानकारी गराउन चाहन्छु । हामी हाम्रा जिम्मेवारीहरुप्रति प्रतिबद्ध छौं । नेपाली सेनाका कामकारबाहीहरु पारदर्शी र सही नहुँदा नागरिकहरुको तर्फबाट राष्ट्रिय सेनाको व्यावसायिकतामा आँच नआओस् भनेर सरोकार आउनुलाई हामीले सधैँ सकारात्मक रुपमा लिँदै आएका छौं, जसले हामीलाई सुधार गर्न अभिप्रेरित गर्ने गरेको छ । नेपाली सेनामा कल्याणकारी कार्य किन जरुरी छ भन्ने कुरामा सबैभन्दा पहिला हामी सबै स्पष्ट हुनु जरुरी मैले ठानेको छु । तत्पश्चात हामीले कल्याणकारी कोषको प्रयोगलाई हिताधिकारीको आवश्यकतामा आधारित बनाउँदै दीगो बनाउनेतर्फ ध्यान दिनैपर्छ । कल्याणकारी कार्यदलको प्रतिवेदनपछि हामी सबैले अपेक्षा गरेमुताबिक कोषको प्रयोगलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउंदै लगिने कुरा तपाईंहरुसमक्ष राख्न चाहन्छु । त्यसका निमित्त हाम्रा करिब आठ लाख हिताधिकारीहरु र तपाई मिडियाकर्मी साथीहरुलाई केही समय धैर्य रहन म विनम्रपूर्वक अनुरोधसमेत गर्दछु ।

भनसुन, आफन्तवाद र निकटता हाम्रो समाजको उपज नहुनुपर्ने हो तर नेपाली सेना यसबाट केही हदसम्म प्रभावित भएको होला भन्ने कुरा नकार्न सकिन्न तर यसले संगठनलाई गतिशील हुनबाट रोक्ने, व्यक्तिगत स्वार्थहरु हावी हुने तथा संस्थागत हितका विषयहरु ओझेलमा पर्दै जाने बारेमा म सचेत छु । सांगठनिक स्वार्थका अगाडि व्यक्तिगत स्वार्थ गौण हुन् । त्यसैले नीति नियमहरुले प्रधान सेनापति पनि बाँधिनुपर्छ भन्ने विषयलाई केन्द्रमा राखी नेपाली सेनाको सञ्चालन गर्ने मेरो अभिप्राय रहेको छ । व्यक्तिपरक महसुस भएका केही संस्थागत नीति नियमहरु परिमार्जन गरी संस्थागत हित हुने नीतिहरु निर्माण गर्ने सिलसिला सुरु भइसकेको छ । जस्तैः शान्ति सेना छनौटमा कोटा प्रणाली हटाइएको छ । यस किसिमका व्यवस्थाहरुको अभ्यास र त्यसको असरहरु तपाईहरुले पनि विस्तारै महसुस गर्दै जानुहुनेछ । नेपाली सेनाले ऐतिहासिक कालदेखि वर्तमानसम्म राष्ट्रनिर्माण, राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर पु¥याउंदै आएको योगदानलाई बिर्साउने गरी पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा आउने गरेका समाचारहरुप्रति हामी सजग छौं, तर समाचारहरु तथ्यपरक र सत्य हुनुपर्नेतर्फ हामी सबै सचेत हुन जरुरी छ । हामीभित्र रहेका कमी÷कमजोरीहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने कार्य प्रारम्भ भईसकेको छ ।

आम नेपाली नागरिकले अपेक्षा गरेजस्तो नेपाली सेना बनाउने हाम्रो लक्ष्यमा तपाई मिडियाकर्मीहरुको खबरदारी आउंदा दिनहरुमा पनि महत्वपूर्ण हुने कुरामा हामी पूर्ण रुपमा विश्वस्त छौं । नेपाली सेना र नेपाली नागरिकहरुको राष्ट्रिय दायित्व पूरा गर्न तपाईंहरुले मियोको रुपमा कार्य गरिरहनु हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । वर्तमान अवस्थामा मिडियाको महत्वका बारेमा हामी सबै जानकार छौं । नेपाली सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी संवैधानिक जिम्मेवारी पूरा गर्ने कार्यहरुमा तपाईंहरुले दिँदै आउनुभएको साथको निरन्तरता र साङ्गठनिक विषयहरुमा आउँदा दिनहरुमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा राखेका छौं । मिडियासँगको यस किसिमको औपचारिक तथा अनौपचारिक अन्तर्क्रियाको आवश्यकतालाई मध्यनजर गरी भविष्यमा समेत नियमित यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्न सम्बन्धितलाई निर्देशन दिएको छु । त्यसमा तपाईहरुको पनि यस्तै प्रकारको उत्साहित उपस्थिति रहनेछ भन्ने विश्वास लिएको छु ।

अन्तमा, पुनः एकपटक तपाईंहरु सबैलाई तथा तपाईंहरुका परिवारजन र सम्बद्ध मिडिया हाउसका सम्पूर्ण सदस्यहरुलाई विजया दशमी, दिपावली तथा छठको अवसरमा सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु भने आज तपाईहरुले यस कार्यक्रमका लागि नेपाली सेनालाई दिनुभएको महत्वपूर्ण समयका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली सेनाको माटोले माग्दैन, आफैंले दिनुपर्छ भन्ने कार्यक्रम तपाईंहरुको रेडियो, एफ.एम. र टेलिभिजनमार्फत नेपाली सेनाका सकल दर्जा, सेवा निवृत्त सैनिक व्यक्तिहरु, तिनका आश्रिात परिवार तथा आम नेपाली नागरिकहरुसमक्ष देशैभर पु-याउन तपाईंहरुले गर्दै आउनुभएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक धन्यवाद पनि दिन चाहन्छु । आम नागरिकको राइट टु इन्फर्मेसनलाई नेपाली सेनाले पूर्ण प्रतिबद्धताका साथ लागू गर्नेछ । धन्यवाद ।
(विजया दशमीको शुभकामना आदान–प्रदान तथा मिडियाकर्मीहरुसँग भेटघाट कार्यक्रममा प्रधानसेनापति थापाले दिएको मन्तव्य) (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै