logo

बहुदलीय लोकतन्त्रमा निजामती सेवा

 

गोपीनाथ मैनाली
राज्यसंयन्त्रको व्यवस्थित अभ्यासको धेरैपछिसम्म पनि निजामती सेवा छुट्टै विषयविधा र अनुशासन बनेको थिएन । राजनैतिक प्रणालीसँग यसको अस्तित्व विलीन थियो । कर्ममा थियो तर नाम र पहिचानमा थिएन । सार्वजनिक प्रशासनका केही पदहरुमा विज्ञता खोज्ने र खास वर्गको प्रभुत्वमा राख्ने गरिन्थ्यो । हान वंशदेखि चीनमा कर्मचारीको छनौटका लागि विज्ञता परीक्षा लिने परिपाटीले सीमित प्रवेश पायो । ऐन–ए–अकबरीका अनुसार मुगल साम्राज्यमा हिन्दूहरुका लागि पनि केही निजामती पद संरक्षित थिए । मिश्रको पिरामिड युगमा पनि कर्मचारीमा विज्ञता खोजिन्थ्यो । त्यसो भएता पनि ती निजामती सेवा थिएनन्, नाममा पनि र काममा पनि । नेपोलियन बोनापार्टले तत्कालीन शाही सेवालाई निजामती नाम दिए, तर नामले मात्रै त्यो पनि निजामती सेवा बन्न सकेन । आधुनिक निजामती सेवाको सुरुवात १९औँ शताब्दीमा मात्र भयो, जतिबेला प्रशासन र राजनीतिको सीमा रेखा कोर्ने थुप्रै प्राज्ञिक प्रयासका साथ सिद्धान्त र कानुनहरु पनि निर्माण भए ।

 

राजनीति र प्रशासनको सीमा विभाजनपछि व्यावसायिक निजामती प्रशासनका लागि नीति तथा संरचनागत व्यवस्था भए । सन् १८८० को दशकमा विड्रो विल्सनले सार्वजनिक प्रशासनको परिभाषा र कार्यक्षेत्रलाई व्याख्या गरे । उनका अनुसार कानुनको विस्तृत र व्यवस्थित प्रयोग सार्वजनिक प्रशासन हो । तर कानुन निर्माण प्रशासनिक नभई राजनैतिक विषय हो । प्रशासनको कार्यक्षेत्र र कार्यविधि पनि राजनैतिक विषय हुन् । तर राजनीति र प्रशासन एकअर्कासँग अलग भए पनि दुवैका केन्द्रविन्दुमा जनता रहन्छन् । यसले राजनीति र प्रशासनलाई स्वायत्त होइन, सहसम्बन्धमा पनि राखेको छ । निजामती प्रशासन पेसागत विशिष्टताको क्षेत्र हो । यसलाई राजनैतिक रस्साकस्सीबाट अलग राख्नुपर्छ भन्ने निचोड राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्तको निष्कर्ष हो । राजनीतिले नीति कार्य र व्यवस्थापन प्रशासनले गर्दछ । यसर्थ राजनीति र प्रशासन आ–आफ्नो कार्यक्षेत्रमा सीमांकित भईकन अन्तर्सम्बन्धित हुने भए । किनकि नीति र व्यवस्थापनबीचको विभाजन निकै अस्पष्ट र जटिल पनि छ । राजनीति र प्रशासनका वृत्ति, प्रवृत्ति, कार्यक्षेत्र र आयामहरु फरक भईकन पनि एकअर्कासँग आबद्ध रही समान उद्देश्यका लागि क्रियाशील हुनुपर्ने भएकाले निजामती प्रशासनमा केही मूल्यगत विशेषता र विशिष्टता रहने गर्दछन् ।

 

नीतिनियम र कानुनप्रतिको जवाफदेहीमा राष्ट्रसेवकहरु हुनुपर्दछ भन्ने परम्परागत मान्यता छ । यसले प्रशासनको भूमिका संयन्त्रात्मक मात्र हुनुपर्दछ भन्दछ । तर आधुनिक अर्थमा निजामती प्रशासन संयन्त्र मात्र नभई विवेकशील संयन्त्र हो भन्न थालिएको छ । निजामती प्रशासनको विशेषता र भूमिका विभिन्न प्रकारको राजनैतिक व्यवस्थामा फरक–फरक हुने गर्दछ । संसदीय लोकतान्त्रिक मुलुहरुले वेष्टमिनिष्टर मोडेलको प्रशासनिक पद्धति अवलम्बन गर्दै आएका छन् । भारतीय प्रशासक पीसी अलेक्जेण्डरले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा निजामती प्रशासनका साझा चरित्र औँल्याएका छन् । उनका अनुसार (क) योग्यताका आधारमा छनौट, (ख) पदसोपनमा आधारित सँगठन–संरचना, (ग) पदोन्नतिमा योग्यता र ज्येष्ठताको मिश्रण, (घ) वृत्तिको कानुनी सुरक्षा, (ङ) राजनैतिक निष्पक्षता र तटस्थता, (च) नामरहिता निजामती सेवाका साझा विशेषता हुन् ।

 

योग्यतामा आधारित छनौट भन्नेबित्तिकै खास पदका लागि चाहिने सापेक्षिक क्षमताको खोजी हो । सापेक्षिक क्षमता निर्धारण गर्ने सबैभन्दा उपयुक्त र विश्वासिलो विधि प्रतिस्पर्धात्मक परीक्षा हो । कार्यविधि र प्रक्रियामा फरक भए पनि छनौटमा समानता, यसका लागि लोकसेवा आयोगजस्तो निष्पक्ष निकायलाई भर्ना छनौटको जिम्मा, लिखित, प्रयोगात्मक तथा मौखिक रुपमा बौद्धिक क्षमता र प्रतिभाको परीक्षण, सीप विकासका लागि संस्थात्मक तालिम एवम् विकासका विधि अवलम्बन योग्यता प्रणालीका विशेषता हुन् । सेवाभित्र प्रवेशपछि पनि वृत्तिगतिशीलता क्षमताकै आधारमा गरिनुपर्ने मान्यता योग्यता प्रणालीको छ ता कि सबै आयाममा राजनैतिक प्रभावबाट निजामती वृत्तिलाई अछूतो राख्न सकियोस् । तर योग्यता प्रणाली प्रजातन्त्र र स्वतन्त्रताको परिणाम होइन । निजामती प्रशासनमा पदसोपानमा आधारित संगठन व्यवस्था अपनाइन्छ । पदसोपान अनुशासन र निर्णयक्षमताको पनि सोपान हो । पदसोपानको माथिल्लो श्रेणीले राजनैतिक कार्यकारिणीलाई सुझाव दिने कुरा संकेत गर्दछ । सेवास्थल वा अग्रपंक्तिका पदहरु कार्यमूलक हुन्छन् । ज्येष्ठता र योग्यता भुलेमा दक्षता हराउँछ र मनोबल गिर्ने गर्दछ । सबैजसो मुलुकमा पदोन्नति ज्येष्ठता र योग्यताका आधारलाई अपनाइन्छ ।

 

अझ कतिपय मुलुकमा यी दुईबीच आदर्श मिश्रण गरिएको छ । कतिपय देशमा विना औचित्य पदसोपान वढाइने पनि गरिएको छ । जसले निर्णय गर्न नौ तहसम्म पार गर्नुपर्ने स्थिति पनि देखिएको छ । निर्णयका धेरै तहले कार्यप्रक्रियालाई बोझिलो बनाउने भएकोले ‘लेभल जम्पङ’ र प्रशासनिक एजेन्सीकरणजस्ता बजार गतिशीलताका संयन्त्र पनि उपयोगमा ल्याउन थालिएको छ ।निजामती सेवाको स्थायित्व र संसदीय लोकतन्त्र एक अर्काका पूरकका रुपमा स्थापित छन् । राजनैतिक पद निर्वाचकको चाहनाअनुरुप रहन्छ, तर प्रशासन स्थायी रहन्छ, उसलाई राजनैतिक परिवर्तनको प्रभाव र अर्थ रहँदैन । निजामती सेवा संस्थात्मक सम्झना हो संसदीय लोकतन्त्रमा । यसैको आधारमा राज्यव्यवस्था चल्दछ । ‘स्पोएल’ प्रणालीमा विजेताको पक्षमा इनाम रहने मान्यता थियो र निश्चित अवधिका लागि निजामती कर्मचारी रहन्थे । जस्तो ज्याक्सोनियन कानुनमा अमेरिकामा पोष्टमेनदेखि प्रेसिडेण्टसम्म एकै समय परिवर्तन हुन्थ्यो । भारत, जापान, नेपाललगायतका मुलुकमा सेवा सुरक्षाको संवैधानिक प्रत्याभूति नै छ । तर कर्मचारीलाई संवैधानिक रुपमा सुरक्षा प्रदान गर्न हुने कि नहुने भन्ने विषय बहुदलीय प्रणाली अपनाउने देशमा विवाद चल्ने गरेको छ । भारतमा सरदार पटेल र प्रधानमन्त्री नेहरुको लामो विवादपछि मात्र संविधानको धारा ३११ र ३१२ ले यो सुरक्षा प्रदान गरेको छ । बेलायतमा पनि प्रशासनको राजनीतीकरणले महत्व पाएको थियो ।

 

प्रशासनमा राजनैतिक निष्पक्षता र मूल्य तटस्थता बहुदलीय लोकतन्त्रको अर्को मूल्य हो । राजनैतिक तटस्थताका विषयमा समान बुझाइ र व्याख्या देखिँदैन । यसको मतलब निजामती कर्मचारीमा राजनैतिक भावना नै नहुने भन्ने होइन कि कर्तव्यपालनको सिलसिलामा यो देखिनुहुँदैन भन्ने हो । निरपेक्ष रुपमा निष्पक्षता र वस्तुगत आवश्यक र सम्भव हो कि होइन ? राजनैतिक कार्यकारीबाट निर्णय भइसकेपछि जे भए पनि यसलाई दक्षता र उच्चतम आदर्शताका साथ लागू गर्ने काम कर्मचारीको हो । तर मुलुकलाई गम्भीर असर पर्ने र मूल्य मान्यता भत्काउने निर्णयमा भद्र अवज्ञाको विवेक निजामती कर्मचारीले यदाकदा प्रयोग गरेको पाइन्छ । जसबाट धेरैजसो अवस्थामा निजामती कर्मचारीहरुले वृत्ति जोखिम पनि मोल्नुपरेको छ । त्यस्तै प्रतिबद्धताका विषयमा अफवाह भए पनि यसको मतलब कर्मचारी दलीय विचारप्रति प्रतिबद्ध नभई कर्तव्य, जिम्मेवारी, काम र ग्राहकप्रतिको प्रतिबद्धता हो । उसलाई तोकिएको कर्तव्य पूरा गर्न भावनात्मक रुपमै समर्पित हुनु हो । संसदीय शासन प्रणालीमा विभिन्न विचार आदर्श बोक्ने राजनैतिक दलहरु सरकारमा आउनेजाने क्रम जारी रहने भए पनि प्रत्येक सरकारको आफ्ना नीति कार्यक्रम लागू गर्नका लागि सक्षम र सहयोगी संयन्त्रको आवश्यकता महसुस गरिन्छ ।

 

निष्पक्षता र प्रतिबद्धता यसको लागि आवश्यक भएको हो । कर्मचारीले उच्चतम व्यावसायिक इमानदारिताको सिद्धान्तमा काम गर्नु पर्दछ । बेलायतमा लेबर सरकार कर्मचारीको सहयोगविना ढलेको इतिहास साक्षी छ । तर भारत, इटाली, जापानजस्ता राजनैतिक अस्थिरता भएका देशमा प्रशासनको निष्पक्षता र इमानदारिताका कारण संसदीय व्यवस्थाको सहयोगीका रुपमा कर्मचारीतन्त्र स्थापित छ । लोकतन्त्रको वितरणमा यो स्थायी पात्र बनेको छ । भनिन्छ कर्मचारीको नाम होइन काम रहन्छ, काम नै उसको नाम र पहिचान हो । त्यसैले ऊ कर्मचारी हो, त्यसैले नामरहिता (अदृश्यता) उसको धर्म हो । हरेक प्रकारको राजनैतिक निर्णय राजनैतिक परिधिबाट गरिने र त्यसको जस/अपजस पनि राजनीतिले नै पाउने भएता पनि कर्मचारीको सक्रिय सहभागिताविना त्यो सम्भव रहँदैन । तर त्यसको जस/अपजस (अथरसीप) कर्मचारीले लिनुहुँदैन । ब्युरोक्रेटिक एक्टिभिज्म त्यहा रहनुहुँदैन । कर्मचारीको दायित्व बढे पनि त्यसको नामरहिता कर्मचारीको सैद्धान्तिक धर्म र नैतिक कर्तव्य दुवै हो । साथै निजामती कर्मचारी राजनैतिक रुपमा निष्पक्ष र तटस्थ भएर मात्र पुग्दैन, जनतामा त्यसको विश्वास हुनुपर्दछ । कर्म, समर्पण र सेवाबाट सर्वसाधारणको विश्वास जित्न सकिन्छ । संसदीय लोकतन्त्रमा निजामती सेवा र राजनीतिको सम्बन्ध ‘मिनिस्टेरियल एकाउन्टेबिलिटी’को सिद्धान्तमा आधारित रहन्छ । जनताको विश्वास (पिपुल्स भर्डिक्ट) लिएर आउने मन्त्री र विज्ञता (मेरिट)मा खारिएर आउने कर्मचारी समान उद्देश्य (राष्ट्रसेवा)का लागि जवाफदेहिताको सिद्धान्तमा बाँधिएका हुन्छन् । नीति, प्रणाली र कानुनप्रतिको समान आदरभावले मिनिस्टेरियल एकाउन्टेबिलिटी सम्भव गराउँछ ।

 

राजनैतिक कार्यकारीबाट सल्लाहकारहरु राख्ने प्रणालीले जवाफदेहिता शृङ्खलालाई कमजोर बनाउनसक्छ । राजनैतिक कार्यकारीलाई पेशागत सुझाव दिने भूमिका प्रशासनको हो, मन्त्री विश्वासले काम गर्छन् र कर्मचारी विज्ञताले । सिड्नी लका अनुसार अर्थमन्त्रीले बजेटभाषण गरे पनि दशमलव समेत नबुझेका हुन सक्छन् । कतिपय निर्णयहरु मन्त्रीका तर्फबाट निजामती प्रशासनले गर्नुपर्दछ तर त्यसको अथरशिप मन्त्री नै हो । व्यवस्थापकीय स्वायत्तता र सार्वजनिक जवाफदेहिताबीच सन्तुलन ल्याउन नसक्दा विश्वासको संकट पनि देखिनसक्छ । तर यी दुई पक्षबीच सन्तुलन ल्याउनु कर्मचारीको दक्षता र चुनौती हो । सार्वजनिक व्यवस्थापन र शासकीय दर्शनमा आएको परिवर्तनले राजनीति र प्रशासनको परम्परागत कार्य र मान्यता बदलिएको छ । निजामती प्रशासनको नीति परिपालन र पदसोपानगत जवाफदेहिताको भूमिका घटेर व्यवस्थापन भूमिका र बहुपक्षीय जवाफदेहिता बढेर गएको छ । प्रशासनको अर्थोडक्स भूमिका बदलिएर सामाजिक जवाफदेहिता निर्वाह गर्नसक्ने बहुसीपयुक्त निजामती सेवाको माग बढेको छ । तर संसदीय प्रजातन्त्र भएका मुलुकमा राज्य व्यवस्था सञ्चालनका सन्दर्भमा राजनीतिलाई विल, उच्च कर्मचारीलाई ब्रेन र अरु कर्मचारीलाई ह्याण्ड्सका रुपमा लिइन्छ । त्यसैले इच्छा, मस्तिष्क र हातका रुपमा राजनीति र प्रशासन रहेका हुन्छन् । संसदीय लोकतन्त्रमा मन्त्रीको दोहोरो भूमिका हुन्छ । जनतामा जाँदा पार्टीको कुरा गर्ने र सरकारमा जाँदा नियम र सीमामा रहने । यी दुई भूमिकाको सीमा र सन्तुलनले नै राजनैतिक कार्यकारीको राज्यकौशल निर्धारण गर्दछ । त्यस्तै राजनैतिक गल्ती वा कानुनपालनाको अज्ञानतालाई व्यावसायिक प्रतिकार गर्नुको सट्टा त्यसबाट फाइदा वा एक्स्क्युज लिने प्रवृत्ति र आत्मनिष्ठ हुने बानी भएका कर्मचारीले लोकतन्त्रको विकासमा सघाउ पु¥याउन सक्दैनन् । यसर्थ प्रशासनिक कार्यसंस्कृति र राज्यकौशल क्षमताको आदर्श संगमले नै लोकतन्त्रको वास्तविक वितरण अनि संस्थागत गर्दछ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै