logo

नेपाली वैदिक आकाशका तीन ताराः याज्ञवल्क्य, जनक र अष्टावक्र

शिरीषवल्लभ प्रधान
प्राचीन कालमा तपोभूमि रहेको नेपालमा ज्ञानी र विद्वान्हरुको कुनै कमी छैन । गौतम बुद्ध, जनक, याज्ञवल्क्य, अष्टावक्रजस्ता विद्वान् एवं मैत्रेय, गार्गी जस्ता विदूषीहरु पूर्वीय दर्शन र आध्यात्मिक ज्ञानको क्षेत्रमा विश्वमै कीर्ति फैलाउन सफल भएकै हुन् । तीमध्ये यस लेखमा महर्षि याज्ञवल्क्य, ब्रह्मज्ञानी अष्टावक्र र राजर्षि जनकका सम्बन्धमा केही प्रकाश पार्ने प्रयास गरिन्छ । यी तीनै विद्वान् दक्षिण नेपालको जनकपुर अर्थात् मिथिलाका हुन् र समकालीन नै हुन् । यसरी एउटै थलोका र एउटै काल–खण्डका भए पनि ती विद्वान्हरु वेदान्त दर्शनको क्षेत्रमा आफ्नो बेग्लाबेग्लै परिचय बनाउन सफल भएका छन् ।

याज्ञवल्क्य :- ब्रह्मरातका पुत्र तथा वैशम्पायनका शिष्य याज्ञवल्क्यका शिक्षा एवं दर्शन शतपथ ब्राह्मण, शुक्ल यजुर्वेद, बृहदारण्यकोपनिषद् तथा याज्ञवल्क्य स्मृति जस्ता महत्वपूर्ण ग्रन्थहरुमा सुरक्षित छन् । विदेह (मिथिला)राजा जनकका दरबारमा भएका शास्त्रार्थमा याज्ञवल्क्यले भाग लिएर स्वर्ण मुद्रासहित सहस्र गाईहरु जितेको कुरा बृहदारण्यकोपनिषद्मा पढ्न पाइन्छ । नेतिनेति सिद्धान्तका प्रतिपादक मानिने ईशापूर्व सातौं शताब्दीका ब्रह्मज्ञानी याज्ञवल्क्यलाई अद्वैत वेदान्त सिद्धान्तका प्रेरक पनि मान्न सकिन्छ। नेतिनेति ब्रह्म वा परमात्माबारे परोक्षरुपले ज्ञान हासिल गर्ने पद्धति मानिन्छ । यसअन्तर्गत आत्मा वा परमात्मालाई सीधै यो हो नभनी के होइन त्यसबारे छलफल गरिन्छ र अन्त्यमा जे शेष रहन्छ त्यसैलाई ब्रह्म वा परम् सत्य भनेर संकेत गरिन्छ । जनक राजा (जो आफैं पनि ज्ञानी थिए) ले कुनै बखत विदेह राज्यस्थित आफ्नो दरबारमा विद्वान्हरुको भेला गराई कुरु र पाञ्चाल देशका समेत पण्डितहरुलाई शास्त्रार्थको निम्ता दिई त्यसमा सर्वोत्कृष्ट हुनेलाई त्यस्ता सहस्र गाईहरु पुरस्कारस्वरुप दिने घोषणा गरेका थिए जसका दुवै सिङमा ५/५ वटा सुनका असर्फी थिए । त्यो सुनेर सभामा उपस्थित याज्ञवल्क्यले आफ्ना शिष्यहरुलाई ती गाईहरु आफ्नो आश्रमतर्फ धपाएर लैजान आदेश दिन्छ ।

तर अन्य विद्वान्हरुले त्यसको प्रतिरोध गर्दै याज्ञवल्क्यलाई पहिले आफू सर्वश्रेष्ठ ब्रह्मवेत्ता भएको प्रमाण दिन चुनौती दिंदै प्रश्नहरु गर्छन् । याज्ञवल्क्य एकएक गरी सबै प्रश्नको सटीक उत्तर दिंदै जान्छ । प्रश्न—उत्तरकै सिलसिलामा गौतम गोत्रका ब्राह्मण आरुणि उद्दालक याज्ञवल्क्यसँग प्रश्न गर्छ, त्यो सूत्र के हो जसद्वारा यस लोक, परलोक र सारा भौतिक पदार्थ गुंथिएको छ ? के तपार्इं त्यो अन्तर्यामीलाई जान्नुहुन्छ, जसले यस लोक, परलोक र समस्त भूतहरुलाई भित्रबाट नियमन गरिरहेको हुन्छ ? त्यसको उत्तरमा याज्ञवल्क्यले भन्छ, हे गौतम, त्यो सूत्र वायु हो । वायुरुपी सूत्रद्वारा नै यस लोक, परलोक तथा समस्त भूतसमुदाय गुँथिएको छ। अन्तर्यामीको बारेमा याज्ञवल्क्यले भन्छ, जो पृथ्वीभित्र छ, जसलाई पृथ्वी जान्दैन, पृथ्वी जसको शरीर हो, जो पृथ्वीको भित्र रहेर त्यसलाई नियमन गरिरहेछ, त्यो तिम्रो आत्मा अन्तर्यामी अमृत हो । त्यस्तै, जो जलको भित्र छ, जसलाई जल जान्दैन, जल जसको शरीर हो, जो जलभित्र रहेर त्यसलाई नियमन गरिरहेछ, त्यो तिम्रो आत्मा अन्तर्यामी अमृत हो । त्यस्तै जो अग्निको भित्र छ, जसलाई अग्नि जान्दैन, अग्नि जसको शरीर हो, जोभित्र रहेर अग्निलाई नियमन गरिरहेछ, त्यो अन्तर्यामी आत्मा अमृत हो । यसरी सबैलाई पराजीत गरिसकेपछि विदूषी गार्गीले विद्वान्हरुको सभामा याज्ञवल्क्य सर्वश्रेष्ठ ब्रह्मवेत्ता घोषणा गर्छिन्।याज्ञवल्क्यकी दुईटी पत्नीमध्ये मैत्रेय ब्रह्म जिज्ञासु हुन् भने कात्यायिनी गृहिणी । एक दिन याज्ञवल्क्यले आफू संन्यासमा जानुअघि मैत्रेयसँग अनुमति माग्दै उनीहरु दुईजनालाई आफ्ना सारा सम्पत्ति बराबर बाँडीदिने इच्छा व्यक्त गर्दा मैत्रेयले सोध्छन्, के म ती सारा सम्पत्ति पाएर अथवा यो सम्पूर्ण पृथ्वी नै पाए भने के अमर भई तिनको सधैँ उपभोग गर्न सक्छु ? । प्रत्युत्तरमा याज्ञवल्क्यले भन्छ, तिमी ती सारा पृथ्वी नै पाए तापनि अमर हुन सक्दिनौ, तर जीवनभर ऐस आराम भने गर्न सक्छौ । तब मैत्रेयले आफूलाई ती सम्पत्तिको कुनै इच्छा नभएको बताउँदै पतिसँग अमर हुने ब्रह्मज्ञान दिन आग्रह गर्छिन् ।

याज्ञवल्क्य उनलाई ब्रह्मज्ञान दिन राजी हुन्छ र पहिलो शिक्षा यसरी दिन्छः आमा, बाबुको निम्ति छोराछोरी प्रिय लाग्छ, तर के त्यो छोराछोरीको प्रयोजनको निम्ति प्रिय भएको हो त ? हैन, आमा, बाबुहरुको निम्ति हो, छोराछोरीको प्रयोजनका निम्ति हैन । छोराछोरीको निम्ति आमाबुवा प्यारो हुनु के आमा, बुबाको प्रयोजनको निम्ति हो त ? हैन, त्यो छोरा, छोरीहरुकै प्रयोजनको निम्ति हो । त्यस्तै पत्नीको निम्ति पति प्यारो हुनु पतिको प्रयोजनका निम्ति नभई पत्नीको आफ्नै प्रयोजनको निम्ति हो । त्यसैगरी मानिसको निम्ति पैसा प्यारो हुनु, पैसाको प्रयोजनको निम्ति नभई मानिसको आफ्नै प्रयोजनका निम्ति हो । त्यसैले प्रिय मैत्रेय, सबैको निम्ति प्यारो लाग्ने वस्तु आत्मा हो र त्यही मनन गर्न, जान्न र ध्यान गर्न योग्य छ, त्यसैलाई जान्ने कोसिसण् गर्नु । याज्ञवल्क्यको यसै सिद्धान्तलाई आधार मानेर आदि शंकराचार्यले अद्वैत वेदान्त सिद्धान्तको प्रतिपादन गरेका हुन् भन्दा अत्युक्ति नहोला ।

याज्ञवल्क्यको अद्वैत सिद्धान्त यसबाट प्रस्ट झल्कन्छ :- एक अर्को प्रसंगमा गार्गीलाई सम्झाउँदै याज्ञवल्क्यले भन्छ, त्यो आत्मा दृष्टिको विषय हैन, किन्तु द्रष्टा हो, श्रवणको विषय हैन, किन्तु श्रोता हो, मननको विषय हैन किन्तु मन्ता (मननकर्ता) हो ( बृहद्.३.८.११)। सो उपनिषद्को अर्को श्लोकमा भनिएको छ, त्यो जसले सुँघ्दैन, सुँघेर पनि सुँघ्दैन, किनभने त्यो भन्दा दोस्रो कोही छैन, जसलाई सुँघ्न सकोस् । त्यसले सुनेर पनि सुन्दैन, किनभने त्यो भन्दा दोस्रो कोही छैन जसलाई त्यसले सुनोस् । त्यसले मनन गरेर पनि मनन गर्दैन, किनभने त्यो भन्दा दोस्रो कोही छैन जसबारे त्यसले मनन गरोस् (बृहद्४.३.३०)। यसरी सबैको आत्मा एउटै, चेतना अविभाज्य छ र व्यष्टिगत चेतना र समष्टिगत चेतना एउटै र अविभाज्य छ भन्ने उनको मान्यताकै आधारमा अद्वैत वेदान्त सिद्धान्त प्रतिपादित भएको बुझिन्छ ।

अष्टावक्र :- अष्टावक्र पनि याज्ञवल्क्यकै समकालीन हुन् । शरीर आठ ठाउँमा बाँगिएको र कुरुप भए पनि उनी १२ वर्षको उमेरमा नै ब्रह्मज्ञानी भएको विश्वास गरिन्छ । राजा जनकको दरबारमा शास्त्रार्थ भएको खबर पाएर उनी त्यता जाँदा सुरुमा त द्वारपालले नै उसलाई रोक्छ । पछि उनी जसोतसो दरबारभित्र त पस्छन् तर कुरुप हुँदा सबैको हाँसोको पात्र बन्छन्, शास्त्रार्थमा भाग लिनु त परै जाओस् । यसबाट क्रुद्ध भएका अष्टावक्रले सभामा उपस्थित विद्वान्हरुका सामु भन्छन्, म शास्त्रार्थ गर्न भनेर विद्वत् सभामा आएको तर यो त चमारहरुको सभा रहेछ, जहाँ मानिसको बुद्धिको हैन उसको छाला हेरेर मूल्यांकन गरिन्छ । जनक उनको त्यो भनाइ सुनेर निकै प्रभावित भई उनलाई शास्त्रार्थमा भाग लिन अनुमति दिन्छन् । अष्टावक्रले त्यहाँ उपस्थित सारा विद्वान्हरुलाई पराजित गरी सर्वोत्कृष्ट ब्रह्मवेत्ताको उपाधि हासिल गरेपछि राजा उनको अगाडि हात जोडेर ज्ञानको भीख माग्दै भन्छन् हे प्रभो, ज्ञान प्राप्तिको उपाय के हो, वैराज्ञ र मुक्ति कसरी प्राप्त हुन्छ बताउनोस् ?
उनको कुरा सुनी अष्टावक्र जनकलाई यसरी उपदेश दिन तयार हुन्छ :
मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत्यज। क्षमार्जवदयातोषसत्यं पीयूषवद्भज ।। (अष्टावक्र गीता १.२)
अर्थात्, यदि तिमी मुक्ति चाहन्छौ भने (इन्द्रियभोगका) विषयहरुलाई विष समान मानेर त्याग, क्षमा, दया, सरलता, सन्तोष र सत्यलाई अमृत मानेर सेवन गर । त्यसैगरी अर्को उपदेशमा भन्छ,
न पृथ्वी न जलं नाग्र्नि वायुद्र्यौर्न वा भवान्।
एषां साक्षिणमात्मानं चिद्रुपं विध्दि मुक्तये। (अ.गीता १.३)
अर्थात्, तिमी न पृथ्वी, जल, वायु, अग्नि, आकाश आदि पञ्च तत्वले बनेको शरीर हौ । मुक्ति चाहन्छौ भने तिमी आफूलाई ती सबैभन्दा भिन्न तिनीहरुको साक्षी जान ।
अष्टावक्रले भन्दै जान्छ, तिमी दृष्य प्रपञ्चको (दृश्य संसार) एकमात्र द्रष्टा हौ र सर्वथा मुक्त नै छौ । तिम्रो बन्धन यति मात्र हो कि तिमीले आफूलाई द्रष्टाबाट भिन्न दृष्य ठान्यौ। (१.७)
अष्टावक्रले भन्दै जान्छ, अहो, म आश्चर्यस्वरुप छु, मलाई नमस्कार छ, किनभने म देहधारी भएर पनि अद्वितीय छु । म न कहीं जान्छु, न कहींबाट आउँछु । म त सम्पूर्ण विश्वभरि व्याप्त छु । (२.१२)
अष्टावक्र भन्दै जान्छ, वास्तवमा ज्ञान, ज्ञेय र ज्ञाता तीन भिन्नाभिन्नै छैन । त्यो त अज्ञानले गर्दा त्यस्तो भान भएको मात्र हो । त्यसप्रकारको मायामलले रहित म शुद्ध ब्रह्म नै हुँ । आफूलाई नजान्दा नै जगत्को सत्यरुप भान हुने हो, आफूलाई जानेपछि जगत्को सत्यता मिथ्या साबित हुन्छ । डोरीको असली रुप जानेपछि सर्पको भ्रम हट्छ । (३.७) सम्पूर्ण दुःखको एकमात्र कारण द्वैत नै हो । त्यसको अरु औषधि छैन । यस प्रकारको ज्ञान नै त्यसको औषधि हो । यो सम्पूर्ण दृश्य जगत् मिथ्या हो, म अद्वितीय, शुद्ध र चिदानन्द स्वरुप हुँ । (३.१६)
ज्ञानी मानिसलाई मानिसहरुको भीडमा पनि एकान्त जस्तै लाग्छ तर अज्ञानीले जंगलमा सुनसान ठाउँमा जाँदा पनि शान्ति पाउँदैन ।
अष्टावक्र भन्छ, आश्चर्य छ, म मानिसहरुको भीडमा पनि द्वैत देख्दिन, सब सुनसान जंगल जस्तो लाग्छ । अब म कोसँग प्रीति गरुँ ? (३.२१) जनकलाई ज्ञानामृत पिलाउँदै अष्टावक्र भन्छ,
केवल तृष्णा नै बन्धन हो र त्यो नाश हुनु नै मोक्ष हो । संसारमा अनाशक्त भएपछि नै मानिस कृतकृत्य र सुखी हुन्छ। (१०.४०) जीवन, मरणको प्रश्नमा उनी भन्छन्, गुणले बेरिएको शरीर नै ज्यूनु छ, आउँछ र जान्छ, आत्मा न आउँछ, न जान्छ, तब तिमी केका लागि शोक गर्छौ ? (१५.९)
मुक्त पुरुषको लक्षण बताउँदै उनी भन्छन्, मुक्त पुरुषको निम्ति कुनै वस्तुमा रस हुँदैन । त्यसैले ऊ निन्दा, स्तुति, हर्ष, क्रोध, दान र आदानदेखि सर्वथा रहित न हुन्छ। (१७.१३) आत्माको स्वरुपको वर्णन गर्दै अष्टावक्र भन्छ, आत्माको स्वरुप न दूर छ, न निकट, न त्यो प्राप्त नै छ । त्यसमा न विकल्प छ, न प्रयत्न, न विकार न मल । (१८.५)
कर्मयोगबारे अष्टावक्र यस्तो उपदेश दिन्छन्ः
यस्यान्तः स्यादहङकारो न करोति, करोति सः।
निरहंकारधीरेण न किञ्चिद्धि कृतंकृतम् ।।(१८.२९)
अर्थात्,
जुन मानिसभित्र अहंकार छ, त्यसले हेर्दा कर्म नगरेको देखिए पनि वास्तवमा (मनले) कर्म गरिरहेको हुन्छ । तर जो धीर पुरुष निरहङ्कारारी छ, त्यसले सबै कार्य गरिरहँदा पनि अकर्ता हुन्छ अर्थात् कर्मको गुण दोषबाट मुक्त हुन्छ ।
ज्ञानी पुरुषको लक्षण बताउँदै उनी भन्छन्, अज्ञानीलाई ब्रह्म साक्षात्कार हुँदैन, किनकि ऊ ब्रह्म बन्न चाहन्छ, (यहाँ ब्रह्म हुने इच्छा पनि बाधक मानिन्छ) । तर ज्ञानी पुरुष इच्छा नगर्दा पनि परब्रह्म बोधस्वरुप हुन्छ । यसरी तत्वज्ञानी अष्टावक्रको ब्रह्मज्ञान सबै ब्रह्म जिज्ञासुहरुको निम्ति पठनीय, मननीय छ ।

राजा जनक :- राजा जनक विद्वान्हरुको कदर मात्र गर्न जान्दैनथे, उनी आफैं पनि ज्ञानी थिए । त्यसैले उनी राजर्षि बने । उनको ज्ञानको ख्याती टाढा, टाढासम्म फैलिएको थियो । वेदलाई चार भागमा विभाजित गर्ने महर्षि वेदव्यासले समेत आफ्ना पुत्र सुकदेवलाई ब्रह्मज्ञान हासिल गर्न उत्तर भारतस्थित सुमेरु पर्वतदेखि तल झरेर दक्षिण नेपालको समतल भू–भागस्थित विदेह राज्यस्थित राजा जनकको दरबारमा पठाउँछन् । जनकले उनलाई तीन हप्तासम्म प्रतीक्षा गराई उनको परीक्षा लिई बल्ल भेट्छ । सुकदेवले जनकलाई आफू ज्ञानको निम्ति आएको बताएपछि जनक उनलाई ज्ञान दिन तयार हुन्छ । यस सांसारिक प्रपञ्च कसरी उत्पन्न हुन्छ र यो जगत्ले कसरी विलय प्राप्त गर्छ भन्ने सुकदेवको प्रश्नमा जनक भन्छन्, मनको विकल्पद्वारा नै सारा सांसारिक प्रपञ्च उत्पन्न भएका हुन् र सो विकल्प नष्ट भएपछि यो प्रपञ्च विलीन हुन्छ । जनकको उत्तर पाएपछि सुकदेवले भन्छ, हे गुरुवर, तपाईंले जे भन्नुभयो त्यो मेरा बुबा व्यासजीले पनि भन्नुभएको थियो र मैले शास्त्रमा पनि त्यही पढेको हुँ । कृपया मलाई यो जगत्रुपी प्रपञ्च वास्तवमा के हो र यसको उत्पत्ति कसबाट कहिले भएको थियो र कसरी यसको अन्त्य हुन्छ यथार्थ ज्ञान दिनुस् ।

राजा जनकले उनलाई विस्तारपूर्वक सम्झाउँदै भने, यो दृष्य जगत् वास्तवमा छँदैछैन । जब यो कुराको पूर्ण बोध हुन्छ तब शान्ति मिल्छ, मुक्ति प्राप्त हुन्छ । वासनाहरुलाई निःशेष त्याग गर्नु नै सर्वश्रेष्ठ त्याग हो र त्यही व्यक्ति मुक्ति पुरुष कहलिन्छ । जो मानिस पल, पलमा प्राप्त हुने सुख वा दुःखप्रति आशक्त हुँदैन, जो न हर्षित हुन्छ न दुःखी हुन्छ त्यही मुक्त पुरुष मानिन्छ । जो हर्ष, विस्माद, भय, काम, क्रोध, शोक आदि सबै प्रकारका विकाररहित छ, त्यो नै जीवनमुक्त कहलिन्छ । अहंकारले युक्त वासनालाई सले सहजरुपमा त्याग्दछ वास्तवमा त्यही सुखी हुन्छ । जो मानिसको मनपूर्ण तथा पवित्र छ, जो यस संसारमा न कुनै इच्छा राख्दछ, न कसैप्रति आशक्ति नै राख्छ अथवा उदासीन भावले आफ्नो कर्तव्यमा लागिरहन्छ त्यही जीवनमुक्त कहलिन्छ । (महोपनिषद् १.२८—५०)
जनक भन्दै जान्छ, मानिस आफ्नो संकल्प शक्तिद्वारा नै मुक्त हुन्छ र संकल्प शक्तिद्वारा नै बन्धनमा पर्छ । जीवनमुक्त पुरुषको निम्ति न प्रकाश रहन्छ, न अन्धकार नै, उ न शून्य हुन्छ न साकार, त्यसको न आदि छ न अन्त्य, त्यो न सत् हुन्छ, न असत्, त्यो मात्र चैतन्य हुन्छ । यसरी ज्ञान दिइसकेपछि जनकले सुकदेवलाई भन्छ, तपाईंले सबै प्राप्त हुने कुराहरु प्राप्त गर्नु भई भोगहरुबाट विरक्त मुक्त अवस्था प्राप्त गरिसक्नुभयो । तपाईं सर्वदा पूर्ण कैवल्यावस्थामा साक्षीभावले स्थित हुनुहुन्छ । यसरी ब्रह्मज्ञानी जनकबाट ज्ञान हासिल गरी सुकदेव पुनः सुमेरु पर्वतमा फर्कन्छ र शोक, भय, श्रमले विहीन, संशय र कामना रहित भई परमतत्व आत्मामा स्थित भई निर्विकल्प समाधिमा पुगी परम् शान्ति लाभ गरे, महोपनिषद्मा भनिएको छ । यसरी हिमालय पर्वतको काखमास्थित नेपाल एक, दुईजना मात्र नभई दर्जनौं युग पुरुषहरु, तत्व ज्ञानीहरुको जन्मथलो, कर्मथलो र तपोभूमि बनेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...

कृत्रिम गर्भाधान : गाईभैंसीको वंशाणुगत गुण सुधारको एक उपयोगी प्रविधि

दुग्ध व्यवसाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय...

आरोहणका लागि माछापुच्छ्रे किन नखोल्ने ?

हालै विभिन्न दैनिक, साप्ताहिक पत्रपत्रिका, तथा अनलाइन खबरहरुमा प्रकाशित एवं एफएम रेडियोहरुमा प्रसारित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै