logo

नाकामा सुरक्षा माग्दै बझाङको साइपाल गाउँपालिका

आशिष बहादुर सिंह
बझाड., साउन २५
क्षेत्रफलका हिसाबले नेपालकै ठूलो र सुविधाका हिसाबले सम्भवतः सबैभन्दा विकट बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी २०७४ साल चैत २२ गते ज्ञापन पत्र लिएर प्रदेश नं ७ को मुख्यमन्त्रीको कार्यालयमा पुगे । उनको मुख्य माग थियो, नेपाल र तिब्बतको सीमामा पर्ने साइपाल गाउँपालिकाको उरै भञ्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोष्ट स्थापना । यही माग लिएर सोही दिन उनले प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई भेट्न पुगे । उनको तर्क थियो, ‘वर्षेनी अर्बौं मूल्यको जडीबुटी यो बाटो भएर अवैध निकासी भइरहेको छ । यसलाई रोक्न सकियो भने मात्र वार्षिक ८/१० करोडभन्दा बढी राजस्व मात्रै सङ्कलन हुन्छ । यसले गाउँपालिका मात्र नभएर जिल्ला र देशकै हित हुन्छ ।’ उनको अर्काे तर्क थियो, ‘यही नाका भएर अवैध रुपमा तिब्बततर्फ तस्करी हुने वन्यजन्तुका अखेटो पहारका कारण बझाङमा चोरी सिकार बढ्दै गएको छ । जसले गर्दा नेपाल सरकारले दुर्लभ र लोपोन्मुखको सूचीमा समावेश गरेका वन्यजन्तु अस्तित्व खतरामा छ ।’ उनको ज्ञापन पत्र बुझेका मुख्य मन्त्रीले यस विषयमा संघीय सरकारलाई लेखी पठाउने र आगामी नीति तथा कार्यक्रममा पनि नाकामा सुरक्षा पोष्ट स्थापनाको माग समेट्ने आश्वासन दिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट समेत उनले यस विषयमा पहल गर्ने प्रतिबद्धता पाएका थिए । जब प्रदेश सरकारको नीति कार्यक्रम आयो उनको मागको कतै सुनुवाइ भएको रहेनछ । सुरक्षा पोष्ट राख्ने कुरा कतै उल्लेख नभएको थाहा पाएका उनले खिन्नता प्रकट गर्दै व्यङ्ग्य मिश्रित शैलीमा भने ‘भाषणमा समृद्धिका कुरा गर्छन । अर्बौं रुपैयाँ वर्षेनी बगिरहेको देख्दैनन् । सायद राजनीति भनेकै यही हो कि ।’ हुन पनि उनले भने जस्तै बझाङको उरै भञ्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, र बहुमूल्य जडीबुटी त तिब्बततर्फ जान्छ नै । तातोपानी नाका बन्द भएपछि भारतबाट ल्याएर चीन तस्करी हुने रक्तचन्दन तस्करहरुले पनि यही नाकामा सुरक्षा पोष्ट नभएको फाइदा उठाउँदै प्रत्येक वर्ष रक्त चन्दन तिब्बत पठाउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । २०५९ सालसम्म नेपाल प्रहरीको अस्थायी सुरक्षा क्याम्प सीमाभन्दा दुई किलोमिटर वरकांलगा भन्ने ठाउँमा बस्ने गरेको थियो । सङ्कट कालमा यो क्याम्प हटाइयो । अहिले नेपालको सीमा सुरक्षा चौकी रहेको साइपाल गाउँपालिकाको धुली गाउँमा छ । यो सीमा क्षेत्रभन्दा झण्डै ३० किलो मिटर वर नेपालतर्फ रहेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र धामी कै भाषामा भन्दा उता सीमा क्षेत्रमा ‘तस्करहरुको राज्य’ छ । साइपाल गाउँपालिका कै मानबहादुर बोहरा भन्छन् । ‘सीमा वरीपरि ठाउँठाउँमा अस्थायी टहरा नै खडा गरेर तस्करहरुले खुलेयाम कारोबार गरिरहेका हुन्छन् । त्यहाँ कसैको पनि डर हुँदैन ।’ असारदेखि कात्तिकसम्म खुला हिमाली पाटनमा टनका टन प्रतिबन्धित जडीबुटीहरु सुकाएको, अस्थायी टहराहरुमा बोराका बोरा जडीबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडीबुटी र अन्य प्रतिबन्धित सामानहरु लिएर दिउँसै निर्धक्क हिँडिरहेका खच्चर, भेडा, भरिया र तस्करीमा संलग्न व्यक्तिको ताँती नै भेटिने गरेको उनले बताए ।
प्रतिबन्धित जडीबुटीको खुलेआम व्यापार :- ‘यो सिजन (असार –कात्तिक) मा साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा पर्ने चौरहरुमा खुलेआम रुपमा सुकाइएको जटामसी र कटुकीलगायतका जडीबुटी ठूलो परिमाणमा सहजै देख्न सकिन्छ ।’ मानबहादुरको भनाइ सही थप्दै साइपाल गाउँपालिका ४ का वडा अध्यक्ष धनजय रोकायाले भने ‘बझाङ, हुम्ला, दार्चुलादेखि मुगु र कालिकोटका मान्छेहरुको चार महिना बसोबास नै त्यही हुन्छ’ उनले नेपाल चीनको सीमा स्तम्भ रहेको वरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि तिब्बतको पुराङ काउण्टीअन्तर्गत पर्ने ठाडोढुंगा भन्ने ठाउँमा पुगिन्छ  । यहाँ लहरै टाँगिएका अस्थायी पालले भर्खरै सडक पुगेपछि बनेको कुनै नयाँ बजारको झल्को दिने गरेको स्थानीयहरु बताउँछन् । यिनै पालभित्र भण्डारण गरेर राखिएको जडीबुटी, वन्यजन्तुको अखेटोपहार र रक्त चन्दनलगायतका प्रतिबन्धित सामग्रीहरु असारदेखि कात्तिकसम्म तिब्बतको सीमावर्ती बजार ताक्लाकोट ओर्साने काम हुने गरेको छ । यो सिजनमा बझाङको साइपाल गाउँपालिकादेखि चीनको ताक्लाकोटसम्म जाने बाटोमा ओहोरदोहोर गर्नेहरु प्रशस्त भेटिन्छन् । उनीहरुलाई लक्षित गरेर यही बाटोमा तीन दर्जनभन्दा बढी अस्थायी होटलहरु पनि खुलेका छन् । बझाङ, दार्चुला, हुम्ला, मुगु र कालिकोटसम्मका सर्वसाधारणहरु व्यापारीको रातो च्याउलगायतका प्रतिबन्धित जडीबुटी बोकेर हिंडिरहेका हुन्छन् भने फर्किदा ज्यालाबाट आएको रकमले लक्ता कपडा जुत्ता मदिरा ल्याएर फर्किन्छन् । तिब्बतको लुक्पु (बझाङी भाषामा कठान) सीमा सुरक्षा पोष्ट नजिक विगत छ वर्षदेखि होटल गरेर बस्दै आएका हुम्लाका बहादुर लामाले तिब्बततर्फ आउने अवैध सामानको बारेमा जानकारी दिँदै भने भने ‘जडीबुटी, कस्तुरीको विना, बाघको छाला हड्डी, बहुमूल्य, पत्थर, रक्तचन्दन सबै यही बाटो भएर आउँछ’ सयौं व्यापारी र भरियाहरु हिंड्ने भएकोले पाँच महिना जति यो बाटोमा मेला नै लाग्ने गरेको बताए । जडीबुटीमा बढी जसो रातो च्याउ, पाँच औंले, कटुकी, सतुवा, जटामसी, वनलसुन यो बाटो भएर तिब्बत जाने गरेको उनले बताए । तिब्ब्ततर्फ बढी निकासी हुने सतुवा, कटुकी, वनलसुनको अव्यवस्थित सङ्कलन भएकाका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषद्ले बझाङले दुई वर्षसम्म सङ्कलनमा रोक लगाएको छ । पाँच औंले विश्वमै लोपोन्मुख प्रजातिमा रहेकोले यसको सङ्कलनमा नेपाल सरकारले नै प्रतिबन्ध लगाएको छ भने रातो च्याउ ओसारपसारको लागि के व्यवस्था गर्ने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधीन रहेको बझाङका जिल्ला वन कार्यालय बझाङले जानकारी दिएको छ ।
रक्त चन्दनको ट्रान्जिट :- २०६८ साल चैतमा बझाङ प्रहरीले चीनको तिब्बततर्फ लैजादै गरेको अवस्थामा रिठापाटाको बारिल भन्ने ठाउँबाट करिब ३५ क्विन्टल रक्त चन्दन ८६ जना भरियासहित पक्राउ ग-यो । सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा एक सय ५० भन्दा बढी भरिया लगाएर करिब ५० क्विन्टल रक्त चन्दन तिब्बत पुराइएको कुरा सार्वजनिक भएको थियो । बझाङका भरियाहरुबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा बझाङको प्रहरी प्रशासनको पनि मिलेमतो रहेको आशंकाहरु गरिएको थियो । त्यसयता यस नाका भएर तिब्बत पुग्ने रक्त चन्दन पक्राउ परेको छैन । तर प्रत्येक वर्ष रक्त चन्दन यस नाका भएर तिब्बत आउने गरेको यहाँका स्थानीय र यो बाटोमा होटल व्यवसाय गर्नेहरु बताउँछन् । ‘यो बाटो भएर रक्त चन्दन आउन थालेको ६/७ वर्ष जति भयो’ तिब्बतको लुपु भन्ने ठाउँमा ११ वर्षदेखि होटल व्यवसाय गरी बसेका हुम्लाका एक जनाले भने, ‘पहिला पहिला बाघका छाला, कस्तुरीजस्ता सामान बढी आउँथ्यो आजकाल बढी रक्तचन्दन आउछ’ २०७३ सालमा बाजुरा साप्पाटाका एक सय २३ जना भरिया प्रयोग गरेर झण्डै ४० क्विन्टल जति रक्त चन्दन तिब्बत गएको र २०७४ को तिहार ताका दैलेखका एक सयभन्दा बढी भरियाले ३५/३६ क्विन्टल रक्तचन्दन तिब्बततर्फ ओसारेको आफ्नै आँखाले देखेको उनले बताए । प्रायः बाटोका सबै होटलहरु उठिसकेपछि दसैँ र तिहारको आसपास र चैतको अन्त्यतिर रक्त चन्दनको ओसारपसार बढी हुने गरेको उनको भनाइ छ । तातोपानी नाका बन्द भएपछि रसुवा र अन्य नाकामा हुने कडाइका कारण तस्करहरुले नाका फेरेर बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन् । तिब्बतको भूमिमा पु-याई सकेपछि यहाँ रक्तचन्दनको खुला व्यापार हुने भएको र बझाङको नाकामा सुरक्षा व्यवस्था नभएका कारण यो नाका भएर रक्तचन्दन सप्लाइ गर्न सजिलो भएकाले तस्करहरुले धेरै जसो यो नाका प्रयोग गर्ने गरेको नेपाल चीन उद्योग व्यापार संघअन्तर्गतको कैलास व्यापार संघका सचिव जगत तामाङ बताउँछन् ।
बाघको छालामा कडाइ, कस्तुरीको बिना महँगियो :- केही वर्ष पहिले निर्बाध रुपमा बाघको छाला हातमै बोकेर मोलमोलाइ गर्न सकिने ताक्लाकोट प्रशासनले अन्तर्राष्ट्रिय दबाबका कारण बाघको छाला खरिदबिक्रीमा प्रतिबन्ध लगाएपछि दुई वर्ष यता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोबार घटेको जानकारहरु बताउँछन् । गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताको रुपमा रहेको एक जनालाई तिब्बत प्रशासनले पक्राउ गरेपछि यसको कारोबारमा निकै कमी आएको तिब्बतको ताक्लाकोटमा फुरु (काठका भाँडाको ) व्यापार सञ्चालन गर्दै आएका कैलाश व्यापार संघका सचिव जगत तामाङले बताए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो । एक वर्ष जति भयो त्यस्तो खालको मान्छे ताक्लामा भेटिएको छैन,’ उनले भने, ‘पहिला जस्तो छैन, गर्नेले त भित्रभित्र गरेकै होलान् ।’ बाघको छाला र हड्डीको कारोबार घटे पनि कस्तुरीको बिनाको मूल्य र निकासी भने प्रतिवर्ष बढ्दै गएको बताइन्छ । ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजारसम्म किनबेच भएको कस्तुरीको बिना यो वर्ष ५५ देखि ६५ हजारसम्म कारोबार भएको ताक्लाकोटमा ११ वटा कस्तुरीको बिना बेचेर फर्किएको बझाङ काँडाका एक जनाले नाम नबताउने शर्तमा जानकारी दिए । आफूले पाँचवटा बिना बझाङको साविक दाँतोला र चारवटा सुर्मा र दौलिचौर गाविसका सिकारीबाट खरिद गरेको बताउने उनले दुईवटा काँडाको शिकारीबाट प्रतितोला २५देखि ३० हजारमा खरिद गरेको बताए । कस्तुरीको व्यापार गर्ने बझाङ र हुम्लाका गरी ५/७ जना व्यापारी रहेको र उनीहरुले यो वर्ष बझाङबाट मात्र ५० वटा जति कस्तुरीको बिना सङ्कलन गरेर तिब्बत पु-याएको उनको भनाइ छ ।
नियन्त्रण गर्न विषेश व्यवस्था आवश्यक :- बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनुपर्ने र सीमा सुरक्षाको लागि विषेश खालको सुविधासहित सशस्त्र प्रहरीलाई खटाइनुपर्ने भनेर साइपाल गाउँपालिका मात्र नभएर जिल्ला मै पटक–पटक आवाज उठ्ने गरेको छ । चुनाव ताका उम्मेदवारहरुको प्रमुख एजेन्डा बन्ने गरेको यो नाकामा भन्सार कार्यालय र सुरक्षा व्यवस्था गर्नका लागि तत्कालीन बझाङ जिल्ला परिषद्ले पटक–पटक निर्णय गरेर केन्द्रमा पठाएको र यसको सुनुवाइ नहुँदा उरै नाका तस्करका लागि सहज बन्दै गएको बझाङका अधिकारीहरु बताउँछन् । भन्सार कार्यालय र प्रहरीको उपस्थिति राम्रो भएमा जिल्ला वनले पनि आफ्नो पोष्ट खडा गर्ने र प्रहरी प्रशासनसँग मिलेर तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठ बताउँछन । ‘वर्षेनी ठूलो मात्रामा वन्यजन्तुका अंग र जडीबुटी जान्छ भन्ने त हामी पनि सुन्छौं,’ उनले भने, ‘हामीसँगको जनशक्ति र सीमा सुरक्षा चौकीमा अहिले भएका प्रहरीकै भरमा यो नियन्त्रण गर्न सम्भव छैन ।’ सीमामा सरकारको उपस्थिति शून्य हुँदा वर्षेनी करोडौं राजस्वसमेत गुमिरहेको बताउँदै उनले भने, ‘प्रहरीको उपस्थिति बाक्लो बनाउने सुराकी परिचालन गर्ने र सरकारका अन्य निकायको पनि उपस्थिति हुने हो भने नियन्त्रण गर्न पनि गाह्रो छैन ।’ जडीबुटी र वन्यजन्तुका अखेटोपहारको तस्करी यो नाकाबाट भइरहेको बारेमा आफूले जानकारी पाए पनि रक्त चन्दन तस्करीको विषय थाहा नभएको प्रहरी नायब निरीक्षक क्रषिराम कँडेलले बताए । अहिलेको सीमा सुरक्षा चौकी रहेको ठाउँ धुलीबाट सीमासम्म पुग्नै तीन दिन लाग्ने र तस्करीको सूचना पाए पनि प्रहरी पुग्दासम्म तस्कर भागिसक्ने भएकोले सीमामा हुने गैरकानुनी गतिविधि रोक्नका लागि सीमा नजिकै प्रहरीको उपस्थिति हुने खालको व्यवस्था हुनुपर्ने प्रहरी नायव उपरिक्षक क्रषिराम कँडेलको भनाइ छ । उनले भने, ‘हिमाली भूभाग भएको कारण अहिलेकै सुविधामा त्यहाँ कोही पनि बस्न सक्ने अवस्था हुँदैन । विशेष सुविधासहित बाह्रै महिना सीमामा प्रहरी रहने खालको व्यवस्था सरकारले गरेमा गैरकानुनी गतिविधि रोक्न असम्भव छैन यसको नियन्त्रणको लागि जिल्लामा रहेको संयन्त्रले मात्र पहल गरेर नहुने र केन्द्र स्तरबाट चासो देखाउनु पर्ने उनको भनाइ छ । तत्कालका लागि केही प्रहरी संख्या बढाएर नियन्त्रणको प्रयास गर्ने बताउँदै उनले ठूलो क्षेत्रफल भएका कारण प्रहरीलाई छलेर अर्कै बाटो लैजाने गरेकाले सीमामै स्थायी पोष्ट स्थापना गर्नुको विकल्प नभएको उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार सहकारी मैत्री छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएको छन् । सहकारी...

हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ ।प्रतिनिधिसभाको...

चोरबाट बचाउन स्थानीय बासिन्दाको घरमा मूर्तिको बाँस

रम्भा गाउँपालिका–५, ताहुँमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै