logo

वैदेशिक रोजगारी : गाँउबेसी छाडी एम्बेस्सीतिर

डा. प्रकाश श्रेष्ठ
आजको दिनमा वैदेशिक रोजगारी नेपाली समाजको एक अभिन्न अंगको रुपमा विकास भएको छ । देशको भौगोलिक सिमाना नाघेर विदेश जानु आजको आवश्यकता बनेको छ । राम्रो शिक्षा, सुदृढ जीवनस्तर र रोजगारीका लागि विदेश जाने नेपालीको संख्या वर्षेनी बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै दैनिक करिब १,४०० नेपाली विदेशिएको विभिन्न तथ्यांकले देखाउँछ । आर्थिक सर्वेक्षण २०७५ अनुसार आर्थिक वर्ष २०७३/०७४ मात्रै ३ लाख ८३ हजार ४ सय ९३ जना नेपाली वैदेशिक रोजगारीमा गएकामध्ये ३ लाख ६३ हजार तीन सय चार पुरुष र २० हजार १ सय ८९ महिला रहेका छन् । चालू आर्थिक वर्षको प्रथम आठ महिनामा सो संख्या २ लाख ४३ हजार ३ सय ४३ रहेको पाइन्छ । सरकारी तथ्यांकका अनुसार आ.व. २०७३/०७४ सम्ममा ४० लाख ३ हजार ४ सय ७४ नेपाली युवा वैदेशिक रोजगारीमा गएकामध्ये ३८ लाख २८ हजार १ सय ७२ पुरुष र १ लाख ७५ हजार ३ सय २ महिला रहेका छन् । हाल करिब ४३ लाख युवा औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । नेपालले संस्थागत रुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीको लागि बाटो खुला गरेको छ । यद्यपि, व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनको लागि भने १ सय ६७ भन्दा बढी देशहरु खुला गरिएको छ । मुलुकमा रोजगारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारीको आकर्षण निकै उच्च रहेको छ । हुन त वैदेशिक रोजगारीमा जानु भनेको नेपाली समाजका लागि कुनै नौलो भने होइन । विगतमा सुगौली सन्धि भएपश्चात् नेपाल युवाहरु ब्रिटिश आर्मीमा जानथालेदेखि नै वैदेशिक रोजगारीको सुरुवात भएको देखिन्छ । त्यस्तै भारतका विभिन्न सहरमा रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको पाइन्छ । विशेषतः वि.सं. २०६० सालदेखि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बढेको देखिन्छ । यसो हुनुमा नेपालमा रोजगारीका अवसरहरुको कमी, न्यून पारिश्रमिक, कामलाई सम्मान गर्ने संस्कारको कमी, शिक्षा, सञ्चार एवं प्रविधिको विकास, युवाहरुको अधिक अपेक्षा, औद्योगिक क्षेत्रमा व्यापारीकरण तथा औद्योगीकरणको कमी, वैदेशिक रोजगारीलाई प्रतिष्ठाको विषय बनाइनु, गरिबी, द्वन्द्व तथा राजनैतिक अस्थिरता, कृषि क्षेत्रको उत्पादकत्वमा कमी साथीभाइ, परिवार, आफन्त र शुभ–चिन्तकहरुको प्रभाव आदि मान्न सकिन्छ । यद्यपि, हालै मात्र नवगठित सरकारले पाँच लाख युवाहरुका लागि स्वदेशमा रोजगारी सिर्जना गर्ने घोषणा गरे पनि कोरियन भाषा परीक्षा कार्यक्रममा ८२ हजारभन्दा बढी युवाहरुको भीड देख्दा सरकारको सो घोषणाप्रति विश्वास घटेको देखिन्छ । यसले पनि नेपाली युवाहरुको वैदेशिक रोजगारीप्रतिको आकांक्षा बढेको देखाउछ । नेपाली समाजमा लाहुर वा विदेशी पेशा रहरको पेशा मानिन्छ भने स्वदेशी र कृषि पेशा बाध्यता बनिरहेको छ । फलस्वरुप नेपाली अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु-याउँन सक्ने मानव पुँजी वैदेशिक रोजगारीमा जान तीव्र लालायित देखिन्छन् । आजभोलि नेपाली युवाहरु गाउँबेसीतिरभन्दा बढी भिसाका लागि एम्बेस्सीतिर बढी जाने गरेको देखिन्छ । यो कुरा सरकार, राजनैतिक दल तथा बौद्धिक वर्ग सबैका लागि चासो र चिन्ताको विषय हुनु आवश्यक छ ।
हाल वैदेशिक रोजगारीमा गएका नेपालीबाट पठाइएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई धेरै हदसम्म प्रभाव पारेको छ । यस अर्थमा वैदेशिक रोजगारीको आफ्नै सकारात्मक र नकारात्मक प्रभावहरु छन् । गरिबी न्यूनीकरण, वित्तीय पहुँचमा वृद्धि, राष्ट्रिय आयमा वृद्धि, खर्चयोग्य आम्दानीमा वृद्धि, प्रतिव्यक्ति आयमा सुधार, भन्सार तथा राजस्व वृद्धि, बेरोजगारी समस्याको न्यूनीकरण, सेवा क्षेत्रको विस्तार, बैंक तथा वित्तीय संस्थाहरुको कारोबारमा वृद्धि, विदेशी विनिमय सञ्चिति, शिक्षाको स्तरमा वृद्धिलगायत आर्थिक वृद्धि आदि वैदेशिक रोजगारीका सकारात्मक प्रभावहरु हुन् । साथै यस रोजगारीमा गएका नेपालीहरुले नयाँ ज्ञान, अनुभव, सीप तथा विचारहरु एवं संस्कृति भित्र्याई देश विकासमा सकारात्मक प्रभाव पार्न सक्दछन् । अर्कोतर्फ, श्रमशक्ति पलायन, सामाजिक–सांस्कृतिक विचलन, राष्ट्रप्रतिको मायामा कमी, सरकारप्रति अविश्वास, साधन–स्रोतको उपयोगमा कमी, आन्तरिक उत्पादनमा ह्रास, मूल्यवृद्धि, उपभोगमुखी र विलासी जीनवशैली आदि वैदेशिक रोजगारीका नकारात्मक प्रभावहरु हुन् । साथै पारपाचुके, पारिवारिक विछोड, वृद्व–वृद्वाहरुको संख्या बढ्ने जस्ता सामाजिक समस्याहरु पनि वैदेशिक रोजगारीकै नकारात्मक प्रभावहरु हुन् । साथै वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये वर्षमा करिब ८ सय मृतक शरीर नेपाल आएको देखिन्छ भने कतिपय मानिसहरु अति दुःख पाएर समयअघि नै नेपाल फर्किएका देखिन्छन् । यसबाट वैदेशिक रोजगारीले नेपालीलाई थप पीडा, दबाब र समस्यामा राखेको बुझ्न सकिन्छ । वैदेशिक रोजगारीका माध्यमबाट बाजे पुस्ताका पालामा देशमा विकास, ज्ञान, अनुभव, प्रविधि, सीप र पैसा भित्रियो । छोरा पुस्ताका पालामा विलासिता र उपभोग्य सामानहरु भित्रिए भने नाति पुस्ताका पालामा सबै हराउदै जाने देखिन्छ । नेपालीले विदेशबाट आउँदा मोबाइल, ल्यापटप, विदेशी कपडा, खानेकुरा, श्रृंगारलगायत सौख, रोग, चिन्ता र अभाव समेत ल्याउने गरेको पाइन्छ । यसरी वैदेशिक रोजगारीको माध्यमबाट विदेशबाट ज्ञान र शिक्षाका साथै विकृति, विसंगति, मोजमस्ती समेत देशमा भित्रिएको छ । वर्तमान अवस्थामा रोजगारी, आम्दानी, उपभोग, बचत, आयात, खर्च, उत्पादन लगायतको प्रभावले अर्थतन्त्रको सम्पूर्ण प्रणालीमा बहुआयामिक प्रभाव पार्दै गएकोले वैदेशिक रोजगारीको प्रभावलाई राष्ट्रिय रुपमा अध्ययन, विश्लेषण र उत्पादनमुखी बनाउने पर्ने देखिन्छ । एक अध्ययनले देखाएअनुसार वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स रकमको ७८.९ प्रतिशत दैनिक उपभोगमा, ७.१ प्रतिशत ऋण भुक्तानीमा, ४.५ प्रतिशत सम्पत्तिमा, ३.५ प्रतिशत शिक्षामा र २.४ प्रतिशत मात्र पुँजी निर्माणमा खर्च भएको देखिएको छ । बढ्दो रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई विकासमुखी भन्दा पनि रेमिट्यान्समुखी बनाएको छ भन्दा अतियुक्ति नहोला । अतः भविष्यमा यदि रेमिट्यान्समा कमी आउँदा नेपाली अर्थतन्त्रलाई निकै नै नकारात्मक दबाब पर्ने देखिन्छ । 
वर्तमान अवस्थामा नेपालीलाई विदेश जानबाट रोक्नसक्ने स्थिति पनि छैन र विदेशबाट सबै नेपाली फर्कने वातावरण पनि नभएकोले आगामी दिनहरुमा उर्जावान युवाहरु विदेश जानैपर्ने बाध्यता सिर्जना हुनु नेपालका लागि चुनौती बनेको छ । आज हाम्रा युवाहरु आफ्ना लागि, समाज र देश विकासका लागि नभई परिवारको उपभोग र संस्कृति धान्नका लागि विदेश जानु परेका छ । अधिकांश युवाहरु औसतमा मासिक करिब १५० डलर कमाउन खाडीमुलुक, मलेशिया लगायतका देशहरुमा पुग्ने गरेका छन् । आधुनिकिकरण, विश्वव्यापीकरण, बजारीकरण, प्रविधिकरण र निजीकरणजस्ता कुराहरुले विश्वबजारमा प्रशस्त सम्भावना एवं अवसरहरु प्रदान गरेका छन् । तर हाम्रा युवाहरु सामान्य आर्जनका लागि समेत विदेशिनु परेको छ । युवा, जसलाई मानव पुँजी र देश विकासको आधार मानिन्छ, उनीहरुलाई केवल केही रकम आर्जनका लागि मात्र वैदेशिक रोजगारी जानुपर्ने अवस्थाप्रति सरकार सम्वेदनशील हुनु जरुरी छ । औद्योगिक विकास, पूर्वाधार निर्माण, उत्पादन र कृषिमा आत्मनिर्भरविना राष्ट्रको उन्नति सम्भव छैन । सन् १९९० को दशकमा करिब २५० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षसम्म आइपुग्दा १००४ अमेरिकी डलर पुगेको घोषणा गरिएको छ । यो अन्य कुराहरुभन्दा पनि रेमिट्यान्स वा वैदेशिक रोजगारी नै एक प्रमुख कारणले हो । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्ममा नेपालीहरुको प्रतिव्यक्ति आय १५ सय डलर पु-याउने लक्ष्य राखेकोले पनि यस कुरामा सम्भवतः वैदेशिक रोजगारीले नै महत्वपूर्ण योगदान दिनेछ । 
विश्वमा बढी रेमिट्यान्स भित्र्याउने, कम विकसित र कम जनसंख्या भएको राष्ट्रहरुमध्ये नेपाल अग्रणी स्थानमा रहेको छ । यद्यपि हालका दिनहरुमा रेमिट्यान्स रकममा कमी आइरहेकोले वैदेशिक रोजगारी र रेमिट्यान्सको आम्दानीलाई दीर्घकालीन र भरपर्दो बनाउन उपभोगमुखीबाट उत्पादनमुखी बनाउनु आजको आवश्यकता हो । नेपाली युवाहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्केपछि के गर्ने भन्ने अन्यौलमा रहेकोले यस्तो अवस्थाबाट देशलाई मुक्त बनाउनु पर्दछ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स अर्थतन्त्र सञ्चालनका लागि एक महत्वपूर्ण तत्व भएतापनि नेपाल जस्तो मुलुकमा युवाका लागि यो नै अन्तिम विकल्पका रुपमा देखापर्नु अवश्य पनि राम्रो संकेत भने होइन । त्यसैले अर्थतन्त्र यसैको वरिपरी केन्द्रीत रहनु, युवा जनशक्तिलाई मानव पुँजीको रुपमा स्वीकार गर्न नसक्नु र रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नु पक्कै पनि चिन्ताको विषय हो । अतः सरकार तथा नियामक निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित एवं सम्मानजनक बनाउदै यसबाट प्राप्त हुने रेमिट्यान्सको दीर्घकालीन व्यवस्थापनका लागि र अर्थतन्त्रलाई रेमिट्यान्सको बहुप्रभावबाट जोगाइ राख्न, कारोबारलाई व्यवस्थित गर्न आवश्यक लगानी योजना, ऐन – कानुन बनाई सम्बोधन, व्यवस्थापन र यथोचित नियन्त्रण गर्नु पर्दछ । साथै प्राप्त रेमिट्यान्स रकमको सही उपयोगका लागि नागरिक स्तरमा पनि चेतना जगाउनु पर्दछ । वैदेशिक रोजगारीलाई पीडादायी र निर्वाहमुखी संस्कारबाट परिवर्तन गराई विकास तथा उत्पादनमुखी बनाउनु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै