logo

प्रणव अर्थात् ॐ को अर्थ र महिमा

शिरीषवल्लभ प्रधान
ॐ अर्थात् ओम् तीनवटा अक्षर मिलेर बनेको हुन्छ । ती तीन अक्षरहरु हुन् अ, उ र म । ॐ को महत्व हिन्दूधर्ममा मात्र सीमित नभई पूर्वीय दर्शनका बौद्ध, जैनलगायत विभिन्न ग्रन्थहरुमा समेत यसबारे उल्लेख भएको पाइन्छ । ॐ लाई सृष्टिको पहिलो अभिव्यक्ति पनि भनिन्छ । ॐ लाई ब्रह्म अर्थात् परमेश्वरको रुपमा पनि उपासना गरिन्छ । भनिन्छ, सम्पूर्ण वेद तथा उपनिषद्को सारसंक्षेप भगवद्गीता हो भने गायत्री मन्त्र त्यसको पनि संक्षिप्त रुप हो र ओम्कार गायत्रीमन्त्रको पनि सार हो । तसर्थ ओम्कारलाई ब्रह्मस्वरुप नै हो भनिएको छ ।
ॐ को महत्व दर्शाउँदै तैत्तिरीयोपनिषद्मा भनिएको छ,
ओमिति ब्रह्म । ओमितीदं सर्वम् । ओमित्येतदनुकृतिहर्थ स्म वा अप्यो श्रावयेत्यारुवयन्ति । ओमिति सामानि गायन्ति । ओ शोमिति । शास्त्राणि शं सन्ति । ओमित्यध्वर्युः प्रतिगरं प्रतिगृह्णाति । ओमिति ब्रह्मा प्रसौति । ओमित्यग्निहोत्रमनुजानाति । ओमिति ब्राह्मणः प्रवक्ष्यन्नाह ब्रह्मोपाप्नवानीति । ब्रह्मैवोपाप्नोति ।
अर्थात्, ओम् नै ब्रह्म हो । ओम् नै प्रत्यक्ष देखिने समस्त जगत् हो । ओम् यस अक्षर नै निःसन्देह अनुकृति हो । सामवेदका मन्त्रहरु गाइनुअघि ओम् भनिन्छ । ओम्, शोम आदि भनेर नै शास्त्रहरु पढिन्छ । ओम् यसरी भनेर अध्वर्युृ नामक ऋत्विक् मन्त्र उच्चारण गरिन्छ । ओम् यति भनेर अग्निहोत्र गर्ने आज्ञा दिइन्छ । अध्ययन गर्न उत्सुक ब्राह्मण पहिले ओम् शब्द उच्चारण गरी भन्छ, म ब्रह्मलाई प्राप्त गरुँ । अर्थात् वेद आदि शास्त्रहरु अध्ययन गरिँदा सुरुमै ओम् उच्चारण गरिन्छ । त्यसैगरी यज्ञहरु गरिँदा पनि पहिले ओम्कै उच्चारण गरिन्छ भने गुरुले शिष्यलाई आफ्नो उपदेश दिँदा पनि सुरुमा ओम् नै भन्ने गर्छ । यसरी ओम्विना कुनै पनि पवित्र कार्यको सुरुवात गरिँदैन । यसबाट पनि ओम्को महत्व कति छ भन्ने बुझिन्छ । पातञ्जल योगसूत्रमा भनिएको छ,
तस्य वाचक प्रणवः । ।।२७।।
अर्थात्, प्रणव वा ओम् शब्दद्वारा परमात्मा बुझिन्छ । अर्थात् ओम्द्वारा परमात्माको अभिव्यक्तीकरण हुन्छ । हरेक शब्द कुनै न कुनै वस्तु वा विचारसँग जोडिएको हुन्छ । तब ओम् नै किन ईश्वरसँग जोडिन पुग्यो त भन्ने प्रश्न उठ्नसक्छ । यसबारे व्याख्या गर्दै स्वामी विवेकानन्द भन्छन्, ‘ओम्लाई सम्पूर्ण स्वरहरुको आधार मानिन्छ । त्यसमा पहिलो अक्षर ‘अ’ मूल स्वर हो, जुन मुखका कुनै पनि भागमा जिब्रो वा ओठले नछोईकन उच्चारण गरिन्छ । सो क्रममा अन्तिम स्वर म हो, जसको उच्चारण गर्दा दुई ओठ जोडिन्छ । बीचको अक्षर ‘उ’को उच्चारण गर्दा ओठलाई गोलो बनाइन्छ र घाँटीभित्रबाट स्वर निकालिन्छ । यसरी ओम्को उच्चारण गरिँदा स्वरका सम्पूर्ण आयामहरुको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ ओम्लाई प्राकृतिक चिह्न मानिन्छ, जसले स्वरका सम्पूर्ण सम्भावनाहरुको प्रतिनिधित्व गर्दछ ।’ यो त भयो ओम् स्वरको विश्लेषण । त्यसबाहेक ओम् स्वरले भारतवर्षका प्रायःजसो सबै धर्महरुमा स्थान पाएको छ तथा वैदिक ग्रन्थहरुमा यही ओम्कै सेरोफेरोमा विभिन्न विचारहरु प्रतिपादन गरिएको पाइन्छ, विवेकानन्द भन्छन्, ‘यसरी ओम् सबै धर्महरुको साझा आधारजस्तै बनेको पाइन्छ ।’ अंग्रेजी शब्द ‘गड’को अर्थ ज्यादै सीमित छ तर ओम् शब्दले ज्यादै व्यापक अर्थ बुझाउने विचार विवेकानन्द बताउँछन् । त्यसैगरी अर्को श्लोकमा पतञ्जली लेख्छन्,
तज्जपस्तदर्थभावनम् । ।।२८।।
अर्थात् यस (ओम्) शब्दलाई दोहो-याउने र त्यसको अर्थ विचार गरी ध्यान गर्नु नै उपाय हो ।
ओम् शब्द किन दोहो-याउने त भन्ने प्रश्नमा विवेकानन्द भन्छन्, ‘हाम्रो मनमा विभिन्न किसिमका छापहरु बसेका हुन्छन्, जसको समग्रताले एक प्रकारको संस्कार बनेको हुन्छ । ती छापहरुले हाम्रो मनमा एक प्रकारको आणविक कम्पन ल्याउँछ । ती कम्पनहरु समय, समयमा सुषूप्त स्थितिमा पुग्छ र कुनै बाह्य प्रेरक वस्तुको संसर्ग पाएपछि फेरि प्रकट हुन्छ । तसर्थ ओम्को उच्चारण हाम्रो मनमा आध्यात्मिक संस्कार उत्पन्न गराउनमा सहायक सिद्ध हुन्छ ।’ विवेकानन्द योगसूत्रमाथि टिप्पणी गर्दै भन्छन्, ‘यसरी ओम्को निरन्तर उच्चारण र स्मरणले हाम्रो मन, मस्तिष्कमा सकारात्मक कम्पन ल्याउँछ र त्यसबाट आध्यात्मिक संस्कारको विकास गर्न मद्दत मिल्छ । यसरी ओम् उच्चारण गर्दा त्यसले हामीमा भएको खराब संस्कारहरुलाई हटाउँछ र असल संस्कारहरु तथा सकारात्मक ऊर्जा भरिदिन्छ ।’
प्रणवोच्चारणद्वारा ध्यान गर्ने विधिबारे उल्लेख गर्दै श्वेताश्वतरोपनिषद्मा यस्तो भनिएको छ,
त्रिरुन्नतं स्थाप्य समं शरीरं हृदिन्द्रियाणि मनसा संन्निवेश्य ।
ब्रह्मोडुपैन प्रतरेत विद्वान्स्रोतांसि सर्वाणि भयानकानि । (श्वेत.२.८)
अर्थात्, बुद्धिमान् मनुष्यले शिर, घाँटी र छातीलाई सिधा, स्थिर र ऊँचो राख्दै समस्त इन्द्रियहरुलाई मनद्वारा हृदयमा रोक्दै ओम्काररुपी नौकाद्वारा यस भयंकरको संसारलाई पार गर्छन् । यहाँ उचित आसनमा बसी शरीरलाई स्थिर राखी ओमकारमा ध्यान गर्ने विधि बताइएको हो ।
ओम्को स्तुति गर्दै माण्डूक्योपनिषद्को प्रथम श्लोकमा भनिएको छ,
ओमित्येतदक्षरमिदं सर्वं तस्योपव्याख्यानं भूतं भवद्भविष्यदिति सर्वमोंकार एव । यच्चान्यत्रिकालातीतं तदप्योंकार एव । ।।१।।
अर्थात्, ॐ यो अक्षर नै सबथोक हो । यो जो भूत, भविष्यत् र वर्तमान छ त्यसैको व्याख्या हो । त्यसैले यो सबै ओम्कार नै हो । त्यसबाहेक जुन त्रिकालातीत वस्तु छ, त्यो पनि ओम्कार नै हो । अर्थात्, यो सारा चराचर जगत् ओम्कारद्वारा नै व्याप्त छ । ओमकार तीनै कालको वाचक शब्द हो । यो दृश्य जगत्मा जे जति छन्, ती सबै ओम्कार नै हो र परब्रह्म तथा अपरब्रह्म पनि ओम्कार नै हो । साथै काल र स्थानभन्दा पर रहेको त्रिकालातीत वस्तु पनि ओम्कार नै हो । यसबारे थप व्याख्या गर्दै सो उपनिषद्मा भनिएको छ,
सोऽयमात्माध्यक्षरमोंकारोऽधिमात्रं पादा मात्रा मात्राश्च पादा अकार उकारो मकार इति । ।।८।।
अर्थात्, त्यो आत्मा अक्षरदृष्टिले ओम्कार नै हो, त्यो मात्राहरुको विषयमा स्थित छ । पाद नै मात्रा हो र मात्रा नै पाद हो, ती मात्रा हुन् अकार, उकार र मकार । सो उपनिषद्ले ओमकारका तीन अक्षर अ, उ, मलाई आत्माको तीन पाद वा खुट्टाहरु भनी वर्णन गरेको छ । एउटाले जागृत अवस्था जनाउँछ भने अर्कोले स्वप्न र तेस्रोले सुषूप्ति अवस्था जनाउँछ । जागृत स्थानमा रहेको वैश्वानर जसले स्थूल विश्वलाई भोग गर्छ, त्यो आत्माको पहिलो पाद हो भने स्वप्न स्थानमा रहेको तैजस जसले सूक्ष्म विश्वलाई भोग गर्छ आत्माको दोस्रो पाद हो । त्यसैगरी सुषूप्ति स्थानमा रहेको प्राज्ञ जसले आनन्दको उपभोग गर्छ, आत्माको तेस्रो पाद हो । (माण्डूक्य.८,९,१०,११)
त्यसलाई थप व्याख्या गदै सोही उपनिषद्मा भनिएको छ, ‘सुषुप्ति जो मकारको स्थान मानिन्छ, त्यो आत्माको लय हुने स्थान हो । अर्थात् अ र उ दुवै सुषूप्तिद्वारा जनाइने मकारमा लय हुन्छ । भन्नुको तात्पर्य हो अ, उ पछि म आउँछ र मलाई लामो समयसम्म भनेमा पुनः अको प्रादुर्भाव हुन्छ । यसले प्रकृतिको तीन स्वरुप सृष्टि, स्थिति र लय अनि पुनः अकारको रुपमा नयाँ सृष्टि जनाउँछ । यसरी अ र उ मकारमा प्रवेश गरेर पुनः त्यसाट नयाँ सृष्टि भएजस्तै अकारको प्रादुर्भाव हुन्छ, त्यसबारे थप व्याख्या गर्दै आदि शंकराचार्य आफ्नो भाष्यमा लेख्छन् । जसरी सुषूप्तिको समयमा विश्व (जागृत) र तैजस (स्वप्न) प्राज्ञमा लीन हुन्छ, त्यसैगरी मकारमा अकार र उकार लीन हुन्छ, उनी थप्छन् । अब आत्माको चौँथो पादका बारेमा माण्डूक्यमा यसरी वर्णन गरिएको छ,
अमात्रश्चतुर्थोऽव्यवहार्यः प्रपन्चोपशमः शिवोऽद्वैत एवमोंकार आत्मैव संविशत्यात्मनात्मानं य एवं वेद ।।१२।।
अर्थात्, मात्रारहित ओंकार तुरीय आत्मा नै हो । त्यो अव्यवहार्य, प्रपञ्चविहीन शिव र अद्वैत छ । यसरी ओंकार आत्मालाई नै भनिएको छ । जसले त्यसलाई यसप्रकार जान्दछ, त्यो आत्मामा नै प्रवेश गर्छ । यसको तात्पर्य हो, ओम्कार उच्चारण गर्दा अ, उ र म उच्चारण गर्दै लाने र म उच्चारण गरिसकेपछि पुनः दोस्रोपटक अ उच्चारण गर्नुअघि जुन शून्यता अर्थात् मौनता आउँछ, त्यही आत्माको चौँथो पाद अर्थात् तुरीय अवस्था वा ब्रह्म हो । सोही उपनिषद्मा अगाडि भनिएको छ, ‘प्रणवलाई नै सबैको हृदयमा स्थित ईश्वर जानौं । यसरी सर्वव्यापी ईश्वरलाई ओमकार जानेर बुद्धिमान् पुरुष शोक गर्दैैनन् । जसले मात्राहीन, अनन्त मात्रा भएको द्वैतको अन्त्यस्थानमा रहेको र मंगलमय शिवस्वरुप ओम्कारलाई जान्यो त्यही मुनि हो, अरु कुनै पुरुष हैन । ।।माण्डूक्य.९।।
लेखको अन्त्यमा गीताको निम्न श्लोक यहाँ उल्लेख गर्नु मनासिब हुनेछ, जसमा प्रणवोच्चरणसँग परमात्मा साक्षात्कारको सम्बन्ध दर्शाइएको छ ।
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् । (गीता ८.१३)
ओम् यस एक अक्षररुपी ब्रह्मको स्वरुपलाई बुझाउने ओंकार उच्चारण गर्दै र त्यसको अर्थस्वरुप म ईश्वरलाई चिन्तन गर्दै जो पुरुष शरीर त्याग्दछ अर्थात् मृत्युलाई वरण गर्छ त्यसले परमगति अर्थात् मुक्ति प्राप्त गर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै