logo

योगको उत्पत्ति, विकास र महत्व

शिरिषवल्लभ प्रधान
योगश्चित्तवृत्तिनिरोधः (पातञ्जल यो.सू. १.२)
अर्थात्, योग भन्नाले चित्तमा रहेका तरङ्गहरुको निराकरण हो । योगको उपर्युक्त परिभाषा ईशापूर्व चौंथो शताब्दीका महर्षि पातञ्जली रचित योगसूत्रमा दिइएको हो, जसको अर्थ हुन्छ चित्तलाई तरङ्गरहित शान्त स्थितिमा राख्नु । मानिसले आफ्नो इन्द्रियहरुद्वारा कुनै वस्तु वा विचारलाई ग्रहण गर्न निम्न चार कुराहरुको समिश्रण आवश्यक हुन्छः इन्द्रिय, मन, बुद्धि र अहङ्कार, जसलाई समग्रमा अन्तःकरण भनिन्छ, पातञ्जल योगसूत्रामा टिप्पणी गर्दै स्वामी विवेकानन्द भन्छन् । यसरी मानिसले दैनिक जीवनमा इन्द्रियहरुद्वारा कुनै चिज ग्रहण गर्ने क्रममा उसको चित्तमा वृत्ति वा छापहरु बन्दछन् । ती वृत्तिहरुलाई सफा गरी वा हटाई चित्तलाई आफ्नो स्वभावमा फर्काउने प्रक्रयालाई नै योग भनिन्छ । चित्त निर्मल र शान्त भएपछि नै हामी आफ्नो वास्तविक स्वरुपसँग साक्षात्कार गर्न सक्छौं । तसर्थ योग शारीरिक व्यायाम र श्वासप्रश्वास क्रियासँग मात्र सम्बन्धित नभई यो मानिसको समग्र व्यक्तित्व, मनोविज्ञान र जीवन पद्धतिसँग सम्बन्धित छ । त्यसको थप व्याख्या गर्दै उक्त योगसूत्रमा भनिएको छ,
तदा द्रष्टुः स्वरुपेवस्थानाम् (पातञ्जल यो.सू. १.३)
अर्थात्, योगी ध्यानावस्थामा रहँदा वृत्तिहरु शान्त भएपछि आफ्नो वास्तविक स्वरुपमा (वृत्तिरहित अवस्था) फर्कन्छ । यसमा योगलाई आत्मस्वरुपसँग साक्षात्कारको रुपमा लिइएको छ । पतञ्जलीले योगका आठ सूत्रहरुको वर्णन त्यस पुस्तकमा गरेका छन् । ती हुन्ः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि । योगको सामान्य अर्थ हुन्छ, जोड । कुनै दुई वस्तुको योग भन्नाले ती दुई वस्तुको जोडा भन्ने बुझिन्छ । जब मानिसको. मन द्वन्द्वरहित हुन्छ, शंसयरहित हुन्छ, निर्मल हुन्छ, तब उसलाई योगी भनिन्छ । योगी भन्नाले सम्पूर्ण व्यक्तित्व (इन्टेग्रटेड पर्सनालिटी) बुझिन्छ । जब मानिसमा अन्तरविरोधको अभाव हुन्छ, द्वन्द्वको अभाव हुन्छ, तब मन शान्त हुन्छ । द्वैतमा भय हुन्छ, अद्वैतमा न भय हुन्छ न शोक, वेदले भन्छ । योगले हाम्रो मन—मष्तिस्कको त्यो अद्वैतस्थिति बुझाउँछ । स्वामी शिवानन्द सरस्वतीका अनुसार योग भनेको विचार, भावना र कार्यबीच एकता र समन्वय हो, अथवा हृदय, मस्तिष्क र हातबीच एकता हो । योगाभ्यासद्वारा मानिसको मानसिक, शारीरिक तथा भावनात्मक तहहरुबीचको अन्तरसम्बन्धबारे चेतनाको विकास हुन्छ । यीमध्ये कुनै एकमा अवरोध खडा भएको खण्डमा अर्कोमा कसरी असर पुग्छ भन्ने ज्ञान मिल्छ, उनी भन्छन् । यो चेतनाबाट विस्तारै अस्तित्वका सूक्ष्मतम् क्षेत्रहरुबारे समझदारी पैदा हुन्छ ।
श्वेताश्वतरोपनिषद्मा भनिएको छ,
क्षरं प्रधानाममृताक्षरं हरः क्षरात्मानावीशते देव एकः ।
तस्याभिध्यानाद्योजनात्तत्वभावाद्भूयश्चान्ते विश्वमायानिवृत्ति ।। (श्वेत.१.१.१०)
अर्थात्, त्यो एक देव (परमात्मा) ले क्षर र आत्मा अर्थात् प्रधान र पुरुषलाई नियमन गरिरहेको हुन्छ । त्यस परमात्मामा ध्यान गर्नाले अर्थात् जीव र परमात्माबीच एकाकार गर्नाले (त्यसरी एकाकार गर्नु नै योग हो) सुख, दुःख, माया, मोह तथा प्रारब्धको निवृत्ति अर्थात् अन्त्य हुन्छ ।
योगको महत्ववारे वर्णन गर्दै श्वेताश्वतरोपनिषद्ले भन्छ,
न तस्य रोगो न जरा न मृत्यु, प्राप्तस्य योगाग्निमयं शरीरं । (श्वेत.२.२.१२)
जसको अर्थ हुन्छ, योगीलाई न रोग हुन्छ, न वृद्धावस्था प्राप्त हुन्छ न त उसको अकाल मृत्यु नै हुन्छ । त्यसैगरी योगमा सफलतातर्फ उन्मुख व्यक्तिको प्रारम्भिक लक्षणबारे बताउँदै सोही उपनिषद्मा भनिएको छ,
लघुत्वमारोग्यमलोलुपत्वं वर्णप्रसादं स्वरसौष्ठवं च ।
गन्धःशुभो मूत्रपुरीषमल्पं योग प्रवृत्तिं प्रथमां वदन्ति ।। (श्वेत.२.२.१३)
अर्थात्, शरीरको हल्कापना, निरोगीता, विषया शक्तिको निवृत्ति, शारीरिक कान्ति अथवा उज्ज्वल व्यक्तित्व, मधुरो स्वर, सुगन्ध र मल—मूत्रको न्यूनता आदि योगको पहिलो सिद्धिका लक्षण हुन् ।
स्वामी सत्यानन्द सरस्वतीका अनुसार भारतीय उपमहादेशमा दशहजार वर्षभन्दा अगाडिदेखि नै तान्त्रिक सभ्यताको विकासका साथसाथै योगको पनि प्रादुर्भाव भएको हो (आसन, प्राणायाम, मुद्राबन्धले स्वामी सत्यानन्द सरस्वती) । सिन्धु उपत्यकामा हरप्पा र मोहेन्जोदारोमा गरिएका उत्खननमा ध्यान मुद्रामा बसेका शिव र उनकी जोडी पार्वतीको चिह्न कुँदिएका हजारौं वर्ष पुराना अवशेषहरु भेट्टिएका छन् । वैदिक युगपूर्व नै हिमालयमा बास गर्ने महायोगी शिवले योगको सिद्धान्त प्रतिपादन गरेका हुन् र पार्वती नै उनका प्रथम शिष्य हुन् भन्ने पनि कहावत छ । योगसम्बन्धी पौराणिक ग्रन्थहरुका अनुसार चौरासी लाख जीवको प्रतिनिधित्व स्वरुप पनि चौरासी लाख किसिमका आसनहरु छन् । भनिन्छ, आठौं शताब्दीतिरका योगी मत्स्येन्द्रनाथले शिवजीबाट यीमध्ये केही आसनहरु अनुसार सिकेर आफ्ना शिष्य गोरक्षनाथलाई पनि त्यसबारे ज्ञान दिएका थिए । तसर्थ मत्स्येन्द्रनाथ र गोरखनाथ हठयोगका प्रवर्तक मानिन्छन् ।
मत्स्येन्द्रनाथले ध्यान सुरु गर्नुअघि शरीर र यसका विभिन्न तत्वहरु शुद्ध पारिनुपर्ने कुरामा जोड दिए र उनले विभिन्न आसनहरुका बारे जानकारी दिएको बताइन्छ । उनी र उनका शिष्य गोरखनाथले भारतमा नाथ परम्परा सुरु गरे ।
गौतम बुद्धको समयकाल वरिपरि अर्थात् ईशापूर्व पाँचौं, छैठौं शताब्दीताका ध्यान, नैतिकता, आचरण, शीलआदि कुराहरुमा बढी जोड दिइयो र योगासन र प्राणायामका विधिहरु ओझेलमा परे, सत्यानन्द भन्छन् । पतञ्जलीले आसन, प्राणायाम तथा ध्यान एवं समाधि गर्नु अघि यम र नियमका विधिहरु पु-याउने पर्ने विचार अघि सारेको हुनाले धेरैले योग एवं ध्यान सुरु गर्न हिच्किचाए । फेरि योगका सूत्रहरु संस्कृतमा लेखिएकोेले सबैले बुझ्न पनि गाह्रो भयो । यही पृष्ठभूमिमा स्वामी स्वात्मानन्दनामक योगीले हठयोग प्रदीपिकानामक पुस्तक लेखी योग र ध्यानबारे जान्न खोज्ने धेरैको उद्देश्यपूर्ति गरिदिए । त्यस पुस्तकमा उनले यम, नियम जस्ता कठिन कुरालाई ओझेलमा पारी योग, प्राणायाम तथा ध्यान आदिमा जोड दिए । उनको पुस्तकमा हठयोगलाई बढी महत्व दिइएको छ । जब हठ योग, प्राणयाम गरी मन स्थिर र सन्तुलित हुन्छ तब मात्र यम, नियम जस्ता अनुशासन र ज्ञानेन्द्रिय नियन्त्रण विषयहरुमा प्रवेश गर्ने सुझाव उनको सो पुस्तकमा दिइएको छ ।
यसबाट के निष्कर्षमा हामी पुग्छौं भने योगको महत्व केवल उच्च आध्यात्मिक उद्देश्य राख्नेहरुको निम्ति मात्र नभई शरीर तथा मष्तिस्क स्वस्थ र दुरुस्त राख्न चाहने जो कोहीको निम्ति पनि त्यत्तिकै छ । शारीरिक तथा मानसिक सफाइका साथै शारीरिक सुदृढीकरण योगको एक महत्वपूर्ण पक्ष हो भने अर्को पक्ष आध्यात्मिक यात्राको सुरुवात पनि हो । यो सम्पूर्णतामा आधारित शारीरिक तथा मानसिक एकता एवं समन्वयमा जोड दिने विद्या हो । योग चिकित्सा पद्धतिको हिजोआजको आधुनिक चिकित्सा पद्धतिमा निकै महत्व छ । किनभने यसले स्नायुलगायत विभिन्न महत्वपूर्ण शारीरिक प्रणाहरुलाई सन्तुलित राख्नमा मद्दत गर्छ ।
हठयोगप्रदीपिकामा योगासनबारे भनिएको छ,
हठस्यप्रथमां गत्वादासनं पूर्वमुच्यते ।
कुर्यात्तदासनं स्थैर्यमारोग्यं चांगलाघवम् ।। (हठयोगप्रदीपिका १.१७)
यसको अर्थ यसप्रकार छ : सबैभन्दा पहिले हठयोगमा आसनको कुरा आउँछ । आसन सिद्धिपछि साधकले शरीर र मनको सन्तुलन हासिल गर्छ, जसको कारण रोगको अन्त्य हुन्छ र शरीरमा हल्कापना आउँछ । योगाभ्यास सुरु गर्नुअघि आसनमा बस्नु जरुरी हुन्छ । आसनबारे पतञ्जली भन्छन् : स्थिरं सुखं आसनम् । अर्थात् आसन भन्नाले त्यस्तो स्थिति बुझाउँछ जसमा शरीरलाई सुविधा पनि होस् स्थिर पनि होस् । यसको अर्थ जुन आसनमा धेरैबेर नचलिकन आनन्दपूर्वक बस्न सकिन्छ त्यही सही आसन हो । आसनहरु निश्चित शारीरिक स्थिति हुन् जसद्वारा ऊर्जा मार्गहरु खुल्छन् तथा चेतनाका केन्द्रहरु सक्रिय हुन्छन् । तिनीहरु चेतनाका उच्चतम तहमा पुग्ने माध्यम हुन् जसले शरीर, श्वास, मन तथा त्यसभन्दा पर पुग्ने आधारशीला खडा गरिदिन्छ, सत्यानन्द भन्छन् । हठयोगीहरु निश्चित आसन तथा श्वासप्रश्वासको अभ्यासद्वारा मनमाथि पनि नियन्त्रण कायम गर्न सकिने बताउँछन् । हिन्दूहरुको पवित्र ग्रन्थ गीताका अनुसार योग गर्ने व्यक्तिको समचित्त वा सन्तुलित मानसिक स्थिति हुन्छ । गीतामा भनिएको छ,
योगस्थः कुरु कर्माणि सङ्गम् त्यक्त्वा धनञ्जय ।
सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते । (गीता २.४८)
अर्थात्, हे धनञ्जय तिमी आसक्तिरहित भई सिद्धि र असिद्धिमा समान बुद्धि राखी योगमा स्थित भई कर्तव्य कर्महरुलाई गर, किनकि समत्वलाई नै योग भनिन्छ । शुद्ध चित्त भएको इन्द्रियहरुलाई वशमा राख्ने व्यक्तिलाई योगीको संज्ञा दिँदै त्यस्ता योगीले कस्तो प्रकारको कर्म गर्छ भन्नेबारे प्रकाश पार्दै गीतामा भनिएको छ,
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।
अर्थात्, योगद्वारा विशुद्ध अन्तःकरण भएको व्यक्ति शरीर विजयी जितेन्द्रिय र सबै भूतमा आत्मालाई देख्ने व्यक्ति लोक व्यवहारको निम्ति कर्म गर्दागर्दै पनि त्यसमा आसक्त हुँदैनन् । त्यसैगरी कस्तो व्यक्तिको निम्ति योग कठिन हुन्छ भन्नेबारे श्रीकृष्ण भन्छन्ः
असंयतात्मना योगो दुष्प्रापइति मे मतिः
वश्यात्मना तु यतताशक्यो वाप्तुमुपायतः।। (गीता ६.३६)
अर्थात्, मनलाई वशमा नराख्ने व्यक्ति अर्थात् जसको अन्तःकरण अभ्यास र वैराग्यद्वारा संयमित भएको छैन, त्यस्तो व्यक्तिको निम्ति योग कठिनताले मात्र प्राप्त हुनसक्छ । तर, त्यसविपरीत जसले निरन्तर अभ्यासद्वारा मनलाई वशमा राख्न सकेको छ, त्यस्तो व्यक्तिले सहजै योग प्राप्त गर्न सक्छ । योगद्वारा चित्तलाई संयमित कसरी गर्ने अर्थात् ध्यानका पद्धतिका बारे गीतामा यसरी वर्णन गरिएको छः मनद्वारा बाहिरी भोगका विषयबारे चिन्तन नगरी नेत्रलाई भृकुटी (दुई परेलाको बीचमा) स्थित राखी प्राण र अपानवायुलाई सन्तुलित तुल्याउँदै जसले ईश्वरको ध्यान गर्दछ । त्यस्तो व्यक्तिभय र क्रोधरहित भई सदा मुक्त नै हुन्छ । (गीता ५.२७—२८)
तसर्थ योग केवल मानिसको शारीरिक र मानसिक स्थितिसँग मात्र सम्बन्धित छैन, हाम्रो आध्यात्मिक जीवनसँग पनि यसको घनिष्ठ सम्बन्ध छ । जसले सुख, दुःखमा, हर्ष र विस्मातमा, मनलाई सन्तुलित राख्न सक्छ वास्तवमा त्यही व्यक्ति योगी हो र त्यस्तो व्यक्ति दुःख, चिन्ता र शोकबाट मुक्त भई वास्तवमा स्वतन्त्र कहलिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...

कृत्रिम गर्भाधान : गाईभैंसीको वंशाणुगत गुण सुधारको एक उपयोगी प्रविधि

दुग्ध व्यवसाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै