logo

नयाँ बजेट र पर्यटन क्षेत्र

रुपनारायण खतिवडा
नेपाल विश्वको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने अथाह सम्भावना रहेको मुलुक हो । अपार प्राकृतिक सौन्दर्य, जैविक विविधिताको प्रचुरतासहित बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देशको रुपमा नेपाल विश्वसामु परिचित हुँदै आएको छ । पर्यटन क्षेत्रलाई आर्थिक विकासमा तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको क्षेत्र र नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पु-याउन सक्ने सेवा उद्योगका रुपमा लिने गरिन्छ । मुलुकको आर्थिक विकासका लागि यसक्षेत्रको महत्वपूर्ण भूमिकाको अपेक्षा पनि राख्ने गरिन्छ । मुलुकी अर्थतन्त्रमा यसक्षेत्रको योगदान अभिवृद्धिका लागि विभिन्न प्रयासहरु हुँदै आएका पनि छन् । तथापि, अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास, विस्तार हुन एवं पर्यटन सेवाको गुणस्तरमा स्तरीयता कायम गर्ने कार्य हुनसकेको छैन । यो स्थितिमा नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा हेरिएको पर्यटन क्षेत्रलाई उकास्ने सन्दर्भमा केही दिनअघि सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को बजेटले कसरी र कुन रुपमा सम्बोधन गरेको छ भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुन आउँछ ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसलगतैको नाकाबन्दीको मारका कारण अघिल्ला वर्षहरुमा नेपालको पर्यटन क्षेत्रमा चौतर्फीरुपमा नै नकारात्मक प्रभाव परेको थियो । फलस्वरुप सन् २०१५ मा कुल पाँच लाख ३८ हजार नौ सय ७० पर्यटकहरुले मात्र नेपाल भ्रमण गरेको तथ्यांक छ । जुन संख्या त्यसभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१४ को भन्दा ३२ प्रतिशतले कम हो । पछिल्लो समयसम्म आइपुग्दा भने यो अवस्थामा क्रमिक सुधार भइरहेको देखिन्छ । सन् २०१६ मा पर्यटक आगमन संख्यामा सन् २०१५ को तुलनामा ४० प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांक रहेको छ भने अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक कुल नौ लाख ४० हजार दुई सय १८ जना पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ को यो संख्या अघिल्लो वर्षको भन्दा २५ प्रतिशतले बढी हो । अर्कोतर्फ, पर्यटक आगमनको संख्यामा केही वृद्धि भएको भए पनि प्रतिपर्यटकको नेपालको सरदर बसाइ अवधिमा भने कमी आएको देखिन्छ । सन् २०१५ मा प्रतिपर्यटकको सरदर बसाइ अवधि १२ दशमलव आठ प्रतिशत दिन रहेकोमा २०१६ मा आइपुग्दा १३ दशमलव चार प्रतिशत दिन पुगेको थियो । तर, सन् २०१७ को तथ्यांकमा प्रतिपर्यटक औसत बसाइ अवधि १२ दशमलव छ दिन रहेको छ जुन अघिल्ला दुईवटै वर्षको तुलनामा कम हो । अर्कोतर्फ, आर्थिक वर्ष २०७३/७४ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएकोमा आर्थिक वर्ष २०७४/७५ को प्रथम आठ महिनाको तथ्यांक हेर्दा पर्यटन क्षेत्रबाट ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दुई तिहाइ अवधिमा नै हासिल भएको विदेशी मुद्राको यो मात्रालाई पनि उत्साहप्रद नै मान्नुपर्छ ।
नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्था हेर्दा एकातिर यसखालको केही आशालाग्दो स्थिति छ भने अर्कोतिर यो क्षेत्र अनेकन चुनौती र समस्याहरुबाट पनि जेलिएको देखिन्छ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका पर्यटकीय गन्तव्य तथा सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणले बितेका तीन वर्षभन्दा बढी अवधिमा पनि ठोस गति लिनसकेको छैन । विनाशकारी भूकम्पका कारण उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाका करिब सात सय ५३ पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुमा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । यी मध्ये एक सय ३३ सम्पदाहरु पूर्णरुपमा क्षतिग्रस्त बन्न पुगेका थिए । विनाशकारी भूकम्पको मार पछिको हालसम्मको तीन वर्षभन्दा बढी अवधिमा क्षति पुगेका सम्पदामध्ये एक सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको तथ्यांक छ । यस हिसाबले क्षतिग्रस्त सम्पदाहरु मध्ये १३ प्रतिशत सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको देखिन्छ । सम्पन्न भएका यी कामहरु पनि तोकिएको समय सीमाभन्दा निकै ढिलो गरी भएका छन् ।
पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा लिई यो क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको दाबी सरकारले गर्दै आएको छ । पर्यटन क्रियाकलापको विकास, विस्तार गर्ने, पर्यटन सेवाको गुणस्तर वृद्धि गर्ने, पर्यटनबाट विदेशी मुद्राको आर्जन बढाउने तथा रोजगारीका अवसरहरु वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नेलगायतका लक्ष्यहरु यो क्षेत्रबाट हासिल गर्ने अपेक्षा सरकारले राखेको देखिन्छ । राष्ट्रिय पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्ममा २५ लाख २२ हजार पर्यटकको नेपाल भ्रमण गराउने र यो क्षेत्रमा करिब नौ लाख रोजगारीको सिर्जना गर्ने महत्वकांक्षा राखेको देखिन्छ । यद्यपि, सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको भए पनि नेपालको सन्दर्भमा तीव्ररुपमा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्ने, पर्यटन र यससँग प्रत्यक्ष अन्तर्सम्बन्धीत क्षेत्रहरुमा लगानीका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने, पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिको उपयोग गर्ने, स्थानीयस्तरको पर्यटन विकासका लागि नागरिकहरुको क्षमता अभिवृद्धि गर्ने, पर्यटकहरुका लागि नयाँ सम्भावित क्षेत्रहरुको खोजी र विस्तार गर्नेजस्ता कार्यहरु चुनौतीपूर्ण देखिएका छन् । पर्यटन क्षेत्रमा देखिएका यसखालका जल्दाबल्दा चुनौती र यथार्थताहरुका कसीमा आगामी आर्थिक वर्षको बजेटले पर्यटन क्षेत्रलाई गरेको सम्बोधनलाई हेरिनुपर्ने हुन्छ ।
नेपाल सरकारले केही दिनअघि संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा पर्यटन र अन्तर्सम्बन्धित क्षेत्रका विभिन्न विषयहरु समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि कुल १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको सरकारले पर्यटन क्षेत्रमा पाँच अर्ब २० करोड ३४ लाख रकम विनियोजन गरेको छ । जुन कुल बजेटको करिब शून्य दशमलव चार प्रतिशत हाराहारी मात्रै रहेको छ । बजेट वक्तव्यमा पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन, मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटन पूर्वाधारको निर्माण, बजार प्रवद्र्धन र विस्तार गरिने तथा आगामी दुई वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरी भिजिट नेपाल २०२० अभियान सञ्चालन गरिने उल्लेख भएको छ । यसैगरी, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तीमा एकसय वटा नयाँ पर्यटकीय गन्तव्यस्थल पहिचान गरी विकास र प्रवद्र्धन गरिने, पहिले देश अनि विदेशको भावनाअनुरुप आन्तरिक पर्यटन प्रवद्र्धन अभियान चलाइने र गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विविधीकरण गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा केही मौसममा मात्र सीमित रहेको हालको पर्यटनलाई बाह्रै माहिना चलायमान बनाइने, नेपाल पर्यटन बोर्डबाट भारत र चीन लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई विशेषरुपमा अघि बढाइने, पर्यटकीय सेवाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्ने जस्ता कार्यक्रमहरु उल्लेख भएका छन् । यसैगरी, नेपाललाई माइस टुरिजम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने, पर्यटन क्षेत्रको सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटलाइट लेखा प्रणालीमा आबद्ध गरिने, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनको प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगलाई परिचालन गरिनेलगायतका विषयहरु संसद्मा प्रस्तुत भएको बजेट वक्तव्यमा उल्लेख भएका छन् । नयाँ बजेटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्ने, लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गरिने, आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिनेलगायतका विषयहरु समेटेको छ । साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यवस्थित गर्न काभ्रेपलाञ्चोक जिल्लामा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सुरु गर्ने तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढाइनेलगायतका उद्घोष बजेट वक्तव्यमा गरिएको छ ।
मोटामोटी रुपमा हेर्दा बजेटमा समावेश भएका पर्यटन एवं हवाई पूर्वाधार क्षेत्रका विषयवस्तुहरु कार्यरुपमा उत्रन सक्ने हो भने आफैंमा महत्वपूर्ण रहेका देखिन्छन् । यद्यपि, पर्यटन क्षेत्रका लागि आगामी आर्थिक वर्षमा अघि सारिएका कतिपय कार्यक्रमहरु अघिल्ला बजेटहरुमा आइसकेका कार्यक्रमहरु नै रहेका छन् भने कतिपय कार्यक्रम अत्यन्तै महत्वाकांक्षी रहेका देखिन्छन् । यसैगरी नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको न्यूनता रहँदै आएको सन्दर्भमा यो पाटोलाई सम्बोधन गर्न नसक्नु, नेपाल साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्नसक्ने पर्याप्त सम्भावना रहँदारहँदै पनि साहसिक पर्यटनलाई बेवास्ता गरिनु, पर्यटकको उच्च संख्याभन्दा गुणस्तरीय पर्यटक भित्र्याउनतर्फ ठोस योजना अघि नसारिनु तथा संघीय संरचनामा पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट मार्गचित्र अघि नसारिनु जस्ता विषयहरुलाई बजेटको कमजोरीका रुपमा लिनुपर्ने हुन्छ । अर्कोतर्फ, आगामी वर्षका लागि पर्यटन क्षेत्रमा विनियोजन भएको बजेटको हिस्सा पनि अत्यन्त न्यून रहेको र यसक्षेत्रमा देखिएका जल्दाबल्दा समस्याहरुको सम्बोधनका लागि पर्याप्त रहेको देखिंदैन ।
हुन त, वार्षिक बजेट तथा सरकारका अन्य नीति एवं कार्यक्रमहरुले कागजीरुपमा पर्यटन क्षेत्रलाई उच्च महत्व दिने गरे पनि यिनको कार्यान्वयन पक्ष सदैव फितलो रहँदै आएको छ । हरेक वर्षका बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता साथ सम्बोधन गरिने तर बजेटले तय गरेका कार्यक्रम र आयोजनाहरुको कार्यान्वयनस्तर अन्यन्त कमजोर रहने नियति मुलुकले लामै समयदेखि भोग्दै आएको छ । बजेट कार्यान्वयनको निराशाजनक स्थितिबाट मुलुकको पर्यटन क्षेत्रले फड्को मार्न र अर्थतन्त्रमा योगदान अभिवृद्धि गर्न सक्दैन । अतः नयाँ बजेटले समेटेको पर्यटन क्षेत्रका कार्यक्रमहरुको सान्दर्भिकता र औचित्य बजेटको सही कार्यान्वयनबाट मात्र पुष्टि गर्न र यसक्षेत्रका समस्याहरुको सम्बोधन गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य

वरिष्ठ नेता रामचन्द्रजी, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरु, सबै जिल्लाका सभापतिजीहरु, संघीय संसद् र...

विकासमा उद्यमशीलताको आवश्यकता किन ?

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संशाधनहरु र...

न्यून पुँजीगत बजेटको पाङ्ग्रामाथि समृद्धि यात्रा

साङ्गीतिक संसारमा सबैभन्दा बढी प्रयोग भएको शब्द हो– माया, प्रेम तर यो शब्दलाई ओली सरकारको समृद्धि शब्दले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै