चिरञ्जीवी आचार्य
पछिल्लो समय एक विवरणले एसियामा अर्बपतिहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको देखाएको छ । चीनमा त झन् तीन सातामा एक अर्बपति निस्किने गरेको पाइएको छ । पछिल्लो विवरणअनुसार संख्यागत हिसाबमा एसियाका अर्बपतिहरुको संख्याले अमेरिकालाई पछि पारिसकेको छ तर रकमको हिसाबमा भने अमेरिका अझै बलियो देखिएको छ । यद्यपि अहिलेको गतिमा अघि बढेको खण्डमा भने अबको केही समयमा रकमको हिसाबमा पनि अमेरिका एसियाभन्दा पछि पर्नसक्ने देखिएको छ । एसियाको क्षेत्र अहिले तीव्र गतिको विकासको क्रममा रहेको छ । विकासको गति तीव्र रहनुको पछाडि औद्योगिक क्षेत्रको विकास प्रमुख कारण रहको देखिन्छ । औद्योगिक क्षेत्रको विकास तीव्र गतिमा हुने गरेको कारण अर्बपतिहरुको संख्या पनि बढ्दै गएको देखिएको हो । केही समयअघि चीनले सार्वजनिक गरेको विवरणमा पनि साना तथा मझौता उद्योगहरुको विकास पछिल्लो पाँच वर्षको अवधिमा उल्लेख्य गतिमा भएको पाइएको थियो । यो विवरणले पनि अहिलेको यो अवस्थालाई इंकित गरेको थियो । साना तथा मझौता उद्योगको विकास जति धेरै भयो, त्यति नै धेरै अर्बपतिहरुको संख्यामा वृद्धि हुने सामान्य हिसाबमा देखिन्छ । यस्तै हिसाबलाई आधार मान्ने हो भने औद्योगिक तथा व्यावसायिक हिसाबमा अमेरिका पछिल्लो समय केही कमजोर बनेको देख्न सकिन्छ ।
अहिलेको विवरणले देखाएअनुसार यसअघि विश्वमा सबैभन्दा बढी अर्बपतिहरु अमेरिकामा रहेको देखिए पनि अहिले एसिया अर्बपतिहरुको संख्यामा अगाडि देखिएको हो । सन् २०१६ को समग्र अवधिमा विश्वका अर्बपतिहरुको सम्पत्तिमा १७ प्रतिशतले वद्धि भएको विवरणले देखाएको छ । बिहीबार यूबीएस ग्रुपले दिएको जानकारीअनुसार अर्बपतिहरुको सम्पत्ति यससँगै ६० खर्ब अमेरिकी डलरमा पुगेको पाइएको हो ।
यूबीएसको विवरणअनुसार सन् २०१६ मा देखिएका अर्बपतिहरुमा एसिया अगाडि रहेको देखिएको हो । एसियामा सबैभन्दा बढी धनी मानिसहरु चीनमा बस्ने गरेको देखिएको हो । चिनियाँ अर्बपतिहरुको संख्या उल्लेख्य रहेको देखिए पनि सम्पत्तिको हिसाबमा भने सबैभन्दा बढी अर्बपतिहरुको सम्पत्ति अमेरिकामा रहेको छ । अमेरिकी अर्बपतिहरुको सम्पत्ति २८ खर्ब डलर रहेको विवरणले देखाएको छ । २०१५ मा अमेरिकी अर्बपतिहरुको सम्पत्ति करिब २४ खर्ब डलर रहेको थियो । सोही अवधिमा १५ खर्ब डलरको अर्बपति रहेको एसियामा सन् २०१६ मा २० खर्ब डलर पुगेको छ । युरोपमा अर्बपतिको सम्पत्ति भने अमेरिका र एसियाको तुलनामा निकै कम रहेको छ । युरोपका अर्बपतिहरुको संख्या अहिले १३ खर्ब डलर पुगेको छ । अर्बपतिहरुको समग्र सम्पत्तिमा गएको वर्ष समग्रमा दोब्बरले वृद्धि भएको पाइएको थियो । साथै विश्व बैंकको सम्पत्तिको वृद्धिको सूचकमा पनि आठ दशमलव पाँच प्रतिशतको वृद्धि भएको पाइएको हो । एसियाको आर्थिक हिसाबमा हेर्ने हो भने दैनिकरुपमा एक जना नयाँ अर्बपति निस्किने गरेको विवरणले देखाएको छ । अहिलेको गतिलाई कायम राख्न सकेको खण्डमा एसियाले अबको चार वर्षमा अमेरिकालाई सम्पत्ति सञ्चयको हिसाबमा पछि पार्नसक्ने देखिएको हो ।
यो विवरण विश्वका १५५० अर्बपतिहरुको सम्पत्तिको आधारमा तयार पारिएको हो । एसियामा तीव्र गतिमा अर्बपतिहरुको संख्यामा वृद्धि हुनुमा भने चीनको फरक क्षेत्रको लगानी मुख्य कारण रहेको बताइएको छ । फरक स्रोतको पुँजीको कारण चीनमा अर्बपतिहरुको संख्या बढ्दो क्रममा रहेको विश्लेषकहरुले बताएका छन् । विश्लेषकहरुका अनुसार अहिले चीनमा नयाँ राष्ट्रपतिको रुपमा सी जिन पिङको आर्थिक नीतिको प्रभाव पनि चीनमा परेको हो । चीन र भारतबाट आएका पछिल्लो नौ महिनामा एक सय १७ अर्बपतिहरु थप भएको विवरणले देखाएको छ । विवरणमा उल्लेख भएअनुसार यससँगै दुई मुलुकहरुमा अर्बपतिको संख्या छ सय ३७ पुगेको छ ।
अहिले देखिएको विवरणअनुसार आफैं अर्बपति हुने मानिसहरुको सम्पत्ति पारिवारिक हिसाबमा अर्बपति हुनेको तुलनामा उल्लेख्य गतिमा वृद्धि भइरहेको देखिएको छ । यो अवधिमा अमेरिकामा भने केवल २५ अर्बपतिहरु थपिएका छन् । यससँगै अमेरिकामा अर्बपतिहरुको संख्या पाँच सय ६३ पुगेको छ । चीनमा भने प्रत्येक तीन सातामा एक अर्बपति निस्किने गरेका छन् । पछिल्लो समय चीनमा पहिलो पुस्ताका कम्पनीहरु आफ्नो लगानी बढाइरहेको र व्यापारिक विस्तारको क्रममा रहेको कारण अर्बपतिको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको पाइएको हो ।
यस वर्ष विश्वका प्रमुख पाँच सय धनी मानिसहरुले आठ खर्ब २४ अर्ब डलरबराबरको सम्पत्ति थप गरेका थिए । यो नतिजा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले वृद्धिको नतिजा हो । उनीहरुको समग्र सम्पत्ति करिब ५२ खर्ब रहेको छ । यो विवरणले अर्बपतिहरुको संख्यामा वृद्धि भएको मात्र देखाएको छ तर कति मानिसहरु गरिबीको रेखामुनि रहेका छन् भन्ने विषयमा भने कुनै विवरण सार्वजनिक भएको छैन । यो नतिजालाई हेर्ने हो भने गरिब मानिहरु थप गरिब र धनी मानिसहरु थप धनी बन्दै जाने प्रवृत्ति भने रोकिने संकेत छैन । धनीहरुको सम्पत्तिमा जुन किसिमको वृद्धिदर हासिल भएको देखिएको छ, त्यसै किसिमको गिरावट गरिब मानिसहरुको सम्पत्तिमा देखिएको छ । यसले आगामी दिनमा सम्पत्तिको असन्तुलनलाई बढाउने स्पष्ट देख्न सकिन्छ ।
अहिले एसियामा पनि सबैभन्दा बढी अर्बपतिको संख्या चीनमा रहेको देखिएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बोकेको मुलुकमा सबैभन्दा बढी अर्बपतिहरु भएको मुलुक बन्नु र चीन दोस्रोमा आउनुले पनि मुलुकको अर्थतन्त्रको प्रत्यक्ष सम्बन्ध अर्बपतिको संख्यामा रहेको देखिन्छ । चीन अहिले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने दिशामा अघि बढिरहेको छ । यो हिसाबमा अहिले अर्बपतिहरुको संख्या चीनमा बढिरहेको विवरणले चीन वास्तवमै अमेरिकालाई चुनौती दिने अवस्थामा देखिएको हो । भारतमा पनि पछिल्लो समय अर्बपतिहरुको संख्यामा वृद्धि भइरहेको देखिए पनि चीनको अगाडि भने उसको अर्बपतिको संख्या कमजोर रहेको देखिन्छ । विकासको मामिलामा पछिल्लो समय भारत पनि संघर्ष गर्दै गरेको अर्बपतिहरुको संख्यामा देखिएको वृद्धिले देखाएको छ ।
चीन र भारतमा अर्बपतिको संख्यामा उल्लेख्य वृद्धि भइरहँदा उनीहरुको आर्थिक क्षेत्रमा पनि सुधार भइरहेको देखिएको छ तर यिनै मुलुकहरुको बीचमा रहेको नेपालको आर्थिक अवस्था भने निकै कमजोर रहेको छ । अबका दिनमा नेपालले पनि छिमेकी मुलुकबाट केही सिक्नु जरुरी रहेको छ । जनमञ्च साप्ताहिकबाट