वास्तवमा लोकगीत भनेको लोक जगत्मा अभिव्यक्त भावना हो । यसले पुराना पुस्ताले अँगालेका लोक भावनालाई जस्ताको तस्तै गरेर अथवा लोक भावना नमर्ने गरेर अभिव्यक्त गर्ने लयात्मक अभिव्यक्ति हो । तर वर्तमान अवस्थामा नेपाली लोकदोहोरी क्षेत्रमा विकृत भावना पैदा भएको छ भने लोक तथा दोहोरी गीतको वास्तविक अर्थ नबुझिकनै हचुवाको भरमा लोकगीत र दोहोरी गीत भनेर कोठामा बसेर बनाउने र वास्तविक लोकदोहोरीको मर्म नै भाँच्ने गरेको पाइएको छ । यस्तै अवस्थालाई मध्यनजर गरेर नेपाली लोकदोहोरी क्षेत्रमा लागेका केही कलाकारहरु पनि अचेल सचेत बन्न थालेका छन् । त्यसमध्ये एउटा हुन् लोकदोहोरी गायिका सुधा थापा । स्याङ्जाको गल्याङ नगरपालिका–७ वर्दलाममा भविलाल र नैेनकला रानाको सन्तानको रुपमा जन्मेर विगत लामो समयदेखि बेलायतलाई आफ्नो कर्मथलो बनाउँदै आएकी सुन्दर लोक तथा दोहोरी गायिका सुधा हुने बिरुवाको चिल्लो पात भनेजस्तै सानैदेखि गाउने, नाच्ने गर्थिन् भने स्कुलमा हुने लोकगीत प्रतियोगितामा उनी जहिले पनि प्रथम हुने गर्थिन् । उनै प्रतिभावान कलाकार सुधासँग यस जनमञ्च साप्ताहिकका रङ्गमञ्च स्तम्भकार रामप्रसाद पाठकले गरेको समसामयिक गीतसंगीतका बारेमा भलाकुसारीको संक्षिप्त अंश :
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
नेपाली लोकदोहोरी गीतसंगीतलाई नजिकबाट अध्ययन गरिरहेकी छु । पहिले पनि यही क्षेत्रमा लागेको र धेरै समयपछि यही क्षेत्रमा आएकोले पनि मलाई यही क्षेत्रमा अगाडि बढ्न सजिलो भएको छ ।
गीतसंगीतमा कहिलेदेखि लाग्नुभयो ?
गीत गाउने, नाच्ने त म सानैदेखि गर्थें, स्कुलका हरेक लोकगीत प्रतियोगिताहरुमा म सहभागी भएर पुरस्कृत समेत हुन्थें । तर औपचारिक रुपमा यस क्षेत्रमा लागेको त धेरै भाको छैन । तीन वर्षपहिले मिलन लामा दाइसँग फूर्के डोरी नामक लोकदोहोरी गीत रेकर्ड गराएर औपचारिक रुपमा यस क्षेत्रमा प्रवेश गरेकी हँु । यसमा प्रकाश कटुवालको लय र शव्द विनोद ढकालको रहेको छ ।
त्यसपछि फेरि अर्को लोकदोहोरी गीत पनि त रेकर्ड गर्नु भयो नि ?
यसपालि एक नारायण भण्डारीको लय तथा शब्दमा मेरो र रामजी खाँणको आवाजमा तिम्रो मनको डुंगा सलल बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छु ।
यी गीतहरुको दर्शक, श्रोता प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
एकदम राम्रो प्रतिक्रिया पाएकी छु ।
अरु कलाकारहरुले त एउटा गीत रेकर्ड गरेपछि आफूलाई व्यस्त कलाकारको सूचीमा राखेर प्रचारबाजी गरेको देखिन्छ तर तपाईं भने मौन रहनुहुन्छ किन ?
हेर्नुस् मलाई पनि कार्यक्रमका अफर नआएका होइनन् । अमेरिका जापानबाट पनि कार्यक्रममा आउनुप-यो भनेर अफर आएका थिए तर म त्यसरी जान चाहिनँ या मेरो आफ्नै कारणले गइन भनौं ।
अब फेरि अर्को गीत गर्ने योजना छ कि ?
अब केही समयपछि फेरि गर्नुपर्ला नि केवल निरन्तरताका लागि ।
अहिले नेपाली लोकदोहोरी गीतसंगीतको व्यावसायिकता कस्तो देख्नुहुन्छ ?
कस्तो भनौं र खोइ ? एकदम धाराशायी भएको छ । यसमा लगानी गरेर फलको आशा राख्नु व्यर्थ छ ।
तपाईंको विचारमा लोकदोहोरी गीत कस्तो हुनुपर्छ ?
वास्तवमा भन्नुपर्दा लोकदोहोरीमा लोकको सुगन्ध आउनुपर्छ अनि बल्ल त्यो लोकदोहोरी गीत हुन्छ जस्तो लाग्छ ।
तपाईं धेरै वर्ष विदेशमा बस्नुभयो । विदेशमा नेपाली लोकदोहोरी गीत कत्तिको सुन्ने गरिन्छ ?
एकदम सुनिन्छ । नेपालमा भन्दा पनि विदेशमा नेपाली लोकदोहोरी गीत बढी सुनिन्छ । बढी माया हुन्छ ।
तपाईंले यस क्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
सबैभन्दा पहिला त मेरो बाबा भविलाल राना मेरो यस क्षेत्रको प्रेरणाको स्रोत हुनुहुन्छ । त्यसपछि मेरा आदरणीय गुरुलाई पनि सम्झन चाहन्छु जस्ले मेरा हरेक कलाकारिताका पाइलालाई घच्घच्याइरहेर साथ दिनुभयो ।
तपाईंको परिवारमा यस क्षेत्रमा लागेको कोही हुनुहुन्छ कि ?
कोही पनि छैन ।
गीतसंगीतबाहेक तपाईंको अन्य रुचि केमा छ ?
गीतसंगीतबाहेक समाजसेवामा पनि रुचि छ । मेरो जन्मघर नजिकै एउटा दलित वस्ती छ । धेरै अरु ठाउँमा बिजुली आए पनि त्यस ठाउाँ बासिन्दा अँध्यारोमै बस्न बाध्य थिए र मैले त्यस ठाउँमा आर्थिक सहयोग गरेर बत्तीको प्रबन्ध मिलाइदिएँ । यस्तै भूकम्प जाँदाको अवस्थामा पनि पीडितलाई विभिन्न किसिमको सहयोग गरियो । यस्तै भविष्यमा राजनीतिमा लाग्ने विचार पनि गरेकी छु हेरौं समयले कत्तिको साथ दिन्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
सबैभन्दा पहिला त मेरो मनभित्र छटपटिएका भावनालाई यस जनमञ्च साप्ताहिकमार्फत अभिव्यक्त गर्ने अवसर दिनुभएकोमा तपाईं गायक तथा पत्रकार दाजु रामप्रसाद पाठक र यस जनमञ्च परिवारप्रति हार्दिक आभार प्रट गर्न चाहन्छु ।