logo

राज्यको कमजोरीले खाद्यान्नमा परनिर्भर भएका हौं

हिरामणि पौडेल ‘सुवास’ स्याङ्जाका एक युवा कृषि उद्यमी हुन् । आँघीखोला गाउँपालिका– ३ विचारी चौताराका पौडेलले स्याङ्जाकै फेदीखोला गाउँपालिका– २, चनौटेमा र काठमाडौंमा तरकारी खेती तथा गाई पालन गर्दै आइरहेका छन् । उनै पौडेलसँग आर्थिक राष्ट्रिय दैनिकका संवाददाता चन्द्रबहादुर नेपालीले गरेको कुराकानीको संक्षिप्त अंशः


नेपाल कृषिप्रधान देश हो तर पनि वर्षेनी अनेकौं खाद्यान्न भारत एवं अन्य मुलुकबाट आयात गर्नु परिरहेको छ । यसलाई रोक्ने कसरी ?
वास्तविकता जे भए पनि तथ्यांक अनुसार नेपालको दुई तिहाइ जनसंख्या कृषिमा संलग्न छन् । नामअनुसारको काम नभएको हुँदा तरकारी, दूध, माछामासु तथा दाल, चामल, मकै, कोदो, प्याज, लसुन, अदुवालगायत अनेकौं खाद्यान्न भारत एवं अन्य मुलुकबाट आयात गर्नु परिरहेको छ । यसको प्रमुख कारण कृषि क्षेत्रको आधुनिकीकरण नहुनु हो । नेपालमा कृषि उत्पादनका लागि उचित हावापानी, माटो र जनशक्ति उपलब्ध छ । तर, नेपालले कृषिजन्य उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकेको छैन । कृषिलाई राज्यद्वारा संरक्षित कृषिका रुपमा अगाडि बढाएर आधुनिकीकरण गरियो भने मात्र आयात गर्नुपर्दैन ।


तपाईँको अनुभवले नेपाल किन खाद्यान्नमा परनिर्भर हुनुपरेको ?
यसमा प्रमुख कमजोरी राज्यपक्षकै देखिन्छ । अल्पकालीन र दीर्घकालीन कृषि नीति बनाएर युवा जनशक्तिलाई स्वदेशमै कृषि पेसामा संलग्न गराउनुपर्छ । नेपालको कुल जनसंख्याको एक तिहाइ जनसंख्या विदेशमा आफ्नो श्रम बेच्न बाध्य छ । उनीहरूले विदेशी भूमि सिँगारिरहेका छन् र विकसित बनाएका छन् । काम गर्न सक्ने युवा जति सबै विदेशमा भएपछि कृषि उत्पादन घट्नु स्वाभाविक हो । अर्काेतर्फ नेपालको कृषिमा व्यवसायीकरण हुन सकेको छैन । व्यावसायिक कृषि योजना बनाएर कृषि उत्पादनमा वृद्धि गर्न नसक्दा नेपाल खाद्यान्नमा परनिर्भर हुनुपरेको छ ।


कृषिलाई व्यवसायीकरण गर्न के गर्नुपर्छ र यसबाट कसरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ ?
कषिलाई व्यवसायीकरण गर्न उत्पादनको वास्तविक लेखाजोखा र बजारीकरणलाई पहिलो र आधारभूत शर्तको रुपमा लिनुपर्छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रुपान्तरण गर्नुपर्छ । कृषि क्षेत्रको व्यवसायीकरण गर्दै कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन र लागत न्यूनीकरण गर्न कृषि यान्त्रिकीकरणको जरुरत पर्दछ । कृषि यन्त्रको प्रयोगले उत्पादन, उद्योग र बजारीकरणलाई सहज बनाउँदछ ।


नेपाल जस्तो भौगोलिक अवस्थिति रहेको मुलुकको कृषिमा यान्त्रिकीकरणको सम्भावना कत्तिको रहेको छ ?
नेपालका अधिकांश भू–भाग पहाडी र विकट भएकोले कृषिमा यान्त्रिकीकरण गर्न कठिनाइ परेको छ । ग्रामीण भेगमा पूर्वाधारको अभाव र ऊर्जा संकट आदिका कारण बाधा पुगेको छ । मर्मत सम्भारमा पनि समस्या छ । स्वदेशमै उत्पादन गर्ने कारखाना छैन । कृषि प्रयोजनका यन्त्रहरू अन्य कार्यमा प्रयोग गरिएका छन् । कृषि यान्त्रिकीकरणसम्बन्धी अनुसन्धान, विकास र प्रवद्र्धनको लागि दक्ष जनशक्तिको अभाव छ । उपर्युक्त र गुणस्तरीय कृषि यन्त्र र उपकरणका सम्बन्धमा किसान र उद्यमीहरूमा पर्याप्त ज्ञानको अभाव छ । उनीहरूको त्यसमा पहुँच पुगेको छैन । देशको कृषि यान्त्रिकीकरणमा विविध समस्याहरू रहे पनि भौगोलिक अवस्थिति सुहाउँदो यन्त्रहरूको प्रयोग गरी कृषि क्षेत्रमा उत्पादकत्व बढाउन र श्रम लागत घटाउन आवश्यक छ ।


युवा वर्गलाई कृषि कर्मतर्फ आकर्षित गर्न राज्यले के गर्नुपर्छ ?
मुख्यतः परम्परागत कृषि प्रणालीकै कारणले कृषि व्यवसायप्रति युवा वर्गको आकर्षण घट्दो छ । युवा वर्गलाई कृषि पेसातर्फ आकर्षित गर्न समयानुकूल व्यवसायीकरण गर्नुपर्छ । परम्परागत कृषि प्राणालीले मानिसलाई टुक्रे मानसिकता र गुजारा चलाउने अवस्थामा सीमित बनाएको छ ।


हाम्रा कृषि उत्पादनलाई अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन के–के गर्नुपर्छ ?
अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन कृषिजन्य वस्तु उत्पादनका लागि राज्यले पर्याप्त रकम अनुदान दिनुपर्छ । यथेष्ट प्रविधि र प्राविधिकहरूको व्यवस्था गरिनुपर्छ । नेपाली उत्पादन नेपालमा भइञ्जेल बाहिरको उत्पादन ल्याउने प्रक्रियालाई रोक्नुपर्छ । किसानलाई छुट्याइएको बजेट, अनुदान तथा सुविधाहरू वास्तविक किसानसमक्ष पु¥याउन सक्नुपर्छ ।


तपाईं कृषि व्यवसायमा लागिरहनु भएको छ । यो व्यवसायमा भविष्यको सुरक्षाको सुनिश्चितता छ त ?
कृषि व्यवसायमा भविष्यको सुरक्षाको सुनिश्चितता गर्न भनेरै लागिरहेको छु । हेरौं, समय र परिस्थितिले कत्तिको साथ दिन्छ । राज्यको स्पष्ट दृष्टिकोण र दूरदर्शिता भयो भने कृषि क्षेत्रको विकास सम्भव हुन्छ ।


कृषिमा एकल लगानी गरेर सफलता हात पार्न सकिन्छ ?
अहिलेको परिस्थितिमा एकल लगानी गरेर सफलता सम्भव छैन । किसान वा कृषि उद्यमीलाई राज्यले अनुदानका साथै प्राविधिक सहयोग नगर्ने हो भने सफलता प्राप्त गर्न मुस्किल हुन्छ ।


नेपालमा खेती गर्नेसँग जग्गा छैन तर नगर्नेहरूसँग प्रशस्त छ । यो अन्तर्विरोधलाई कसरी हल गर्न सकिन्छ ?
नेपालको कुल क्षेत्रफलको २७ प्रतिशत खेतीयोग्य जमिनमध्ये हाल २१ प्रतिशतमा मात्र खेतीपाती हुँदैछ । त्यसमा पनि खेतीयोग्य जमिनको खण्डीकरण गरी घरघडेरी बनाउने क्रम जारी छ । कृषियोग्य जमिन गैरउत्पादनमा परिणत भएकोले आयात बढ्न गएको छ । आयात बढ्नु भनेको देशभित्रको उत्पादनमूलक अर्थतन्त्र कमजोर हुनु हो । खेती गर्ने किसानलाई मागबमोजिमको जग्गा राज्यले व्यवस्था गर्नुपर्छ । भूमिउत्पादन सम्बन्धको दृष्टिकोणले भूमिमाथिको स्वामित्व प्रणालीमा आमूल परिवर्तन गर्नु महत्वपूर्ण विषय हुन्छ । यसो नगरीकन यो समाज र उत्पादन सम्बन्धलाई रुपान्तरण गर्न सकिंदैन । एकातिर भूमिमा श्रमपसिना बगाउनेको साथमा भूमिमाथि स्वामित्व छैन भने अर्काेतिर भूमिमाथि स्वामित्व हुनेले भूमिमा श्रमपसिना बगाउँदैन । यो अन्तर्विरोधपूर्ण स्थितिको अन्त्य गर्नु जरुरी छ । यो स्थितिको अन्त्य गर्न वैज्ञानिक भूमिसुधार कार्यक्रमको सुरुवात गर्नुपर्छ ।


कृषि पेसालाई मर्यादित र दिगो बनाउन के–के गर्नुपर्ला ?
नेपालको आर्थिक वृद्धिदरको निर्धारण मुख्यतः कृषि क्षेत्रकै उत्पादनमा भर पर्ने गरेको छ । रोजगारीको दृष्टिबाट हेर्दा पनि हालसम्म कृषि क्षेत्रकै उल्लेखनीय योगदान रहेको छ । किसानले आफ्नो श्रमअनुसारको मूल्य पाउने व्यवस्था हुनुपर्छ । उत्पादनले बजारमा उचित मूल्य पाउनुपर्छ । उत्पादनको सुरक्षाको सुनिश्चितता पनि हुनुपर्छ । यी सबै कुरालाई व्यवस्थित गर्ने दायित्व राज्यकै हो । कृषि पेसालाई मर्यादित र दिगो बनाउन कृषिमा संलग्न किसानहरूलाई त्यसैमा रमाइराख्ने वातावरण बनाउनु आवश्यक छ ।


तपाईंले उत्पादन र बजारीकरणको काम कसरी गरिरहनु भएको छ ?
स्याङ्जामा पवित्रा कृषि फार्मको नामबाट मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको छ । २२ रोपनी जग्गा भाडामा लिएर गोलभेँडा, करेला, घिरौंला, लौका, फर्सी, काँक्रोलगायतका तरकारीको व्यावसायिक खेती गर्दै आइएको छ । ६९ वटा आइरन टनेलमा तरकारी खेती छ । करिब एक करोड रुपैयाँ फार्ममा लगानी भएको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट २२ लाख रुपैयाँ अनुदान सहयोग प्राप्त भएको छ । चार जना कामदारलाई नियमित रोजगार उपलब्ध गराइएको छ । हामीले आफ्नो उत्पादन आफैं बिक्री गर्ने गरेका छौं । बजार राम्रो छ । उत्पादन गर्न सकियो भने बजारको समस्या छैन ।


कृषि व्यवसायमा लाग्नुभन्दा अगाडिको तपाईंको पृष्ठभूमिका बारेमा केही बताइदिनु हुन्छ कि ?
मेरो परिवार सामान्य किसान परिवार नै हो । सानैदेखि कृषिमै मेरो पनि दिनचर्या बित्यो । केही वर्ष सशस्त्र आन्दोलनमा संलग्न भइयो । त्यसपछि कृषि पेसालाई व्यावसायिक रुप दिएर अगाडि बढाउनुपर्छ भन्ने सोचअनुसार कृषि कर्म गर्दैछु । हामी जस्ता युवाहरूले बेलैमा व्यावसायिक सोच बनाउनु जरुरी छ । राष्ट्र निर्माण गर्ने युवा जनशक्ति नै देशबाहिर भएपछि देशको विकास पछाडि पर्नु स्वाभाविक हो । देशमा उपलब्ध स्रोत, साधन र जनशक्तिको उचित परिचालन र चुस्त व्यवस्थापनबाट मात्र समृद्धि प्राप्त हुने हो ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै