logo

वडा कार्यालयहरुको पनि जिम्मेवारी बढेको हुँदा समन्वयको काम बढी गर्नुपर्ने हुन्छ

श्रीकृष्ण नेपाल हाल देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुन् । स्पष्ट सोच र कार्यशैली भएका नेपालले विभिन्न मन्त्रालयअन्तर्गत मातहतका कार्यालयहरुमा कार्य गरेर निजामती सेवाको बारेमा राम्रै अनुभव सँगालेका छन् । २०४१ सालदेखि २०५३ सालसम्म १२ वर्षभन्दा बढी शिक्षण पेसा गरेका उनले २०५३ सालमा खरिदारबाट प्रशासनिक क्षेत्रको प्रवेशसँगै क्रमशः नासु, अधिकृत हुँदै २०७२ सालमा उपसचिवमा बढुवा भएका हुन् । निजामती सेवाअन्तर्गत सबैभन्दा धेरै सहकारी विभागअन्तर्गत रहेर काम गरेका नेपालले विकास निर्माणका कार्यहरुको साथै उत्पादनमूलक क्षेत्रहरुको वृद्धि विकासमा सहकारी तथा सहकार्य शैली अपनाए छिटो र राम्रो प्रतिफल प्राप्त हुने कुरामा विशेष जोड दिने गरेका छन् । उनै श्रीकृष्ण नेपालसँग नगरपालिकाको समसामयिक विषयमा रहेर पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

विकास निर्माणको दृष्टिकोणले देवदह नगरपालिका के –कस्ता सम्भावना भएको नगरपालिका हो ?
गौतम बुद्धको मावली स्थल र कोलीय राज्यको राजधानी देवदहको नामबाट नामाङ्कित देवदह नगरपालिकाको कुल क्षेत्रफल एक सय ३६ दशमलव ९५ प्रतिशत वर्ग कि.मि. रहेको छ । ५३ हजारभन्दा बढी जनसंख्या रहेको नगरपालिकामा कृषि, उद्योग कलकारखानाहरुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सक्ने पर्याप्त मात्रामा सम्भावनाहरु पनि छन् । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण मात्र नभएर नगरपालिकामा पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु हुनाले आध्यात्मिक नगरको रुपमा विकास गर्न सकिने आधारहरु पनि उत्तिकै छन् । उत्पादनमूलक क्षेत्र कृषि, पर्यटन क्षेत्रका लागि आवश्यक विकास गरी औद्योगिक क्षेत्र निर्माण गर्न सकेमा यहाँका जनताका आय–आर्जनमा वृद्धि भई युवाहरुलाई रोजगारीको लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनेहुँदा यसरी पर्याप्त मात्रामा स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने सम्भावनाको कारणले गर्दा नगरपालिकालाई विकास निर्माणको दृष्टिकोणमा उर्वर नै मान्नुपर्छ ।

विद्यमान समयमा नगरपालिकामा के–कस्ता समस्याहरु छन् ?
लामो समयको अन्तरालपछि स्थानीय तहमा रिक्त पदहरु भरिएका छन् । जसले गर्दा विगतमा हुन नसकेका र भविष्यका लागि आवश्यक धेरै विकासका पूर्वाधारहरु तयार गरेर योजनाबद्ध रुपमा काम गर्न बाँकी नै छ । जनप्रतिनिधि नहुँदा सर्वदलीय प्रणालीअन्तर्गत विकास निर्माणका निर्णयहरुमा आपसी असमझदारीको कारणले जुन रुपमा विकास हुनुपथ्र्यो त्यो रुपमा हुन नसक्दा समयको मागअनुसार विकास निर्माणका कामहरु हुन सकेनन् । विकास निर्माणका गतिविधिहरु हुन नसक्दा नयाँ जोस जाँगर भएको युवाशक्ति विदेशिनुपर्ने बाध्यात्मक स्थितिको सिर्जना हुँदा अहिले ज्यूँदाको जन्ती र मर्दाको मलामीको लागि किशोर अवस्था मुनिका केटाकेटी, वृद्धवृद्धा र महिला मात्रै बढी भएकोले विकास निर्माणमा पनि ठूलो बाधा पारेको छ । त्यसबाट अछुतो यो नगरपालिका पनि हुन सकेको छैन । त्यसैगरी आवास तथा भूमिको वैज्ञानिक ढंगले उपयोग नहुनु, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि आवश्यक रकम लगानी हुन नसक्नुलगायतका अन्य केही कुराहरु नगरपालिकाका प्रमुख समस्याहरुको रुपमा देखिएका छन् । जुन समस्याहरुलाई नगरपालिकाले प्राथमिकताको आधारमा योजनाबद्ध रुपमा गर्ने जमर्को गरेको छ ।

चालू आर्थिक वर्षमा नगरपालिकामा के–कति कामहरु भए ?
चालू आर्थिक वर्षमा बजेट विनियोजन भएमध्येका अधिकांश योजनाहरु सम्पन्न भइसकेका छन् । त्यसैगरी बहुउद्देश्य भवनको ई–टेण्डरको प्रक्रिया र वडा कार्यालय निर्माणको लागि प्रक्रिया अगाडि बढी सकेको छ । केही ठूला योजनाहरु बाहेक अधिकांश योजनाहरुको सम्झौता भइसकेको छन् । सडक मर्मत, ग्राभेल र कालोपत्रेलगायत नगरपालिकाले वार्षिक योजनामा पारेका अन्य धेरै कामहरु सम्पन्न भएर भुक्तानी पनि भइसकेको अवस्था छ ।

चालू आवको चांैथो त्रैमासिक भनेको रकमान्तर गर्ने समय पनि हो । यो समयमा नगरपालिकाले तोकिएको क्षेत्रमा विनियोजन गरेको बजेटमा रकमान्तरको अवस्था कस्तो छ ?
नगरसभाबाट स्वीकृत वार्षिक कार्यक्रमहरुलाई मात्र हामीले भुक्तानी दिने हुँदा नगरसभाबाट स्वीकृत योजनाहरु सम्पन्न गराउने र भुक्तानी दिने गरेका छौं । यसरी नगरपालिकाको नगरसभाले स्वीकृत गरेका केही योजनाहरुको मात्र रकमहरु रकमान्तर गर्नु परेको छ । रकमान्तर अधिकांश दोहोरिएका योजनाहरुबाट भएको छ । केही शीर्षमा दोहोरिएका योजनाहरुलाई परिवर्तन गरेर प्राथमिकताको आधारमा अर्को आवश्यक योजनामा लगाएका छौं । जसको कारणले रकमलाई निष्क्रिय रुपमा राख्नुपर्ने अवस्था आएको छैन ।

यसरी रकमान्तर गर्नुपर्ने गरी योजनाहरु बनाइदा यहाँहरुको प्रशासकीय तथा व्यवस्थापकीय कमजोरी देखियो नि हैन र ?
त्यस्तो होइन । साविककमा नगरपरिषद्ले स्वीकृत गरिसकेका योजनाहरु पुनर्निर्वाचित जनप्रतिनिधि आएर नगरसभा गर्दा साविकका योजनाहरुलाई जस्ताको तस्तै वडाहरुमा सञ्चालन गर्ने । त्यसपछि बाँकी थप योजनाहरु ल्याएर नगरको विकास निर्माणको काम गर्ने भनेकोमा केही योजनाहरु दोहोरिएको हुँदा मर्ज गरेर योजनाहरु सञ्चालन गरेका छौं ।

चालू आवमा नगरपालिकाको बजेट बाँडफाँडको कसरी गर्नुभएको थियो र त्यो बजेटभित्रका काम सम्पन्न हुने÷नहुने अवस्था कस्तो छ ?
स्थानीय विकास मन्त्रालयअनुसार हामीले साविकको नगरपरिषद्बाट लक्षित वर्ग त्यसपछि प्रवद्र्धन कार्यक्रमहरु र भौतिक योजना, ठूला पूर्वाधारका योजनाहरु यथावत् राखेर त्योदेखि माथि मन्त्रालयले दिएको ढाँचाअनुसार तोकिएका क्षेत्रहरुमा रकम विनियोजन गरेर खर्च गरेका छाँै । जहाँसम्म योजना सम्पन्नका कुराहरु छन्, नगरपालिकामा साना प्रकृतिका योजनाहरु धेरै छन् । ५० हजार सेरोफेरोका योजनाहरु धेरै हुँदा त्यस्ता साना प्रकृतिका योजनाहरुको सम्झौता र भुक्तानी दिने काम सकिएको छ । मझौला र ठूला योजनाहरुमा पनि प्रक्रियाहरु अगाडि बढिसकेका छन् । केही ठूला योजनाहरु एकै वर्षमा सम्पन्न गर्न सक्ने सम्भावनाहरु न्यून रहेको हुँदा ती योजनाहरुलाई बहु–वर्षीय योजना बनाएर कार्य गर्नुपर्ने अवस्था छ । अहिले काम गर्न सकिएन भने रकम फ्रिज हुने अवस्था हुँदैन । काम गर्न नसकेका योजनाहरुको रकमलाई नगरपालिकाको फण्टमा राखेर अर्को वर्ष सोही योजनामा बजेट विनियोजन गरेर योजनाहरु सम्पन्न गर्न सकिन्छ ।


बजेट फ्रिज हुँदैन नगरपालिकाको फण्टमै रहन्छ त्यो एउटा कुरा भयो तर यहाँहरुको कार्यशैलीप्रति प्रश्नहरु उब्जिदै सरकारले नगरपालिकालाई छुट्याएको आगामी आवको बजेटमा वृद्धि नगरी कटौती गरेर दिन पनि त सक्छ नि हैन र ?

चालू आवमा विनियोजित क्षेत्रको केही बजेट खर्च हुन मुख्य कारण के छ भन्नु हुन्छ भने भदौमा मात्र हाम्रो नगरसभा टुङ्गियो । त्यसपछि आएर नगरसभाले स्वीकृत गरेका वार्षिक नीति तथा कार्यक्रमहरु सञ्चालन गर्न हामीलाई पहिलो समस्या भनेको जनशक्तिको अभाव भयो । नगरपालिकाको कार्यालयमा मात्र नभएर वडाहरुमा पनि कर्मचारीको अभाव उत्तिकै छ । अर्को हाम्रो समस्या भनेको नीतिगत समस्या भयो । स्थानीय तहले बनाउने ऐन, नियम, नियमावली, निर्देशिका र कार्यविधिलगायत नीतिगत कुराहरु दोस्रो नगरसभाले मात्र नीतिगत निर्णय गरेको हो । नीतिगत कुराहरु नबनाई कार्य गर्न नसकिने हुँदा हामीलाई काम गर्न अप्ठ्यारो भएको हुँदा यावत् कुराहरु सँग विकास तथा योजनाहरु बीच समयको सन्तुलन मिल्न नसक्दा काममा बाधा उत्पन्न भएको हो । 

देवदह नगरपालिकामा देखिएको एउटा मुख्य समस्या के छ भन्दा यहाँ लालपुर्जाका जग्गाधनीभन्दा लालपुर्जा नभएका जग्गा धनीहरु धेरै छन् । यसमा नगरपालिकाको योजना के छ ?
जग्गाको विषयमा नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरिसकेको छ । हामीले मालपोत र नापी कार्यालयहरु सँग समन्वय गरेर त्यस्ता प्रकृतिका जग्गाहरु प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउने काम पनि गरेका छौं । नक्सामा एक ठाउँ जग्गा देखिने तर फिल्डमा अर्को ठाउँमा हुने समस्या पनि उत्तिकै छ । यी सबै समस्याहरु प्रति आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेर आवश्यक के कस्ता प्रक्रियाहरु अपनाउनु पर्ने हो अपनाएर काम कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायहरुमा पत्राचार गर्नुको साथै नगरपालिका पनि आफ्नो काम कर्तव्य र अधिकारप्रति सजग भएर अगाडि बढेको छ ।

हिजोको गाविस आज नगरपालिका भयो र हिजो जनप्रतिनिधिविहीन आज जनप्रतिनिधिले भरिपूर्ण छ । अनि हिजो अधिकृतले कार्य गरेको ठाउँमा आज उप–सचिव लेभलको अधिकृतको दरबन्दी छ । समयको यो चक्रसँगै हिजो यहाँका सर्वसाधारणले के–कस्ता सुविधा पाएका थिए र आज कस्ता सुविधाहरु पाएका छन् त ?
यसमा निःशन्देह फरक छ । जस्तो हिजोका तुलनामा नेपाल सरकारबाट विनियोजन हुने वार्षिक बजेटको सिलिङ पनि बढेको छ । यसरी बजेट बढ्नु भनेको आवश्यक विकास निर्माण कार्यहरु पनि बढ्दै जानु हो । विकास निर्माणका कार्यहरु बढ्दै जाँदा त्यसको प्रत्यक्ष लाभ यहाँका आम सर्वसाधारणहरुलाई मिल्ने कुरामा दुईमत छैन । नगरपालिकाको बजेटकै कुरामा हामीले हाम्रो प्रत्येक चालू आवमा वडामा न्यूनतम ६४ लाख बजेट विनियोजन गरेका थियौं । दोस्रो नेपाल सरकारको जुन लक्ष्य सिंह दरबारको अधिकार जनताको घरमा नाराप्रति हामी ठ्याक्कै घर दैलोमै सेवा पु¥याउन नसके पनि सर्वसाधारणहरुले सम्बन्धित वडाहरुबाट सेवा सुविधाहरु लिनु भएको जुन सेवा पहिलाभन्दा नजिक र सहज ढंगको छ । यसरी हिजो जिल्लाबाट पाउने सेवा सुविधाहरु आज नगरपालिकाबाट पाउन सकिने हुँदा क्रमशः हिजोभन्दा आज र आजभन्दा भोलि सेवा सुविधाहरु वृद्धि हुँदै गएका छन् ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक र ढलनिकासलगायत जनताका अत्यावश्कीय आवश्यकताहरुको परिपूर्तिको कार्यावस्था कस्तो छ ?
शिक्षा र स्वास्थ्यलगायतका अत्यावश्कीय आवश्यकताको परिपूर्तिको सन्दर्भमा कुरा गर्नुपर्दा सामान्यतया मध्यमस्तर भन्दा केही माथि छ । शिक्षाको लागि नेपाल सरकारबाट शिक्षा अधिकृतको व्यवस्था भएको छ । भर्खरै नगरपालिकाले शिक्षा ऐन पनि पास गरेको छ । त्यसैगरी शैक्षिक पहुँचको लागि निजी तथा सामुदायिक शैक्षिक संस्थाहरु सञ्चालित हुँदै आएका छन् । स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा एउटा मेडिकल कलेज र निजी क्षेत्रबाट खोलिएका क्लिनिकहरुका साथै सरकारी क्षेत्रका स्वास्थ्य केन्द्रहरु पनि छन् । अब छिट्टै एउटा वर्थिङ सेण्टरको पनि सुरुआत गर्दै छौँ । स्वच्छ खानेपानीको लागि पनि खानेपानीका संस्थाहरु खोलिएका छन् । पाइपलाइनमार्फत खानेपानी नपुगेको ठाउँमा हेण्डपाइपमार्फत जमिनमुनिको पानीको उपभोग गरेको अवस्था छ । नगरपालिका भरी स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले केही स्थानहरुमा सम्भावनाहरुको अध्ययन गर्ने काम पनि भइरहेको छ । सडक सञ्जालहरुलाई विस्तार र व्यवस्थित गर्दै ग्राभेल गर्ने, कालोपत्रे गर्ने चौडा पार्नेलगायतका सडक सम्बन्धित कामहरु भइरहेका छन् । सरसफाइको कुरा गर्दा स्थायीरुपमा व्यवस्थापन हुने गरी व्यवस्था हुन सकेको छैन । हाललाई हामीले एक हप्ताको सेडुल बनाएर सेडुलअनुसार जेठ १ देखि १२ वटै वडामा फोहर कलेक्सन गरेर डम्पिङ गर्ने गरिएको छ ।

स्थायी प्रकृतिले फोहर व्यवस्थापन केहीलेसम्म हुन्छ त ?
स्थायी प्रकृतिको फोहर व्यवस्थापनको लागि आवश्यक उचित स्थानको खोजी कार्य भइरहेको छ । उचित स्थान भेटिनसाथ आवश्यक प्रक्रियाहरुको साथ योजनाबद्ध रुपमा अगाडि बढ्छ । फोहर व्यवस्थापनको लागि हामीलाई नेपाल सरकारले नै बजेट उपलब्ध गराउने हुँदा हामीलाई तत्काल आवश्यक डम्पिङ क्षेत्रको अभावले स्थायी प्रकृतिको काम गर्न नसकिएको हो ।

नगरपालिकामा सु–शासनको अवस्था कस्तो छ ?
सु–शासन भनेको जनतालाई दिने सेवा हो । हामी जनतालाई जति सक्दो छिटो छरितो रुपमा सेवा दिएका छौँ । कर्मचारी अभावको कारणले सेवामा केही कठिनाइहरु देखिए पनि कार्यरत कर्मचारीहरुबाट सक्दो सु–शासनको प्रत्याभूति मिल्नेगरी सेवा दिने कुरामा निरन्तर प्रयासरत छौँ । त्यसैगरी नगरपालिकाले दिने सेवाहरु धेरै भएको हुँदा प्रशासनिक भवन बनिसकेपछि हामीले दिने सेवाहरु इलोक्ट्रोनिक्स सिटीजन चार्टर बनाएर नागरिक वडापत्र राखेर सेवा दिने योजनामा छौँ ।

हिजोका दिनमा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्दाको अवस्था र आज त्यो स्थानमाथिका जनप्रतिनिधिसँग काम गर्नुपर्ने अवस्थामा के–कस्तो अन्तर छ ?
हिजो निर्वाचनपूर्व दलीय संयन्त्रमा रहेर विकास निर्माणका विषयमा उहाँहरुसँग राय सल्लाह लिएर त्यतिबेलाको कार्यकारी अधिकृतले जनताको सेवा र विकास निर्माणका कामहरु अगाडि बढाउनुपर्ने अवस्था थियो । र अहिले निर्वाचित जनप्रतिनिधि आइसकेपछि प्रत्येक वडाहरुबाट योजनाहरु छनौट भई आएर एकीकृत योजनाहरु तर्जुमा गरेर बजेट विनियोजन हुने गर्दछ । वर्तमान समयमा वडा कार्यालयको पनि जिम्मेवारी बढेको हुँदा हामीले समन्वयको काम बढी गर्नुपर्ने हुन्छ ।

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
वास्तवमा भन्नुपर्दा जनप्रतिनिधि पनि जनताकै काम गर्नको लागि निर्वाचित हुनुभएको हो भने कर्मचारी पनि जनताकै कामको लागि हो । दुवैका उद्देश्य र कामहरु एउटै भएको हुँदा विवाद उत्पन्न हुने गरी काम गर्नुपर्ने अवस्था हुँदैन । यस विषयमा देवदह नगरपालिकाको कुरा गर्नुपर्दा यहाँ कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध आजसम्म एकदमै सुमधुर छ । प्रत्येक कामहरु जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा हुने गर्दछन् । त्यस्तो मनमुटावको वातावरण सिर्जना हुने कुनै कामहरु भएका छैनन् ।

अन्त्यमा मनमा लागेका केही कुराहरु ?
अहिलेको युग भनेको विकासको युग हो । समयको मागसँगै हामी पनि विकसित हुँदै जान जरुरी छ । दिन÷प्रतिदिन हाम्रा चाहनाहरु पनि समयको मागसँगै चल्ने हुँदा त्यसलाई परिपूर्ति गर्न हाम्रा आम्दानीका स्रोतहरु पनि बढ्नुपर्ने उत्तिकै महत्वपूर्ण छ । त्यसको लागि उत्पादनमूलक क्षेत्रको विस्तार गर्दै आन्तरिक आम्दानीका स्रोतहरु बलियो बनाउनुपर्ने हुन्छ । देवदह नगरपालिकाको कुरा गर्नुपर्दा नगरपालिका पनि सोहीअनुसार चल्नु पर्ने हुँदा विकास निर्माणको सवालमा सहकार्यको अवधारणा अगाडि योजनाबद्ध रुपमा गर्नुपर्छ ।

 

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै