logo

पढाइ खर्च टार्न सभापतिको घरमा भाँडा माझें

नेपालको सुदूरपश्चिममा पर्ने डोटीमा जन्मिएका वासुदेव फुलाराको करिब एक दशक अघिसम्मको विगत खोतल्ने हो भने निकै कहालीलाग्दो छ । उनको बाल्यकालदेखिकै दुःखको कथा सुन्ने जो कोही पनि निकै भावुक बन्न बाध्य हुन्छ । तर, विविधखाले दुःख, संघर्ष र व्यवधान हुँदाहुँदै पनि उनी आफ्नो लक्ष्य–गन्तव्यबाट विचलित नभई निरन्तर अघि बढिरहे । त्यसको फल भने निकै मीठो र उदाहरणीय छ । आर्थिक अभावको कारण अर्काको घरमा भाँडा माझ्नेदेखि साथीको पोसाक लगाएर कलेज जानेसम्मको नियति भोग्न बाध्य फुलाराले हाल सुविधासम्पन्न मुलुक अमेरिकाको महँगो सहर न्युयोर्कको मुटुमा अवस्थित टाइम्स स्क्वायरमा रहेको पारामाउण्ड बिल्डिङमा फुलारा ल फर्म सञ्चालन गरिरहेका छन् । अमेरिकाको ५० वटा राज्यका अतिरिक्त नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायतका इमिग्रेसनसम्बन्धी मुद्दा हेरिरहेका वरिष्ठ अधिवक्ता फुलाराको आम्दानी पनि मनग्य छ । यिनै कुराहरु समेटेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : 


नेपाल र अमेरिकाको कानुनमा के भिन्नता छ ? 

नेपाल र अमेरिकाको कानुनमा निकै भिन्नता पाइन्छ । नेपालमा तहतहका न्यायालय छन् । अधिवक्ता, न्यायाधीशहरू पनि फरक–फरक राजनीतिक आस्था राख्छन् । अनि राजनीतिक दलको प्रभावमा पर्छन् । यतिमात्रै नभएर पछिल्ला दिनमा त न्यायाधीश नै राजनीतिक दलको कोटमा नियुक्त गर्न थालिएको छ । त्यसैले होला, अधिवक्ता, न्यायाधीशहरू आफूले हेरेको मुद्दाप्रति खासै जवाफदेही भएको पाइँदैन । तर, अमेरिकामा कसैको प्रभावमा मुद्दा अगाडि बढ्दैन, न्यायाधीशहरू पनि व्यक्ति वा रकमको प्रभावमा परेर न्यायसम्पादन गर्दैनन् । अमेरिकामा त आफूले हेरेको वा सम्पादन गरेको मुद्दा हारेमा अधिवक्ता, न्यायाधीशले पनि जरिवाना तिर्नुपर्छ ।


तपाईंले नेपालमा बसेर किन काम गर्नुभएन ?

 न्यायपालिकासँग राम्रो सरोकार राख्ने, दक्ष अधिवक्ता वा न्यायाधीशको भविष्य मैले कुनै दृष्टिकोणबाट पनि राम्रो देखिनँ । न सबै पीडितले न्याय पाएको देखेँ, न त आर्थिक रुपमा नै सबल । यसकारण पनि नेपालको न्यायपालिकामा विकृति आएको हो कि जस्तो लाग्छ । त्यसैले मैले हरदृष्टिले आफ्नो भविष्य अमेरिकामा उज्वल देखेँ ।


अनि देशमा लागि तपाईंको योगदान के भयो त ?

 बाहिरबाट यसो हेर्दा म अमेरिका पलायन भएँ कि भन्ने केहीलाई लाग्ला तर, अमेरिका बसेर मैले धेरै नेपालीको पक्षमा वकालत गरेको छु, न्याय दिलाएको छु । त्यसमा आफूलाई गौरवान्वित ठान्छु ।

 
तपाईंको जन्म कुन वर्गीय परिवारमा भएको हो ?

 मेरो जन्म विक्रम सम्वत् २०३१ भदौ २९ गते नेपालको सुदूरपश्चिममा पर्ने डोटी जिल्लाको पचनाली गाउँ पञ्चायत–३ चुडी (हाल आदर्श नगरपालिका)मा भएको हो । गाउँको तुलनामा मेरो जन्म मध्यमवर्गीय परिवारमा भए पनि समग्रमा हामी निम्नवर्गीय हौं । किनभने डोटी र काठमाडौंको कमाइमा निकै अन्तर छ । डोटीमा पाँच सय कमाउँदा काठमाडौंमा पाँच हजार कमिन्छ । अनि डोटीमा १० हजारको जग्गा बेच्न खोज्यो भने किन्ने मानिस पाइँदैन, काठमाडौंमा मारामार हुन्छ ।


बाल्यकाल कस्तो रह्यो ? 

मेरो बाल्यकाल निकै पृथक् र संघर्षमय रह्यो । परिवार ठूलो थियो । जग्गा–जमिन भए पनि मूल्य नहुने । त्यसमाथि पनि हामी ब्राह्मण परिवार । हाम्रो पुर्खादेखि पुरोहितकर्म चल्दै आएकाले खेती–किसान गर्न बन्देज थियो । त्यतिबेला पनि बुबा पण्डित हुनुहुन्थ्यो । आम्दानीको स्रोत भनेको नै पुरेत्याइँ गरेर ल्याएको नगद र अरु सामान हो । यद्यपि, बुबा गाउँको नाम चलेकै पुरोहित भएर होला– जतिसुकै अर्थाभाव हुँदाहुँदै पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भने भइसकेको थियो ।


त्यतातिरको आम्दानीको मुख्य स्रोत के हो ?

 सूदूरपश्चिमको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती र पशुपालन नै हो । तर, विडम्बना हाम्रो परिवार त्यसबाट टाढा थियो । ब्राह्मण परिवार भएकाले हाम्रो जग्गा अरुले नै अधियाँमा कमाउँथे । हामीले खेतबारी जोत्नु हुँदैनथ्यो । पशुपालन पनि हामीकहाँ हुँदैनथ्यो । केवल दूधका लागि र घरायसी प्रयोजनमा गाई पालिन्थ्यो । हाम्रोतिर दूध/दही बेच्ने चलन पनि छैन, त्यसैले त्यसबाट आम्दानी हुने कुरै भएन ।


त्यहाँ कतिपय त निकै धनाढ्य पनि छन् नि, कसरी ?

 सुदूरपश्चिममा पहिलेदेखि नै असमानता छ । कतिपयको जग्गा पहाड र तराई दुवै ठाउँमा थियो । कतिको पहाडमा मात्रै थियो । र त कतिले पहाडमा बेचेर तराईमा जग्गा किने । पहिले महत्वहीन मानिएको तराईपछि विकास भएपछि मूल्य बढ्यो र ती धनाढ्य भए । तर, जो पहाडमा बसिरहे– उनीहरु गरिबको गरिब नै भए ।


पुख्र्यौली आर्थिक पृष्ठभूमि कस्तो थियो ?

हाम्रो पुख्र्यौली पृष्ठभूमिको विषयमा हामी पहिले खान्दानी परिवार रहेछौं । पछि त्यस्तै म ५÷६ कक्षमा पढ्दाबाट जग्गा बेच्न थालियो । त्यो क्रम बढ्दै गयो । त्यसको कारण भनेको सम्हाल्ने मान्छे घरपरिवारमा नहुनु नै हो । जग्गाको मूल्य अत्यन्त कम हुनु त्यसमा पनि भएको बेच्दै जाँदा अन्ततः विपन्नको कित्तामा पुगियो ।
गाउँ कत्तिको शिक्षित थियो ? सामान्यतया थोरै मात्रै शिक्षित थिए । अलि–अलि पढेर भारततिर रोजगारीको खोजीमा जाने बढी हुन्थे । तर, हाम्रो परिवारको राम्रो पक्ष के थियो भने बुबा नै शिक्षित हुनुहुन्थ्यो । भारतबाट शास्त्री (स्नातक) गर्नुभएको हो उहाँले । यज्ञ र पूजापाठ सबै गर्न आउँथ्यो उहाँलाई । त्यो प्रभाव हामी (छोराछोरी)मा प-यो । हाम्रो दाजुभाइ दिदीबहिनीमा नपढेका कोही छैन । फरक के हो भने दाइहरुले घरायसी समस्याले धेरै पढ्न पाउनुभएन ।


सुरुको अध्ययनबारे बताइदिनुहोस् न ?

 त्यस्तै चार वर्षको हुँदा मलाई घरबाट झण्डै १० मिनेट टाढाको तत्कालीन श्री सरस्वती प्राथमिक विद्यालयमा भर्ना गरियो । सानैदेखि म अध्ययनमा अब्बल र अत्यन्त अनुशासित थिएँ । त्यहाँ मैले कक्षा टप गरेर पाँचसम्म अध्ययन गरेँ । थप अध्ययनका लागि भने घरबाट झण्डै डेढ घण्टा टाढा पर्ने मुडभरास्थित श्री शारदा माध्यमिक विद्यालयमा भर्ना गरियो । त्यतिबेला त्यहाँ गर्मी र जाडो महिना गरी दुई ढंगले पढाइ हुन्थ्यो । गर्मी महिनामा बिहान ६ बजेदेखि ११ः३० सम्म र जाडो महिनामा १० बजेबाट ४ बजेसम्म । गर्मी महिनामा त बिहान ४ बजे उठ्नुपर्ने बाध्यता थियो । अघिल्लै दिन तयार पारिरहेको विशेषगरी रोटी र आलुको तरकारी पोको पारेर स्कुल लागिन्थ्यो अनि ४५ मिनेट जति हिँडेपछि सिमखेत भन्ने ठाउँमा पुगिन्थ्यो, त्यहाँ यसो बस्ने र पिउने पानीको पनि सुविधा भएकाले पोको फुकायो खायो । अनि अघि बढ्थ्यौं । बीचको छुट्टीको समयमा त पैसा भए खाइन्थ्यो नत्र एकै पटक ३ बजेतिर घर फर्किएर बिहान पकाएर राखिदिएको खाना खान्थ्यौं । त्यहाँ पनि सदा कक्षा ‘टप’ भइरहें । यस्तै आरोह–अवरोहका बीच वि.सं. २०४८ मा शारदाबाटै जिल्ला ‘टप’ भएर एसएलसी पास गरें । रोचक त के भने त्यतिबेलाबाटै नयाँ पाठ्यक्रम लागू गरिएको थियो । स्कुलको २ जनामात्रै पास भयौं ।


एसएलसी पास गरेपछि अध्ययनलाई कसरी अघि बढाउनुभयो ?

 दुर्भाग्य त यति नै बेला अर्थात् वि.सं. २०४९ कात्तिक १४ गते सुस्केरी व्यथा लाग्दा समयमा नै आवश्यक औषधि उपचार नपाएर आमाको ‘अकालमै निधन’ भयो । त्यस घटनाले मलाई निकै विक्षिप्त तुल्यायो । मेरा सारा योजना भताभुंग भए । पछि जेनतेन सम्हालिएर आफ्नो गन्तव्य पहिल्याउन थालेँ । अनि थप अध्ययनका लागि छिमेकीसँग १० हजार सापट मागेर सदरमुकाम सिलगढी गएँ । त्यो परिस्थितिमा आफूले चाहेको विषय अध्ययन गर्न जिल्लाबाहिर जाने वातावरण बनेन । अनि बाध्य भएर सदरमुकाममा रहेको क्याम्पसमा पढाइ हुने मानविकी र कानुन दुईवटा संकायमध्ये कानुन रोज्न बाध्य भएँ । अध्ययनका लागि खर्चको स्रोत जुटाउन नसक्दा तत्कालीन जिल्ला विकास समितिका सभापतिको घरमा काम गर्न बसें ।’


जिविस सभापतिको घरमा काम गरेबापत मासिक कति पाउनुहुन्थ्यो ? 

सुरुमा त खाने–बस्नेमात्रै हो । तर, पछि आईएल दोस्रो वर्ष पढ्दा उहाँले गाउँ विकास समितिको सचिव पनि बनाउनुभयो । त्यसबाट मासिक दुई हजार आउँथ्यो । गाविसमा एक वर्षजति काम गरेँ । 


यसरी त्यहाँ कति समय काम गर्नुभयो ?

 त्यस्तै दुई वर्षजति गरेँ ।
कामको बोझले अध्ययनमा बाधा पुगेन ? 

कामले अध्ययनमा बाधा त पुग्ने नै भयो । तर, समयलाई व्यवस्थापन गरें । नेताको घरमा धेरै पाहुना आउँथे । राति १२ बजेसम्म काम सकेर २ बजेसम्म पढ्थें, थोरै सुत्थे । तर, जस्तोसुकै परिस्थति आए पनि पढाइचाहिँ छाडिनँ । बरु ‘क्याम्पस टपर’ र ‘नेपाल सेकेन्ड’ भएर त्यहाँबाट आईएल पास गरें ।
थप अध्ययनका लागि राजधानी आउने वातावरण कसरी बन्यो ?

 काठमाडौं आएर बीएल पढ्ने विषयमा बुबासँग सल्लाह गरें । बाबुछोराको मन्थनबाट निचोड निस्कियो– भारतमा रहेका आफ्ना यजमानकहाँ जाने । हामी मुम्बई, पुने, ठाना र दिल्ली गयौं । त्यहाँबाट सापटी २० हजार भारतीय रकम संकलन भयो । त्यो पछि मैले फिर्ता गरेँ । त्यसबाट नपुगेको भरथेग नोकरीबाट गर्ने गरी २०५२ मा गाउँको काकासँग पहिलोपटक काठमाडौं आएँ । अनि गाउँनजिकैको साथीसँग मिलेर अनामनगरमा कोठा भाडामा लिएर बस्यौं । म नेपाल ल क्याम्पस भर्ना भएँ । बिडम्बना पैसा सकिँदै गयो । त्यति नै बेला एक जना चिनजानको मानिसमार्फत परिवार नियोजन संघमा पियनको जागिर पाएँ । तीन वर्षजति त्यहाँ काम गरेँ । त्यही तीन वर्षको अवधिमा बीएलसम्मको अध्ययन पूरा गरेँ । त्यस क्रममा म ‘नेपाल टप’ गर्ने पाँच जनामध्ये दोस्रो भएँ । 


परिवार नियोजन संघमा काम गर्दाको अनुभव बताइदिनुहोस् न ?

 परिवार नियोजन संघमा करिब तीन वर्ष काम गरेँ । दुई वर्ष दिउँसो र एक वर्ष राति । बिहान कलेज, दिउँसो जागिर र राति कोठामा गइन्थ्यो । बीएल तेस्रो वर्ष पढ्दाचाहिँ रातिको काम भएकाले बिहान–दिउँसोको अध्ययन सहज बन्यो । तलब भनेको तीन हजार थियो ।


एलएलएम गर्दा खेत बेच्नुभयो रे नि त ?

 हो । नेपालमा एलएलएम सुरु भएपछि तेस्रो ब्याज थिएँ मेरो । राम्रो पढ्नका लागि जागिर खाने वातावरण थिएन । फेरि अर्कातिर आर्थिक अभाव पूर्ति गर्ने कुनै विकल्प पनि थिएन । त्यसैले तीन वटामध्ये सबैभन्दा राम्रो खेत सेती नदीको किनारमा थियो । त्यसलाई एक लाख ३० हजारमा बेचियो । 


अमेरिका छिर्ने अवसर कसरी पाउनुभयो ? 

सुरुमा सन २००१ मा एलएलएम पहिलो वर्ष टप गरें मैले । त्यसबखत एउटा कार्यक्रममार्फत अमेरिकाको सेन्टलुइसको वासिङ्टन युर्निभरसिटीमा १ महिना अध्ययन गर्ने मौका पाएँ । त्यहीबाट आर्थिक रूपमा समृद्ध हुन र भविष्य उज्ज्वल बनाउनका लागि यहाँ आउनुपर्ने रहेछ भनेर अमेरिकाप्रति मेरो आकर्षण बढ्यो । एलएलएम दोस्रो वर्ष पढ्न नेपाल फर्किएँ । फेरि नेपाल टपर भएर महेन्द्र विद्याभूषण पाएँ । त्यसले अमेरिका आउन थप प्रोत्साहन भयो । सुरुमा नै ५ वर्षका लागि भिसा लागेकाले जान–आउन मलाई समस्या थिएन । तर खेत बेचेको पैसा सकिएकाले एक लाख ८० हजार नेपाली रकम सापट खोजेर आएँ । सन २००५ मे बाट मेरो अमेरिका बसाइ तय भयो । २००६ मा यहाँको कलेजमा भर्ना भएँ । काम गर्दै पढ्दै गर्ने भिसा थियो मेरो । र त २००८ मा यहाँको स्नातकोत्तर तह पूरा गरेर २०११ बाट अधिवक्ता भएँ ।
हाल तपाईं कस्ता मुद्दा हेर्नुहुन्छ ? 

अमेरिकाको ५० वटा राज्यमा इमिग्रेसन लयरको रूपमा काम गरिरहेको छु । त्यसको अतिरिक्त न्युयोर्कमा स्थानीय विषयवस्तुसम्बन्धी मुद्दा पनि हेर्छु ।
कमाइ कत्तिको हुन्छ ? 

मेरो कमाइ मलाई, परिवार र कार्यालयलाई चाहिने आवश्यकता तथा भविष्यको आधार सिर्जना गर्न पुग्ने नै छ । संसारका धेरै मानिसले भ्रमण गर्ने, चिन्ने महँगो, आकर्षक ठाउँ टाइम्स स्क्वायर न्युयोर्कमा कार्यालय (ल फर्म) छ । 


आफ्नो विगत र वर्तमानको आर्थिक अवस्थाको कसरी मूल्यांकन गर्नुहुन्छ ? 

पहिलेको अवस्थामा १० रुपैयाँ पनि सापटी नपाइने अवस्था थियो । अहिले महँगो ठाउँमा कार्यालय छ । १५/२० हजार डलर मासिक खर्च हुन्छ । गरिब परिवारमा जन्मिएर, हुर्किएर, अनेकौं दुःख–कष्ट जेलेर आएको मजस्तो व्यक्ति अहिले यो अवस्थामा रहँदा अत्यन्तै सन्तुष्ट–खुसी र सुखी छु । फेरि जोकोही मानिस आफ्नो लक्ष्य, उद्देश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला–चाँडो सफल भइन्छ । यसैको परिणाम हो यो ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै