logo

‘हस्तिनापुरका राजगुरु द्रोणाचार्यको जस्तो एकोहोरो शिक्षाले भलो हुँदैन, व्यवस्थापन भए एक करोड पर्यटक आउँछन् ।’

पौराणिक कथा महाभारतका एकपात्र, धुरन्धर विद्वान् द्रोणाचार्य हस्तिनापुरका राजगुरु हुन् । तर, उनको शिक्षाले महाभारत जन्मायो र त्यसमा सबैको समाप्ति भयो । हार्ने त हारी नै हाले तर जित्ने पनि बाँकी रहेनन् । यो कसरी भयो ? भन्ने यस्तो शिक्षामाथि प्रश्न गर्ने करिब–करिब पहिलो व्यक्ति हुन् शिक्षा सुधारका एक अभियन्ता रवीन्द्र महर्जन । उनको बुझाइमा यी राजगुरुले युद्ध कसरी लड्ने भन्ने त सिकाए । तर, त्यसपछिको व्यवस्थापनमा ध्यान नदिँदाको स्थिति हो यो । इन्स्ब्रूूक अष्ट्रियाबाट माउन्टेण्ड टुरिजम एण्ड मेनेज्मेन्टको चारवर्षे कोर्स पूरा गरेका उनी पेसाले र विषयगत पढाइले पर्यटन व्यवसायी हुन् । उनको विचारमा सही व्यवस्थापन भयो भने एक करोड पर्यटक भित्र्याउन सकिन्छ । बुढानिलकण्ठ भूतपूर्व विद्यार्थी समाजका पूर्व महासचिव तथा शान्ति शिक्षा अभियान नेपालका संस्थापक अध्यक्ष महर्जनको वास्तविक परिचय भने शिक्षामा सुधार नै हो । बितेको एक दशकदेखि उनी शिक्षालाई कसरी व्यावसायिक र स्तरीय बनाउन सकिन्छ भन्ने अभियान चलाइरहेका उनले अहिलेसम्म धेरै स्कुल र शिक्षक तथा विद्यार्थीहरुलाई एउटा गोरेटो देखाइरहेका छन् । उनको संस्था शान्ति शिक्षा नेपाल अभियानअन्तर्गत । शिक्षकमा पढाउने शैलीदेखि त्यसको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न उनले गरेको प्रयासलाई राज्यले ग्रहण गरेमा देशका लागि निकै लाभकारी हुने मान्न सकिन्छ । उनको यो प्रयासलाई कदर गर्दै विभिन्न संघ–संस्थाबाट धेरै पटक सम्मनित हँुदै आएका महर्जन पछिल्लो पटक नेपाल सरकारबाट २०७४ मा प्रबल जनसेवाश्री पदकबाट विभूषित पनि भए । हस्तिनापुरका राजगुरुको शिक्षाबारे प्रश्न गर्ने यी व्यक्ति नेपालको शिक्षा पद्धतिका बारे बढी अनुभवी हुन सक्दछन् । यिनै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीका केही अंश :

–अहिले जस्तो शिक्षामा भर्ना अभियान चलाइएको छ यो कस्तो हो ?
संसारमा हरेक कुराका धेरैभन्दा धेरै ग्राहक, मान्छे वा क्रेताहरु माझ आफ्नो सामान, उत्पादन बिक्रीका लागि बजारमा लाने फरक–फरक तरिका हुन्छन् । शिक्षा क्षेत्रमा पनि भर्ना अभियान हरेक वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि आफ्नो स्कुलमा धेरैभन्दा धेरै विद्यार्थी भर्ना होऊन् भनेर आफ्नो विशेषता र उपलब्धि उल्लेख गरेर नयाँ विद्यार्थी आकर्षित गर्न चलाइने एउटा नियमित प्रक्रिया हो यो ।


–विद्यालय पु¥याउने कुरो ठूलो हो कि पु¥याइसकेपछिको शिक्षा ?
यी दुवै प्रक्रिया उत्तिकै महत्वपूर्ण छन् । नेपालको कुरा गर्नुपर्दा निजी स्कुल होस् या सामुदायिक, दुवै थरीका स्कुलहरुलाई आफ्नो स्कुलमा नयाँ विद्यार्थी तान्न गाहै्र छ । विशेष गरी सामुदायिक स्कुलको कुरा गर्दा एउटा भनाइ याद आउँछ – १. झिकाउन गाह्रो २. झिकाइ हाले टिकाउन गाह्रो ३. टिकाइ हाले सिकाउन गाह्रो ४. सिकाइ हाले बिकाउन गाह्रो । यसको मतलब सबैभन्दा पहिला सामुदायिक स्कुलमा नयाँ विद्यार्थी तान्नै गाह्रो, धेरै कम विद्यार्थीहरु अरु कुनै विकल्प नभएपछि मात्र सामुदायिक स्कुलमा भर्न हुन्छन् । भर्नापश्चात् विविध कारणले नियमित कक्षामा जाँदैनन् । कक्षामा जाने विद्यार्थीहरुले पनि विविध कारणले नियमित सिक्न सक्दैनन् । बल्लतल्ल एसईई पास गर्छन् अनि राम्रो कलेज र रुचाएको विषय पढ्न पाउँदैनन् ।


–भर्ना भएपछिका चरणहरु अहिले कस्तो देखिँदैछन् ?
भर्ना भएपछिका चरण नियमित तरिकाले हरेक वर्ष तहगत हिसाबमा चढ्दै जाने हो । तर, रमाइलो तरिकाले भन्नुपर्दा नेपालमा चार तहका स्कुलहरु छन् । १. स–साना नानीहरुलाई एकाबिहानै क्वाँक्वाँ रुवाएर सानो बसमा मुन्टो नै भाचिने गरी कोचेर पठाउने (मुण्टेस्वरी) । २. बल्लतल्ल स्कुल जान तम्सिएका भाइबहिनीहरुलाई ठेलीका ठेली पुस्तक बोकाएर टन्न गृहकार्य दिने र नगरेको खण्डमा डण्डा बजाउने ( डण्डेश्वरी ) ३. जसरी पनि जिल्लास्तरीय परीक्षा (डिएलई र एसईई ) पास गराउन दिनरात घोकाउने (कण्ठेश्वरी ) र ४. बल्लतल्ल एसईई पास भयो, राम्रो कलेज पाउन नसकेपछि हल्लिदै पढ्ने (लण्ठेस्वरी) ।


–यसलाइ सुधार गर्न सकिन्छ ? सकिन्छ भने कसरी ?
यस्तो अवस्थाको सुधार गर्न देशमा नयाँ ढाँचाको संरचना आएको छ । शिक्षालाई पनि स्थानीय निकाय मातहत राखिएको छ । अब प्रत्येक स्थानीय निकायले समुदाय पायक पर्ने स्थानमा गुणस्तरीय शिक्षा प्रदान गरिने व्यवस्थित स्कुलहरु सञ्चालन गर्नुपर्दछ । स्कुलहरुमा हुने राजनैतिक गतिविधि रोक्नुपर्दछ । निजी र सामुदायिक स्कुलबीचको स्तरमा धेरै ठूलो भिन्नता छ । यसलाई हटाउन सकियो भने समुदायिक शिक्षामा धेरै उन्नति हुने थियो ।


–निजी र सामुदायिक विद्यालयमा दिइने शिक्षाको अन्तर के हो ?
दुवै थरीका स्कुलहरुमा दिइने पाठ्यक्रम उही नै हो । तर, निजी स्कुलमा शिक्षकहरु नियमित हुनुका साथै अनुशासित, मेहेनती र नतिजामुखी हुन्छन् भने सामुदायिक स्कुलमा शिक्षकहरु नियमित नहुनुका साथै, कम मेहेनत गर्ने, राजनीतिमा लाग्ने, समय सापेक्ष नहुनेजस्ता फरक कुरा हुन् ।


–तपाईं आफँैले चाहिँ आफ्ना बालबालिकालाई कहाँ पढाउन रोज्नुभयो र किन ?
हामीले आफ्नो घर बनाउनु अगाडि जसरी धेरै योजना बनाउँछौँ, त्यसरी नै आफ्ना छोराछोरीको शिक्षाको लागि पनि योजना बनाउनु जरुरी छ । मैले पनि मेरा छोराछोरीलाई सानो हुँदा घरनजिक स्कुलमा राखेँ । त्यसपछि अलि ठूलो र टाढाको स्कुल बुढानिलकण्ठ स्कुलमा पढाएँ । अहिले राम्रै कलेजमा पढ्दैछन् ।


–तपाईं पर्यटन व्यवसायीसमेत हुनुहुन्छ ? यो क्षेत्रले यतिखेर भोग्नु परेको मूल समस्या के हो ?
नेपालको मुख्य आयस्रोत नै जलऊर्जा र पर्यटन भन्दा फरक नपर्ला । तर, पर्यटन उद्योगलाई सही नीति र व्यवस्थापन गर्न नसक्दा धेरै कममात्र फाइदा भएको छ । हामीले हाम्रो पर्यटनलाई हिमाल र पर्वतारोहणबाहेक अरु पर्यटकीय विधालाई आँैल्याउन नसक्दा सीमित क्षेत्रमा मात्र गतिविधि सञ्चालन गर्न बाध्य छौँ । हामीले पर्यटनको कुरा गर्दा समुदाय र सामुदायिक गतिविधिलाई जहिले पनि बिर्सिने गरेका छौँ । जस्तो कि हामीले सधैँ सगरमाथा वा लुम्बिनी मात्र प्रचार नगरी भक्तपुरको बिस्केट जात्रा, सकेला नाच, दुम्जी, अझ भनांै यार्सा टिप्ने अवलोकन किन नगराउने ? देशको विभिन्न भागमा बसोबास गर्ने विभिन्न जातजातिको रहनसहन र सत्कार, चाडबाड र नदीनाला ताल तलैयाको किन प्रचार नगर्ने ? यसैले मेरो विचारमा राजनीतिमा जस्तो पर्यटनलाई पनि विकेन्द्रीकरण गरी अगाडि बढ्न सकेमा सबैले फाइदा लिन पाउँछन् जस्तो लाग्छ ।


–अहिले पर्यटन मन्त्रीले पचास लाख पर्यटक भित्र्याउने कुरा गरेका छन् । यो कति सम्भव छ र यसका लागि के गर्नुपर्छ ?
नेपालको आकार हेरिकन ५० लाख पर्यटक ल्याउनु केही ठूलो कुरा होइन । अहिलेको जस्तो हिमाल मात्र पर्यटनको पर्याय भयो भने र सबै पर्यटकलाई होटेलमा मात्र राख्ने हो भने ५० लाख संख्या धेरै ठूलो हो । नेपाल आफँैमा एउटा जीवन्त सङ्ग्रहालय हो । यहाँ धेरै जातजातिका समुदायको बसोबास छ । हामी सबैले देशमा आउने एक दुई जना गरी घर–घरमा राख्याँै भने अहिलेकै संरचनाले पनि ५० लाख पर्यटक आउँदा खान बस्न केही समस्या हुँदैन । हाम्रो कमजोरी भनेकै चुस्त व्यवस्थापन हो । हामी चुक्ने नै यहीँनिर हो ।
मैले अस्ट्रियामा धेरै वर्ष ‘पर्वतीय पर्यटन र लज व्यवस्थापन’ को कोर्स गरेको छु । त्यहाँ देशभरिको ९ प्रान्तमध्ये एउटा प्रान्त छ टिरोल भन्ने जुन नेपालको वाग्मती अञ्चल जत्रो छ । त्यहाँ वार्षिक ४५ लाख पर्यटक आउँछन् र दैनिक औसत ८० युरो खर्च गर्छन् । त्यस प्रान्तका हरेकको घर नै बास बस्न मिल्ने होटेल जस्ता छन् । हरेक घरका अधिकांश मानिस रेस्टुरेन्ट, वेटर, बारमेन, कुक, हेल्परजस्तो काममा कार्यरत छन् । कोही घरेलुस्तरमा चिज उद्योग चलाउँछन् भने कोही गोठमा पनि साधारण होटल चलाउँछन । त्यसैले मेरो विचारमा सही नीति र चुस्त व्यवस्थापन गर्न सक्यौँ भने ५० लाख मात्र के एक करोड पर्यटक पनि धान्न सक्छाँ हामी ।


–पर्यटन उद्योगलाई नोक्सान पर्ने सबैभन्दा ठूलो कुरो के हो ?
हिजोका दिनसम्म राजनीतिक अस्थिरता नै सबैभन्दा ठूलो बाधक थियो भने अब राम्रो नीति, पर्यटकीय गतिविधि र गन्तव्यको निर्धारण र व्यवस्थापन हाम्रा लागि ठूला चुनौती हुन सक्छन् । त्यसैगरी हाम्रो देश अरु देशसँग हवाई मार्गबाट सर्वसुलभ तरिकाले जोडिनुपर्दछ भने विश्वभरि धेरैभन्दा धेरै प्रचार–प्रसार गरिनुपर्दछ ।


–फेरि शिक्षाकै कुरा गरौँ, तपाईं शिक्षा सुधारका अभियन्ता हुनुहुन्छ । शिक्षा गलत भयो भने त्यसले सर्वनाश गराउँछ भन्ने पौराणिक कालदेखि अहिलेसम्म त्यसका केही उदाहरण छन् ?
प्रशस्तै छन् । महाभारतकै उदाहरण लिऊँ न । महाभारतमा धुरन्धर विद्वान् गुरु द्रोणाचार्य एकलव्य र कौरव पाण्डव राजकुमारहरुका गुरु थिए । हामीले सुनेका छाँै, पढेका छाँै, द्रोणाचार्य तात्कालीन समयका प्रख्यात गुरु थिए । उनले राजकुमारहरुलाई धनुर्विद्यालगायत शस्त्रास्त्र सिकाउँथे । अर्जुन र एकलव्य उनका अब्बल शिष्य थिए । तर, शिक्षाको कोणबाट हेर्दा गुरु द्रोणाचार्यको शिक्षा कतै समय सापेक्ष भएन कि भन्ने प्रश्न उठ्छ । किन भने महाभारतको युद्ध गुरु द्रोणाचार्यको शिक्षाको उपज हो भन्दा फरक नपर्ला । उनले आफ्ना चेलाहरुलाई युद्धकला मात्र सिकाए, अरु सिकाउन नसकेको हो कि ? कौरव पाण्डवहरु त भविष्यका राजामहाराजा हुने व्यक्तिहरु हुन् नि । उनीहरुलाई युद्धकलाको अलावा राज्य सञ्चालन, द्वन्द्व व्यवस्थापन र कुटनीतिलगायत आर्थिक प्रशासनको पनि ज्ञान दिलाउनुपर्ने थियो नि । त्यसैले शैक्षिक कोणबाट हेर्दा गुरु द्रोणाचार्य समय सापेक्ष हुन सकेनन् कि भन्ने प्रश्न हो ।

–तपाईंले भनेजस्तै महाभारतका द्रोणाचार्यलाई उदाहरण मान्ने हो भने जस्तो गुरु, त्यस्तै शिक्षा र त्यस्तै परिणाम आउँदो रहेछ भन्न प¥यो नै ?
शिक्षा निरन्तर नयाँ–नयाँ तरिकाले चलिरहने प्रक्रिया हो । यसमा शिक्षकहरुको अहम् भूमिका हुन्छ । जब शिक्षकहरु नै समयानुकुल परिवर्तन हुन सकेनन् भने शिक्षाले नयाँ गति लिन सक्दैन । शिक्षक पेसा भनेको समाजको बौद्धिक वर्ग हो । यस्ता बौद्धिक वर्गले नै समाजमा नयाँनयाँ ज्ञानको खोजी गर्ने र आफ्ना विद्यार्थीलाई सिकाउनुपर्दछ, सिकाउन सक्नुपर्दछ । त्यस अर्थमा मेरो विचारमा गुरु द्रोणाचार्यको शिक्षा स्थिर भयो, चलायमान हुन सकेन । जब सबै कुरा जानेको, बुझ्न सक्ने मान्छेको ज्ञान नै स्थिर भएपछि प्राकृतिक परिवर्तनलाई कसरी अँगाल्न सकिएला । त्यसैले समाजमा सामाजिक विकास र परिवर्तनको लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने भएकोले सांकेतिक रुपमा जस्तो गुरु त्यस्तै शिक्षा हुन्छ, अनि अन्तमा त्यस्तै नतिजा हुन्छ ।


–यस्तो मान्यताका साथ शिक्षा शान्ति अभियानअन्तर्गत तपाईंले शिक्षामा जस्तो सुधार गर्न खोज्नु भयो त्यो वास्तवमा नै कार्यान्वयन हुँदैछ ?
भनिन्छ शिक्षा विकासको आधार हो । तर, मेरो विचारमा शिक्षाले विकास गर्ने होइन । यसले त विश्वमा परिवर्तन गर्ने मानिसको सोचमा परिवर्तन ल्याउने एउटा माध्यमको काम हो किनकि शिक्षा भनेको देश, समाज र परिस्थितिसँग हिँड्न सिकाउने माध्यम हो । शिक्षा क्षेत्रमा जहिले पनि समयअनुसार नयाँनयाँ पद्धतिको विकास हुन जरुरी छ । यो नियमित प्रक्रिया हो । हाम्रो संस्थाले पनि देशका सामुदायिक विद्यालयहरुमा समाजको मागअनुसार आफूले सक्ने योगदान दिँदै आएको छ । शैक्षिक सुधार आजको भोलि नै हुँदैन । सुधारको क्रम निरन्तर चलिनै रहनुपर्दछ । यस क्रममा हामीले पनि जे गर्न सकिन्छ जतिन्जेलसम्म सकिन्छ, गरिरहने हो ।


–यही अभियानअन्तर्गत तपाईं आफँले भोग्नु परेका र शिक्षामा सुधार गर्न खोज्दाका मूल समस्या के कस्ता पाउनुभयो ?
काम गर्दै जाँदा समस्या नहुने कुनै पनि क्षेत्र छैन होला । जहाँ समस्या हुन्छ त्यहाँ अवसर पनि हुने गर्दछ । त्यसैले हाम्रो देशको शिक्षा क्षेत्रमा पनि समस्या भएकै कारण हामी जस्ता थुप्रै गैरसरकारी संस्थाहरुको उत्पत्ति भएको हो । देशमा भएका कानुन, प्रशासनलगायत आर्थिक समस्या थुप्रै छन् । तर, मलाई सबैभन्दा जटिल समस्या चाहिँ हाम्रो मानसिकता हो जस्तो लाग्छ ।


–यो अभियानका लागि दाता खोज्दाका क्रममा तपाईं जहाँ जहाँ पुग्नुभयो त्यहाँको र हामीकहाँको शिक्षामा के अन्तर पाउनुभयो ?
शिक्षा अभियानको लागि आवश्यक अर्थ संकलनार्थ म थुप्रै देशहरुमा पुगेको छु । त्यहाँको र यहाँको फरक भनेकै त्यहाँ शिक्षा क्षेत्रलाई सयांै वर्ष पहिलादेखि राष्ट्रिय महत्व दिएर परिवर्तनशील शिक्षा पद्धति अपनाइएको छ भने हाम्रो देशमा ढिलो गतिमा अस्पष्ट नीति अपनाइएको पाएको छु । शिक्षा क्षेत्रलाई हाम्रो देशमा कम प्राथमिकता दिएको हो कि जस्तो लाग्छ । सञ्चारकै कुरा गर्नुपर्दा पनि राष्ट्रिय दैनिक पत्रपत्रिकालगायतका माध्यममा शिक्षाको विधा नै छुट्याएको पाइँदैन । राजनीति, विज्ञान, प्रविधि, खेलकुद र कृषिविधा छन् । तर, शिक्षाको कोलम विधा छुट्याइएको खोइ ? त्यसैले शिक्षालाई राज्यले पनि माटो सुहाउँदो नीतिका साथ अघि बढाउनुप¥यो ।


–माथि उल्लेख गर्नुभएको द्रोणाचार्य जस्तै हामीले एकपक्षीय शिक्षा त दिइरहेका छैनौँ ?
एक पक्षीय पनि नभनाँै । हाम्रो शिक्षा नीति अस्पष्ट चाहिँ पक्कै छ । शिक्षाले नै देशमा आवश्यक मानवस्रोत उत्पादन गर्ने हो र सोहीअनुरुप शिक्षानीति बनाउनुपर्ने हो । तर, हाम्रो देश आवश्यकता नै आँैल्याउन नसकेको अवस्थामा गुज्रिरहेको छ । अहिलेको अवस्थामा हाम्रो शिक्षानीति भनेको दुई किसिमको बुझेको छु । एउटा सरकारी स्कुलमा पढाऊ मलेसिया अरब जाऊ भन्ने अर्को निजी स्कुलमा पढ युरोप अमेरिका जाऊ भन्ने खालको छ ।


–यस्ता व्यक्तिसमेत चुकेको अवस्थामा हामी सम्पूर्ण शिक्षा दिन सक्तछौँ ? त्यसका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
हामी साधारण नागरिकदेखि राज्य सञ्चालकहरुको मानसिकतामा सही परिवर्तन गर्ने हो भने सम्भव छ ।


–यतिखेर सरकारले शिक्षामा सुधार गर्न खोजेको अवस्था छ, त्यसमा तपाईंको सुझाव के छ ?

अहिले आएर सरकारी प्रयासमा केही केही सास फेर्न सक्ने आधारहरु छन् । छोटो समयमा धेरै गर्न बाँकी ठाउँहरु पनि छन् ।


–तपाईंले चलाउनुभएको यो अभियान पुगेको ठाउँ र नपुगेको ठाउँको फरकपन कस्तो पाउनुभयोे ?
हामी अहिले काठमाडौं, ललितपुर, काभ्रे र दोलखा गरी चार जिल्लामा कार्यरत छांै । ती जिल्लाहरुमा पनि हाम्रो उपस्थिति भर्खरभर्खर मात्र हो । हामी पुगेका स्कुलहरु र नपुगेकामा खासै तात्विक भिन्नता छैन । हामी हाम्रो क्षेत्रमा गर्न सकिने काम थालेका छौँ । हामीले हाम्रो साझेदार स्कुलका शिक्षकहरुलाई सजिलो र प्रभावकारी सिकाइको लागि तालिमहरु दिएका छौँ । उहाँहरुले सिकेका कुराहरु लागू गर्नुभएको पाउँदा केही आशा भने पक्कै जगाएको छ ।


–यो अभियान चलाउने पे्ररणा कहाँबाट पाउनुभयो र स्रोत केहो तथा अहिलेसम्म लगानी कति भयो र कति लाभान्वित भए ?
मैले पनि बुढानिलकण्ठ स्कुलमा राष्ट्रिय छात्रवृत्तिअन्तर्गत पढ्ने मौका पाएको थिएँ । मेरो शिक्षाको लागि कसैले सहयोग गरेको कारणले आज मैले राम्रो शिक्षा पाएँ । राम्रो काम गर्न पाएको छु । देश विदेश पुग्न सकेको छु । त्यसैले अहिले मैले पनि समाजमा क्षमता भएर पनि आर्थिक कारणले गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर आफूले सकेको सहयोग गर्ने प्रयास गरेको छु । म पर्यटन क्षेत्रमा कार्यरत छु । हालसम्म देशीविदेशी धेरै साथीहरु र शुभचिन्तकहरुको सहयोगमा भूकम्पपश्चात् मात्र २४ वटा स्कुल भवनहरु पुनर्निर्माण गरी फर्निचर प्रदान गरिसकेका छौँ । हालसम्म करिब ६००० जना विद्यार्थी भाइबहिनीहरु लाभान्वित भएका छन् । यो क्रम हामी आगामी दिनमा अझ बढाउँदै लाने सोचमा छौँ ।


–यहाँ लगानी गर्ने दाताले कस्तो शिक्षा खोजेका छन् र यो अभियानले त्यो पूरा गर्न सकेको मान्नुहुन्छ ?
दाता शुभचिन्तकहरुले आफ्नो सहयोगबाट सबै भाइबहिनीहरुले गुणस्तरीय शिक्षा पाऊन् भन्ने नै सोच हो । हामी पनि हाम्रो सहयोगलाई व्यवस्थित तरिकाले अधिकतम लाभ पुु¥याउन प्रयासरत छौँ ।
–खासगरी नेपालमा यस्ता सामाजिक सुधारका काम गर्दा विदेशमा पैसाको थुप्रो छ, यहाँ गएर बटुलेर ल्यायोजस्तो मानिन्छ । यस्तै हो कि यो कति कठिन छ भन्ने केही अनुभव बताइदिनोस् न ?
कुनै निश्चित स्थानको लागि अर्कै ठाउँको मान्छेको गोजीको पैसा ल्याएर काम गर्नु सजिलो काम पक्कै होइन । कतिले त अझ विभिन्न आरोप लाउने गर्दा दुःख लाग्छ । तर, विभिन्न स्कुलहरुमा जाँदा अबोध बालकहरुको अनुहारमा खुसी देख्दा त्यस्ता आरोपहरु बिर्सिने गरेको छु । लिनेले लिइरहुन्जेल र दिनेले दिइरहुन्जेल मेरो सामाजिक कार्य निरन्तर जारी राख्छु ।


–लामो समय यो क्षेत्रमा बिताउनु भएको अवस्था छ । हामीकहाँको अहिलेको शिक्षा पद्धति कस्तो छ ?
हामीकहाँको अहिलेको शिक्षा पद्धति भयावह छ । अझ भन्नुपर्दा कुहिरोमा हराएको काग जस्तै अस्पष्ट एवं उद्देश्यहीन छ जस्तो लाग्छ ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै