logo

जनताले आफ्नो विवेक सहीढंगले प्रयोग गर्नेछन्

वर्तमान सिँचाइमन्त्री हुन् सञ्जय गौतम । विगतमा चार निर्वाचन क्षेत्र रहेको बर्दियाको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट सभासद् निर्वाचित गौतम नयाँ संघीय संरचनामा बर्दिया १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारका रुपमा खडा भएका छन्, जसका प्रतिस्पर्धी छन् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम । गौतम भर्सेस गौतमको यो रोचक भिडन्तमा को विजयी बन्ने हो त्यो त आगामी दिनले नै बताउला । तर दुवैका जितका दाबी भने छँदै छन् । वामदेव माओवादीको समेत समर्थन रहेकाले चुनाव जित्ने कुरामा ढुक्क होलान् तर सञ्जय पनि जितका लागि ढुक्क छन्– जनताको प्रनिनिधिका रुपमा विगतमा आफूले यस क्षेत्रमा निभाएको भूमिकाका कारण । बोलीभन्दा काममा विश्वास राख्ने सञ्जय आगामी चुनावमा यस क्षेत्रका आममतदाताले आफ्नो विवेक सही ढंगले प्रयोग गर्नेमा आशावादी छन् । प्रस्तुत छ, सञ्जयसँग उनले सम्हालिरहेको मन्त्रालयका काम र आगामी निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको संक्षेप :

कृषिप्रधान देशमा सिँचाइजस्तो महत्वपूर्ण मन्त्रालय सम्हालिरहनुभएको छ, सिँचाइका कामहरु कसरी अगाडि बढिरहेका छन् ?
– म मन्त्रालयमा आइसकेपछि सिँचाइका कामहरुलाई द्रुतगतिमा अगाडि बढाउने कोसिस गरिरहेको छु । सर्वप्रथम त मैले राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्धारित समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने आवश्यक व्यवस्थापनका कामहरु गरेको छु । यही क्रममा नै भेरी–बबई डाइभर्सनमा हामीले काम सुरु गरिसकेका छौं । योसँग जोडिएका बबई सिँचाइ आयोजना र सिक्टा सिँचाइ आयोजनालाई समयमै सम्पन्न गर्नका लागि हामी हरसम्भव प्रयासमा छौं । बबईमा नियमित रुपमा पानी उपलब्ध भइसकेपछि यस क्षेत्रका किसानहरुको जीवनस्तर माथि उठाउन सहज हुन्छ । किसानहरुलाई आधुनिक प्रविधिले सुसज्जित गर्न, बीउबिजन उपलब्ध गराउन, बजारीकरण गर्नका लागि एउटा मोडेल प्याकेज आवश्यक छ । त्यसका लागि मैले ‘वल्र्ड बैंक’सँग कुरा गरिरहेको छु । यो पाँच अर्ब रुपैयाँको प्याकेज हो । बर्दिया जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरेर यो काम अगाडि बढाएका छौं । यसमा ‘वल्र्ड बैंक’ एकदमै सकारात्मक छ । यो सम्झौता चाँडै सम्पन्न हुँदै छ ।


बबई सिँचाइ आयोजना त धेरै पुरानो आयोजना हो, यो त अहिलेसम्म सम्पन्न भएर त्यो बेल्टको भूमि पूर्णरुपमा सिञ्चित भइसक्नुपर्ने होइन र ?
अवश्य पनि हो, तर यो विविध कारणले हुन सकेन । म अहिले अत्यन्त छोटो समयका लागि यो मन्त्रालयमा आएको छु । अब मैले संसारका ठूला आयोजनाहरु कसरी व्यवस्थापन गरिएको छ, कसरी समयमै सम्पन्न गरिएको छ, कसरी प्रतिफल लिइएको छ त्यसको अध्ययनका लागि एउटा विशेषज्ञ टोली बाहिर पठाउने योजना बनाएको छु । योजना आयोगसँग यसका लागि सहमति भएर नेपाल सरकारसँग प्रस्ताव गरिसकेको छु । हामीले नाम राष्ट्रिय गौरवका आयोजना दियौं तर काम त्योअनुरुप हुन सकेन किन ? म यहाँ आउँदा यही प्रश्न ममा पनि उब्जेको थियो । यसको प्रमुख कारण कृषिको ‘मेजर कम्पोनेन्ट’को रुपमा रहेको सिँचाइको समन्वय अभावका कारण समयमा काम हुन सकिरहेको छैन । कृषिको सिँचाइसँग, वनसँग, उद्योगसँग, वातावरणसँग समन्वय हुन सकिरहेको छैन । सबै निकायले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । त्यसैले यसलाई ‘इन्ट्रिगेटेड एप्रोच’मा लिएर जाने कोसिसमा हामी छौं । अब यसरी चल्दैन । अब राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समयमै सम्पन्न हुनुपर्छ र यसबाट हामीले प्रतिफल प्राप्त गर्नुपर्छ भन्ने कुरामा म लागेको छु ।


हाम्रो देशको अर्को ठूलो समस्या नदी कटान हो, यसले वर्षेनी सयौं हेक्टर उर्वर भूमि बगरमा परिणत गरेको छ । यसका लागि कस्ता काम हुँदै छन् ?
यो देशैभरिको समस्या हो । हामै्र क्षेत्रको कुरा गर्ने हो भने सारा विकासे अड्डाहरु नेपालगञ्जमा छन् । समस्या बर्दियामा छ, बबई, कर्णाली नदी बर्दियामा छन्, अफिस नेपालगञ्जमा छ । त्यसैले अब यसका लागि अलग्गै परियोजना विकसित गर्नुपर्छ भनेर म आइसकेपछि क्याबिनेटबाट पास गरेर गुलरियामा अफिस खोलेको छु । बबईको तीन अर्ब ९४ करोडको टीपीआर बनाएर बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अर्थ मन्त्रालयबाट पास गराइएको छ । लगभग एक अर्बको त टेन्डर आह्वान पनि भइसकेको छ । गत वर्ष बाढीबाट ध्वस्त भएका संरचना निर्माण गर्नेक्रममा करिब डेढ अर्ब रुपैयाँ काम गर्न नसकेर फ्रिज भयो । त्यसलाई पनि हामीले गएको बिहीबारको क्याबिनेटबाट निर्णय गरेर ०७१ सालको बाढीबाट प्रभावित पुनर्निर्माणको कामलाई तीन वर्षे कार्ययोजनाअन्तर्गत लैजाने भनेर काम अगाडि बढाएका छौं ।


हाम्रो देशको भूबनोटका कारण वर्षेनी बाढीपहिरो गइरहन्छन्, जनता पीडित भइरहन्छन्, उनीहरुलाई तत्कालका लागि केही कम्बल, केही बोरा चामल बाँड्यो, फर्कियो । अर्को वर्ष पुनः समस्या त्यही । यो कहिलेसम्म ? समस्याको दीर्घकालीन समाधानका लागि किन केही पहल हुँदैन ?
बर्दिया जिल्लामा भएका ठूला दुईटा नदी हुन्, बबई र कर्णाली । कर्णालीमा गुरुयोजना रहे त्यहीअनुसार नै परियोजना छ । बजेट अभाव हो । अहिले मैले बबईमा पनि नदी नियन्त्रणको सार्थक प्रयास सुरु गरेको छु । सँगसँगै त्यो काम प्रारम्भ नै भएको छ । मानखोला, भादा, ओरहीदेखि धेरै अरु साना कुलाहरु पनि छन् जो हाम्रा लागि कटानको समस्या भएका छन् । यी सबैलाई ग्रयाजुअल्ली सुधार गरेर लैजानुपर्छ भनेर नै हामीले गुलरियामा अफिस खोलेका हौं । यसको डीपीआरको काम भइरहेको छ । बर्दियाले अवसर पाएको बेलामा सिँचाइका लागि केही राम्रो काम होस् भनेर सुरुवात गरेको छु । यसमा म एकदम सन्तुष्ट छु ।


नेपालको पश्चिम क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो तर यसको विकास किन हुन सकिरहेको छैन ?
पश्चिम क्षेत्रमा दुईटा कुरा महत्वपूर्ण छन्– कृषि र पर्यटन । ठाकुरद्वाराको राष्ट्रिय निकुञ्ज, बढैया ताल, सत्कुलुवा ताल आदि बर्दियाकै अथाह पर्यटकीय सम्भावना बोकेका स्थान हुन् । अझ ठाकुरद्वारा त विश्वले नै उत्कृष्ट ठह-याएको स्थान हो । सन् १९९२ को वल्र्ड टुरिजम अर्गनाइजेसनको एउटा रिपोर्टमा ठाकुरद्वारालाई ‘द सेकेन्ड डेस्टिनेसन अफ द वाइल्डलाइफ टुरिजम विल बि बर्दिया’ भनेर लेखेको छ । यसबाट पनि थाहा हुन्छ यसको महत्व । त्यसैले यहाँको कृषि र पर्यटनलाई सँगसँगै जोडेर लैजाने प्रयासमा म छु । यदि आगामी दिनमा मैले अवसर पाएँ भने म बर्दियालाई तराईका २२ जिल्लामध्ये उत्कृष्ट जिल्लाका रुपमा विकसित गर्नेछु ।


तपाईं त केन्द्रीय मन्त्री तर तपाईं त आफ्नो क्षेत्र र जिल्लामा मात्र केन्द्रित हुनुभयो । तपाईंको मन्त्रालयअन्तर्गत अन्यत्र केही काम भएका छैनन् र !
होइन, बर्दिया र निर्वाचनमा केन्द्रित भएर त्यस क्षेत्रका सम्बन्धमा तपाईंसँग कुरा गर्ने सन्दर्भमा बर्दियाका कुरा आएका हुन् । देशभरि नै मेरो मन्त्रालयअन्तर्गत हुने कामहरु त भएकै छन् नि । तटबन्धनका कुरा, नदी नियन्त्रणका कुरा भइरहेका छन् । ‘टार इरिगेसन’ भनेर ३५ वटा जिल्लामा एउटा परियोजना बनाएर काम भइरहेको छ । सोलार पावरले सिँचाइ गर्ने प्रविधि ठाउँठाउँमा पठाएको छु । जुन बर्दियाको कालिकामा पनि नमुनाका रुपमा पुगेको छ ।


प्रसंग बदलौं, प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा पनि हुनुहुन्छ, के छ तयारी ?
तयारी गरिरहेको छु । अहिलेसम्म बर्दियाबाट सबैले लिए तर बर्दियाले केही पाएन । त्यसैले म भन्ने गर्छु– ‘बर दिया, पर कभी नही लिया’ अर्थात बर्दियाले सधैं दियो तर केही पाएन । म जनताको बीचमा, कार्यकर्ताको बीचमा आमनागरिकको बीचमा पुगेको छु । मैले विकाससँग जोडिएका कुरा राखेको छु । मैले अवसर पाएँ भने तपाईंहरुलाई परिवर्तनको अनुभूति दिन्छु भनेको थिएँ । बर्दियामा विकासको लहर सुरु गर्छु भनेको थिएँ, मैले गरें । यसले पूर्णता प्राप्त गर्न समय लिने कुरा आफ्नो ठाउँमा छ । सुरुवात भएको छ । अहिले बर्दियाको निर्वाचन क्षेत्र ठूलो भयो । साविकको १ नम्बर र २ नम्बर एउटा क्षेत्र भएको छ । साविकका यी दुई क्षेत्रको तुलना गर्दा पनि हुन्छ । यसमा म अब्बल निस्किनँ भने त्यसबेला मलाई प्रश्न गर्नुस्, होइन भने एकपल्ट मलाई अवसर दिनुस् भनेर म जनतामा गएको छु, जान्छु । वास्तवमा धनगढी र नेपालगञ्जको बीचमा रहेको बर्दियालाई म त्यही स्तरमा लैजान चाहन्छु ।  


जनताको ‘रेस्पोन्स’ कस्तो पाउनुभएको छ ?
एकदम सकारात्मक पाएको छु । बर्दियाको आमनागरिकले अलिकति राहतको अनुभूति गरेको छ मसँग । र, मलाई यो अवसर पक्का दिन्छ भन्नेमा म विश्वस्त छु ।


पटक–पटक यस क्षेत्र (साविकको १ नम्बर) बाट चुनाव लडेका (तीन पटक जितेका र दुई पटक हारेका) एमालेका वरिष्ठ नेता वामदेव गौतमसँगको प्रतिस्पर्धा सहज होला त ?
हुँदैन, यसलाई मैले एउटा अवसरको रुपमा पनि लिएको छु । यसमा मलाई कुनै तनाव छैन । राष्ट्रिय पहिचान भएको एउटा नेतासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु मेरो भाग्य पनि हो, चुनौती पनि हो । त्यसकारण यसलाई मैले स्वाभाविक रुपमा लिएको छु ।
वामहरुकै वर्चस्व रहेको मानिएको क्षेत्र त्यसमा पनि अहिलेको वाम गठबन्धन, यस्तोमा चुनाव जित्नु तपाईंका लागि कसरी सम्भव होला !
म यही जनताको बीचको भिजेको मान्छे हुँ । म यहाँको जनताको भावना, मनोविज्ञान बुझ्छु । हो, सर्सर्ती खुला आँखाले हेर्दा अप्ठ्यारो छ । तर तपाईं त्यसको गहिराइमा जानुहुन्छ भने यहाँको जनताले परिवर्तन चाहिरहेको पाउनुहुनेछ । यहाँको जनताले विकास चाहेको छ । वास्तवमा जनताले हाम्रो प्रतिनिधि राम्रो प्रतिनिधि होस्, हाम्रो जिल्ला समृद्ध जिल्ला होस्, समुन्नत जिल्ला होस् भनेर खोजेको छ । मैले जहाँ गएको छु जनताको रेस्पोन्स राम्रो पाएको छु । म उत्साहित छु ।


जनतामा जाने तपाईंका चुनावी एजेन्डा के छन् ?
हेर्नुस्, म भूmटा कुरा गर्दिनँ । म अनावश्यक सपना बाँड्दिनँ । मैले के भनेको छु भने बर्दियाका चारवटै क्षेत्र हेर्नुस्, ०४६ सालदेखि अहिलेसम्म हामीले प्राप्त गरेका उपलब्धिहरुलाई हेर्नुस्, जनप्रतिनिधिले निर्वाह गरेका भूमिकालाई हेर्नुस् यिनमा मेरो भूमिका अब्बल देख्नुहुन्छ भने मलाई मतदान गर्नुस् । होइन, मेरो भूमिका अब्बल रहेन, म जनताप्रति उत्तरदायी रहिनँ, मेरो भूमिकामाथि नै प्रश्नचिह्न खडा हुन्छ भने त्यसको सजाय भोग्न म तपाईंहरुको बीचमा छु ।


साविकको २ नम्बरको जनताले त तपाईंको भूमिकालाई सकारात्मक रुपमा बुझेको होला, तर साविकको १ नम्बर तपाईंका बारे अनभिज्ञ पनि त हुनसक्छ नि होइन र ?
हेर्नुस् म २ नम्बरको प्रतिनिधिमात्र होइन, नेपाली कांग्रेस बर्दियाको सभापति पनि हुँ । म बर्दियाका सबै क्षेत्र घुमेको छु । जनतासँग भेटेको छु । उनीहरुको मनोभावना बुझेको छु । मलाई मेरो भूमिकाका बारेमा साविक १ नम्बरका जनता अनभिज्ञ छन् भन्ने लाग्दैन । उनीहरु त अझ सचेत छन्, परिवर्तनप्रेमी छन् र डायनामिक छन् । मलाई सबभन्दा मनपर्ने क्षेत्र हो यो, निकै उर्वरा क्षेत्र लाग्छ मलाई १ नम्बर ।
हामीलाई लाग्छ– जनताले केही बुझेको छैन, हाम्रो भाषण सुनेर ताली पिटेको छ । तर होइन, जनता सबै कुराको जानकारी राख्छ । र, सही समयमा सही किसिमले त्यसको जवाफ दिन्छ ।


तपाईं साविकको बर्दिया २ नम्बरको प्रतिनिधि र बहालवाला मन्त्री पनि हुनुहुन्छ । यो अवधिमा बर्दियामा त्यस्ता उल्लेखनीय काम के–के भए त ?
हामीकहाँ दुई सय चालीसवटा निर्वाचित क्षेत्र छन् । यी क्षेत्रमध्ये म एक नम्बरमै पर्छु त भन्दिनँ, तर यी दुई सय चालीसमध्ये म निर्वाचित भएको बर्दिया क्षेत्र नम्बर दुईमा हेर्नुभयो भने त्यसमा एउटा सकारात्मक परिवर्तन पाउनुहुनेछ । मलाई लाग्छ, पाँच सातवटा निर्वाचन क्षेत्रमध्ये मेरो निर्वाचन क्षेत्र पनि पर्छ । सदरमुकामलाई राजमार्गसँग जोड्न मगरागढी–गुलरिया–रजनवा सडकखण्डको एक परियोजनामार्फत एक अर्ब २५ करोडको बजेट ल्याएँ । यो काम सुरु भइसकेको छ । आन्तरिक स्रोतको व्यवस्थापन गरेर भुरीगाउँ–गुलरियादेखि राजापुर जाने बाटो रमेश लेखकजीलाई ल्याएर उद्घाटन गरें । अहिले हुलाकी सडक निर्माणको प्रक्रिया दु्रतगतिमा छ । बबई नदीको तटबन्धनका लागि पोहोर साल मात्र मैले ५४ करोडको प्याकेज लिएर गएको थिएँ । यसपालि एक अर्बभन्दा बढीको बजेट प्रस्ताव गरिसकें । धधवार, मगरागढीमा क्याम्पसहरु म निर्वाचित भएपछि निर्माण गरेको हुँ । बबई बहुमुखी क्याम्पसको स्तरोन्नति गर्न काम गरें । तपाईं यहाँको शिक्षा, स्वास्थ्य, सडक निर्माण, नदी नियन्त्रण, पूर्वाधार निर्माण जुन क्षेत्रमा हेनुस् उल्लेखनीय कामको सुरुवात भएको पाउनुहुने छ । यो मैले मात्र भनिरहेको होइन, मेरो क्षेत्रका आम जनसमुदायले महसुस गरिरहेको कुरा हो । जनमञ्च साप्ताहिकबाट

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै